नेपालगन्ज १५ फागुन : नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले संगठनभित्रको असमझदारीलाई चिरेर अघि बढ्न आग्रह गरेका छन् । प्रेस युनियन केन्द्रिय समितिले नेपालगन्जमा गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले यस्तो बताएका हुन् ।
‘संगठनभित्रको रिक्तता र तिक्ततालाई बेलैमा समाधान गर्न सके संगठन सुदृढिकरण हुनेछ ।’ अध्यक्ष सिग्देलले भने–‘बैरभाव त्यागी संगठनलाई बलियो बनाउनु युनियनको सांगाठनिक एकता नै पहिलो आधार हो । यसमा जिल्लादेखि केन्द्रसम्मका कोही पनि चुक्नु हुदैन ।’
यतिबेला संगठनलाई चुस्त बनाउनु बाहेकको विकल्प हामीमाझ छैन । अध्यक्ष सिग्देलले भने–‘संगठनमा रस्साकस्सी भन्दा नयाँ, उर्जावान र क्षमतावान नेतृत्वलाई बढावा दिनसक्नु नै हाम्रो प्रमुख जिम्मेवारी हो ।’
नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई लक्षित गर्दै युनियन अध्यक्ष सिग्देलले भने –‘महासंघको निर्वाचनमा अन्य संघसगठनसंग समन्वय गर्ने वा कसरी अघि बढ्न सकिन्छ त्यो विषयमा युनियनले गृहकार्य गरिरहेकोछ । जिल्लागत चुनावी रणनीतिले युनियनलाई सफलता मिल्नेछ ।’
विधि, विधान र प्रक्रिया विपरीत पत्रकार महासंघले मनोमानी ढंगले सदस्यता वितरण तथा नविकरण गरेको देशभरबाट खबर आएकाले यसप्रति युनियन गम्भीर भएको समेत उनले बताए ।
प्रदेशस्तरीय भेलाको औपचारिक उद्घाटनमा बोल्दै युनियन केन्द्रिय अध्यक्ष सिग्देलले प्रशिक्षणपश्चात जिल्लामा गएर चुनावी तथा सांगठनिक रणनीति बनाएर अघि बढ्न निर्देशन दिए । उनले भने–‘संगठन विपरित जाने जोकोहीलाई कारबाहीको दायरामा ल्याइनेछ ।’
नेपाली काँग्रेस बाँकेका सभापती किरण कोइरालाले संगठनभित्रका समस्या समाधान नभए बाहिरी तत्वले खेल खेल्न सक्ने भन्दै यसकालागि आफू बलियो र सक्षम भएर अघि बढ्नुपर्ने सुझाइन ।
नेपालगन्जमा शनिबार लुम्बिनी र कर्णाली प्रदेशका जिल्ला शाखा अध्यक्ष तथा सचिवहरु भेला गरि प्रशिक्षण गरिएको थियो । सोक्रममा विभिन्न जिल्लाबाट आएका युनियन अध्यक्ष तथा सचिवहरुले जिल्लागत संगठन तथा पत्रकारका अवस्थाका बारेमा चर्चा गरेका थिए ।
उनीहरुले प्रेस युनियनका सदस्यहरुलाई प्रशिक्षणको आवश्यकता रहेको अवस्थामा केन्द्रिय समितिले गरेको सुरुवात एकदमै सकारात्मक भएको भन्दै यस्ता प्रशिक्षण कार्यक्रम अब जिल्ला–जिल्लामा आयोजना गरिने उनीहरुले बताएका थिए ।
उक्त प्रशिक्षणमा नेपाल प्रेस युनियनका सल्लाकार तथा वरिष्ठ पत्रकार डाक्टर सुरेश आचार्य र नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्यले संगठन सुदृढिकरण, रणनीतिक योजना, संस्थागत विकास लगायतका सांगठनिक विषयमा प्रशिक्षण दिएका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा युनियन वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्षद्वय ईश्वरी ओझा र वाला अधिकारी, महासचिव अजयबाबु सिवाकोटी, उपमहासचिव प्रेम केसी, कोषाध्यक्ष सरोज अधिकारी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्र, केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल, युनियन साविक मध्यपश्चिम संयोजक देवेन्द्र बर्मा, केन्द्रिय सदस्यहरु जयसिंह केसी, माधव धिताल, सरिता पंगेनी, माधव अर्याल, पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव शुक्रऋषी चौलागाई, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर लगायतले संगठन सुदृढिकरण, सुद्धिकरण तथा महासंघ चुनावी रणनीतिका बारेमा बोलेका थिए ।
सोक्रममा प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष अर्जुन ओलीले गम्छा ओढ्याएर मायाको चिनो समेत प्रदान गरेको थिए ।