अवधी पत्रकार संघको भवन निर्माणमा अध्यक्ष शाह र सदस्य केसीद्वारा सहयोग घोषणा


अवधी पत्रकार संघको भवन निर्माणमा अध्यक्ष शाह र सदस्य केसीद्वारा सहयोग घोषणा

नेपालगन्ज १ फाल्गुन : अवधी पत्रकार संघ नेपालको भवन निर्माण कार्यले तिब्रता पाउने भएको छ । संघको शनिबार सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रमले भवन निर्माण कार्यलाई तिब्रता दिने निष्कर्ष निकालेको हो ।

भेलामा सहभागी अतिथिहरूले संघको भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएपछि संघले भवन निर्माण कार्यलाई तिब्रता दिने निष्कर्ष निकालेको हो । डुडुवा गाउँपालिका वडा नम्बर–५ कम्दीमा भएको भेलामा ३ जना दाताहरुले भवन निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद ईस्तियाक अहमद शाह, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवम पत्रकार जयसिंह केसी, नेपालगन्ज उद्योग वाणिाज्य संघका निवर्तमान अध्यक्ष तथा कसौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । यस बाहेक प्रेस मञ्चका अध्यक्ष आशिष गुप्ताले समेत भवन निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

संघको बिकासका लागि अध्यक्ष शाह तथा पत्रकार केसीले ५१/५१ हजार नगद र बैश्यले हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । भेलामा बोल्दै नरैनापुर गाउँपालिका अध्यक्ष शाहले गाउँपालिकाबाट समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यससँगैै संघले संस्थागत बिकास अवधी भाषी पत्रकार र समुदायको उत्थानका लागि सक्रियता देखाउनुपर्नेमा शाहले जोड दिए ।

Kanti Aarogya Hospital Nepalgunj

संघका केन्द्रीय अध्यक्ष राकेश मिश्रले प्रेस स्वतन्त्रता सेनानीद्वय पन्नालाल गुप्त र राम गोपाल बैश्यको स्मृतिमा पन्ना, रामगोपाल अवधी पत्रकारिता पुरस्कारका लागि अक्षय कोष स्थापना गरेको जानकारी गराउँदै कोषमा आफुले ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले सो अक्षय कोषका लागि सबैलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
भेलामा संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, बरिष्ठ अधिवक्ता बिजय गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव सकिल अहमद कादरी, प्रेस मञ्च नेपालका अध्यक्ष आशिष गुप्ता र रामगोपाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष अजय गुप्ताले संघले आगामी दिनमा अपनाउनुपर्ने रणनीति, खेल्नुपर्ने भुमिकाका बारेमा आफ्नो धारणा राखेका थिए ।
संघ बाँकेका अध्यक्ष चन्द्रेश्वराज त्रिपाठीको अध्यक्षता तथा नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद ईस्तियाक अहमद शाहको प्रमुख आतिथ्यमा भएको भेलालाई संघका केन्द्रीय महासचिव जिएम यादवले सञ्चालन गरेका थिए ।