आयोडिन महिना

नुन किन र कति खाने ? आयोडिनयुक्त नुनको महत्व बुझौं


नुन किन र कति खाने ? आयोडिनयुक्त नुनको महत्व बुझौं

नेपालगन्ज २९ माघ : ‘नुन खाऔं तर, सही मात्रामा आयोडिन भएको दुई बालबालिका चिन्ह भएको प्याकेटको नुन मात्र खाऔं’ भन्ने मुल नाराका साथ हरेक वर्षको फ्रेब्रुअरी महिनामा सरकारले देशभर ‘आयोडिन महिना’ मनाउने गर्दछ ।

ढिके नुनको प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असरहरू देखापर्ने गर्छ । तर, आयोडिनयुक्त नुनभन्दा ढिके नुुन सस्तो पर्ने भएकाले ग्रामीण मात्र होइन सहरबजारमै खुलेयाम मानिसले ढिके नुनकै प्रयोग गरिरहेका छन् ।

ढिके नुन नेपालमा प्रतिबन्ध लगाएकै अवस्थामा पनि नेपाल–भारत खुला सीमा भएकाले सजिलै सस्तो मूल्यमा भारतबाट ल्याएर प्रयोग गर्नेक्रम अझै रोकिएको छैन । अझ पनि नेपाली भान्सामा नुनको कुल मागमा ७५ प्रतिशत आयो नुन र २५ प्रतिशत ढिके नुन खपत हुने गर्छ । खुला सीमानाका कारण आयोडिन युक्त नुन भन्दा ढिके नुन सहज र सस्तो पर्ने भन्दै आम उपभोक्ताको ब्यवहारमा अझै परिर्वतन आउन सकेको छैन । यो मानव स्वास्थ्यका लागि घातक हो ।

स्मरण रहोस् आयोडिनको कमी भएर शारिरीक वा मानसिक रुपमा विकृति देखा परिसकेपछि त्यसलाई कुनै उपचारबाट हटाउन सम्भव छैन ।

Kanti Aarogya Hospital Nepalgunj

नुन हाम्रो शरिरका लागि अत्यावश्यक पोषक तत्व भएको खानेकुरा हो । शरिरमा पानीको मात्रा नियन्त्रित राख्न तथा रक्तचाप सन्तुलन गर्नका लागि सोडियमको जरुरत हुन्छ जसको प्रमुख स्रोत नुन हो ।

दिमागदेखी शरीरका अन्य अंगसम्म सुचना आदन प्रदान गर्न र सोडियम पोटासियम पम्प गर्नका लागि सोडियमको महत्वपुर्ण भुमिका हुन्छ । साथै मांसपेशीलाई सक्रिय बनाइ राख्नका लागि पनि सोडियम चाहिन्छ । शरीरमा नुनको मात्रा कमी हुनु र बढी हुनु दुवै घातक हुन्छ । नुनको मात्रा कमी हुँदा स्वास्थ्यमा विभिन्न समस्याहरु जस्तै चक्कर लाग्ने, मांसपेशि बटारिने, रक्तचाप घट्ने आदि समस्या देखिन्छ भने बढि हुँदा उच्च रक्तचाप जस्ता घातक रोगको खतरा हुन्छ ।

नुन कति खाने ?

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार प्रतिदिन ५ ग्राम नुन शरिरको निम्ति आवश्यक हुन्छ जुन एक चिया चम्चा बराबर हुन्छ । यसरी ३० पिपिएम आयोडिन रहेको नुन एक दिनमा वयस्क मानिसले ५ ग्राम सेवन गर्दा ०.१५ मिलिग्राम (सियोको टुप्पा जति) आयोडिन पाउँछ जुन वयस्क मानिसलाइ एकदिनमा चाहिने आयोडिनको पर्याप्त मात्रा हो । गर्भवति तथा सुत्केरी महिलाले दैनिक ५ ग्राम भन्दा थोरै बढि, १ देखि ३ बर्ष सम्मका बच्चाले २ ग्राम भन्दा कम, ४ देखि ६ बर्ष सम्मका बच्चाले ३ ग्राम भन्दा थोरै र ७ बर्ष भन्दा माथिका ४ ग्राम भन्दा थोरै नुन खानु पर्दछ ।

