नरैनापुर साक्षर गाउँपालिका घोषणाको गृहकार्यमा जुट्यो


नरैनापुर साक्षर गाउँपालिका घोषणाको गृहकार्यमा जुट्यो

नरैनापुर(बाँके) १९ फागनुः नरैनापुर गाउँपालिकालाई आगामी बैशाख मसान्तसम्ममा साक्षर घोषणा गरिने भएको छ । गाउँ शिक्षा समितिको बैठकले साक्षर नेपाल घोषणा गर्ने नेपाल सरकारको अभियान अनुरुप नरैनापुर गाउँपालिकालाई बैशाखसम्ममा साक्षर पालिका घोषणा गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति बाँकेसंगको प्रतिबद्धता एवम् गाउँपालिकाको आर्थिक बर्ष २०७७÷७८ को स्वीकृत कार्यक्रम ‘साक्षरता तथा अभिभावक शिक्षा’ अन्तर्गत् यस कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले जानकारी दिए ।

साक्षरता अभियानको मूल नारा ‘साक्षर पालिका नरैनापुर, बनाउँछौ साक्षर छैन दूर’ तय गरिएको छ । अभियानलाई सफल बनाउन गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको संयोजकत्वमा पालिकास्तरीय मूल समिति बनाइएको छ ।

मूल समितिको सदस्यमा गाउँपालिकाका सम्पूर्ण सदस्य, गाउँ शिक्षा समितिका सदस्य, मुख्य राजनीतिक दलका प्रतिनिधि, माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, सम्पूर्ण विद्यालयका प्रधानाध्यापक र सञ्चारकर्मीहरु छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

साक्षरता अभियानमा पालिकामा कार्यरत कर्मचारी, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मी तथा पालिकामा कार्यरत संघसंस्थाका कर्मचारी तथा माध्यामिक तहका सम्पूण विद्यार्थीहरुलाई सक्रियरुपमा परिचालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताउनुभयो । साक्षर अभियन्ताका रुपमा महेन्द्र माध्यामिक विद्यालय मटेहियाका पूर्व प्रधानाध्यापक पेशकार सिंहलाई चयन गरिएको छ ।

पालिकास्तरीय समितिका अलावा वडा वडामा वडा अध्यक्षको संयोजकत्वमा वडा सचिव सदस्य सचिव रहने गरी तीन सदस्यीय अनुगमन समिति गठन गरी सक्रियरुपमा अनुमगन गरिने प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए । यो अभियानलाई प्रभावकारी बनाउन व्यानर, पर्चा, पम्पलेट तथा माइकिङ लगायतका क्रियाकलाप गर्ने निर्णय गरिएको छ । साक्षरता अभियानमा मुख्य साझेदार संस्थाका रुपमा नेपाल दलित उत्थान संघ बाँके रहनेछ ।

साक्षरता सम्बन्धि प्रचलित मापदण्डहरु पूरा हुने गरी कार्यक्रम सञ्चालन गरी पालिकाको प्रतिनिधिको रोहबरमा हस्ताक्षर संकलन व्यानरमा हस्ताक्षर गराई साक्षर भएको घोषणा गरिने शिक्षा शाखा प्रमुख थारुले बताए ।

गाउँपालिकाका अध्यक्ष एवम् साक्षर अभियान मूल समितिका संयोजक शाहले गाउँपालिकाले थालेका यो महाअभियानमा सक्रियतापूर्वक सहभागिता जनाई महाअभियानलाई सफल बनाउन सबैमा अपील गरे ।