असार १ देखि नयाँ शैक्षिक शत्र : एसईई परीक्षा जेठमा गर्ने तयारी


असार १ देखि नयाँ शैक्षिक शत्र : एसईई परीक्षा जेठमा गर्ने तयारी

File Photo

नेपालगन्ज २ फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक शत्र जेठमा सक्ने निर्णय गर्ने तयारी गरेको छ । कोरोना महामारीका कारण यस वर्षको शैक्षिक शत्र प्रभावित बनेपछि दुई महिना थप गरि आगामी वर्ष जेठमा शैक्षिक शत्र सक्ने तयारी गरिएको हो ।

शिक्षा नियमावलीमा वैशाखदेखि चैतसम्म शैक्षिक शत्र रहने उल्लेख छ । तर, आगामी वर्षदेखि नयाँ शैक्षिक शत्र असार १ गतेबाट लागु गरिन लागिएको छ । यसका लागि मन्त्रिपरिषदले मन्त्रालयलाई जिम्मेवारी समेत दिइसकेकोछ । जसका लागि मन्त्रालयले नियमावली संशोधन गर्न कानून मन्त्रालयमा पठाएको छ ।

यसअघि माघ २६ मा बसेको मन्त्रिपरिषद बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय परीक्षा बोर्डले पुरानै ढाँचाअनुसार गर्ने निर्णय गरेको थियो । गत वर्ष कोरोनाका कारण एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट भएको भएपनि यसवर्षको एसईईलगायत विद्यालय तहका परीक्षाहरू विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गरेरै गर्ने तयारी समेत गरिएकोछ ।

यस वर्ष १४ महिनालाई शैक्षिक शत्र मान्ने र अर्को वर्ष १० महिनामै शैक्षिक शत्र सक्ने गरी तयारी गरिएको छ । अब हुने विद्यालय तहका परीक्षाहरू आन्तरिक मूल्यांकनमा सीमित राखिने छैन । विश्वविद्यालय तहका परीक्षाहरू विद्यार्थी भौतिक रूपमै उपस्थित भएर गरिएकाले जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा गरिनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

गत वर्ष वार्षीक परीक्षा सकेर विद्यालयहरू बन्द भएका थिए । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण दशैंसम्म देशका अधिकांश विद्यालय खुलेका थिएनन् ।

केही विद्यालयले लकडाउनका बेला पनि अनलाइन कक्षा चलाएका थिए । त्यसरी पनि कोर्स नसकिने भएपछि पाठ्यक्रम नै घटाएर यसपालिको शैक्षिक शत्र सक्ने मन्त्रालयको तयारी छ ।

शिक्षा नियमावली २०५९ लाई संशोधन गर्ने प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेको छ । महामारीजस्ता विपदका बेला शिक्षा मन्त्रालयले शैक्षिक शत्र तय गर्न सक्ने अधिकार मन्त्रिपरिषदले दिएको छ ।