तीनमहिना चट्याङ्ग/हावाहुरी/असिना पानीबाट जोगिन आग्रह
नेपालगन्ज १७ फागुन : यो वर्षको जाडोयाम आजबाट समाप्त भएर प्रि–मनसुन सिजन शुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मार्च १ बाट प्रि–मनसुन शुरु हुन्छ ।
यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन र चट्याङ्गको सम्भावना रहनुको साथै हावाहुरी र असिना पानीको सम्भावना उच्च रहन्छ ।
यस्तो मौसममा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना–पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।
मार्च १ बाट प्रि–मनसुन तीन महिना रहन्छ । जुन १ बाट मनसुन शुरु हुन्छ । जुन १ बाट मनसुन शुरु हुन्छ भनिए पनि त्यसमा केही समय अगाडि वा पछाडि हुनसक्ने मौसमविद् बताउँछन् ।
प्रि–मनसुनमा वाह्य मौसमी प्रणाली भित्रिँदैन । स्थानीय वायुको प्रभावले बादल लाग्ने र तत्काल मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना–पानी पर्ने मौसमविद बताउँछन् । यो ठूलो क्षेत्रमा नभएर स्थानीय वायुको प्रभावका कारण हुने भएकाले सानो–सानो क्षेत्रमा हुनेगर्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
यसैबीच, प्रि–मनसुनको शुरुवातीसंगै नेपालगन्जमा चर्को घाम लाग्नुका साथै हावाहुरी चलिरहेकोछ ।
हावाहुरीका कारण धुलो उडाउँदा धुलोबाट जोगिएर सर्वसाधरण हिँडडुल गरिरहेकाछन् । यद्यपी चर्को घामकै कारण पनि नेपालगन्जका सडकमा सर्वसाधरणको त्यती उपस्थिती रहेको छैन ।
एकछिन बाहिर निस्किएमा चरक्क पोल्ने घामसंगै बेलाबेलामा चल्ने हावाहुरीले ज्यालादारीमा काम गर्ने मजदूरलाई कठिनाई परेकोछ । विशेषगरि निर्माणसम्बन्धि काम गर्ने, सवारीसाधन चलाउनलाई समेत अप्ठ्यारो भएकोछ । हावाहुरीसंगै सडकका ससाना धुलाका कण आँखामा पर्दा अप्ठेरो परेको हो ।
यस्तो बेला आगलागीका घटना बढ्न सक्ने भन्दै आगोजन्य कार्यमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुझाव दिएकोछ ।