नेपालमा एक जनाले दिनमा औसत १० ग्रामसम्म नुन खाने गरेको नेपाल स्वास्थ्य अनुसनधान परिषदले गरेको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनको एक अध्ययन अनुसार विश्वमा तोकिएको खानुपर्ने मापदण्ड भन्दा दोब्बर (प्रतिदिन औसत ९ देखि १२ ग्राम) खाएको पाइएको छ ।

नुनको बढि उपभोग स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ । नुनको खपत घटाएर सहि तरिकाले खाने हो भने विश्वमा प्रति वर्ष २५ लाख मृत्यु रोक्न सकिने अनुमान गरिएको छ ।

आयोडिनयुक्त नुन किन ?

आयोडिन एक खनिज तत्व हो । शरिरमा आयोडिन भएमा मात्र थाइरोइड ग्रन्थिले थाइरोक्सिन हर्मोन उत्पादन गर्ने काम गर्दछ र थाइरोइड ग्रन्थिले ठिक तरिकाले हर्मोन उत्पादन गर्न नसकेमा शरिरले राम्रोसँग काम गर्न सक्दैन ।

थाइरोइड ग्रन्थिलाइ सही तरिकाले काम गर्न, खानाको मेटाबोलिजम गर्न र शारीरिक तथा मानसिक विकासका लागि आयोडिन अत्यन्त आवश्यक पर्ने शुक्ष्म पौष्टिक तत्व हो । दिनहुँ ठिक मात्रामा आयोडिनको सेवन गरेमा आयोडिनको कमिबाट हुने स्वास्थ्य समस्या आउदैन । गर्भवती, शिशु साथै बढ्दो उमेरका बालबालिकाको शारीरिक तथा मानसिक वृृद्धि विकासका लागि आयोडिनको उचित मात्रामा उपभोगले धेरै ठुलो महत्व राख्दछ ।

आयोडिनको कमि भयो भने गलगाड आउने, मानसिक विकलांक, सेरेब्रल इडेमा (मस्तिष्कको स्कुलभन्ने भागमा पानी जम्ने), हाइपोनेटिमिया आदि रोगहरु लाग्न सक्छन ।
आयोडिन नुनमा मिसाउँदा नुनको रङ, स्वाद, गन्ध, तौलमा पनि फरक नपर्ने । नुनमा कम खर्चमा सजिलै आयोडिन मिसाउन सकिने र नुन दैनिक रुपमा खाँदा आयोडिन शरीरले निरन्तर पाइरहने भएकोले संसारभर धेरै मुलुकमा नुनमा आयेडिन मिसाएर आयोडिनको आवश्यकता पुर्ती गर्ने गरिएको छ । नुनमा आयोडिन कति मात्रामा हाल्ने भन्ने मापदण्ड देश अनुसार फरक छ । अमेरिकाले ४०–७७ पिपिएम (१ लिटरमा १ मिलीग्राम) तोकेको छ भने बेलायतमा १०–२२ पिपिएम तोकिएको छ । कुनै देशहरुमा आयोडिनको साथै नुनमा आइरन पनि थपिएको पाइन्छ जसलाइ डबल फोर्टिफाइड नुन भनिन्छ ।

नेपालमा पनि आयोडिनको कमिबाट जनस्वास्थ्यमा पर्न जाने असरलाई कम गर्न आयोडिनयुक्त नुनको समुचित मात्रामा उत्पादन, आपुर्ति, बिक्री वितरण तथा नुनमा आयोडिन मिश्रण गर्ने व्यवस्था गर्न आयोडिनयुक्त नुन (उत्पादन तथा बिक्रि वितरण ) ऐन, २०५५ विद्यमान छ ।

नेपालमा विक्रि गरिने नुनमा आयोडिनको मात्रा उत्पादन स्थलमा ५० पिपिएम राखिएको हुन्छ भने उपभोग स्थलमा कम्तिमा १५ पिपिएम हुनु पर्ने भनिएको छ । खुल्ला भाडाँमा राख्दा तथा खाना धेरै बेर सम्म पकाउदाँ आयोडिन उडेर जाने भएकाले नुनलाई सधै हावा नछिर्ने भाँडामा राख्नु पर्छ ।