नरैनापुर (बाँके) २३ फागुन : शिक्षामा महिलाको पहुँचका लागि सरोकार पक्षबीचको सम्वाद र सहकार्य अपरिहार्य रहेको सम्बद्ध व्यक्तिहरुले बताएका छन् ।
अन्तराष्ट्रिय महिला दिवसका सन्दर्भमा सम्वाद सहयोगी समूह नरैनापुरद्वारा आईतबार नरैनापुरमा आयोजित ‘शिक्षामा महिलाको पहुँच’ विषयक अन्तरक्रियात्मक सम्वादमा सहभागी सम्बद्ध सरोकार व्यक्तिहरुले सो कुरा बताएका हुन् ।
‘महिला नेतृत्व कोभिड– १९ को संसारमा समान भविश्य प्राप्ती’ भन्ने मुल नाराका साथ भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधी, शिक्षा सम्बद्ध अधिकारी, प्राध्यापक, अभिभावक, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।
४० हजार जनसंख्या रहेको नरैनापुको शैक्षिक स्तर बृद्धि गर्न अनेकन चुनौती रहेका बेला महिलाको शिक्षामा पहुँच नबढाईकन समग्र स्थिती सुधार नहुने पाइएपछि सरोकारबीच सम्बाद बढाइएको हो ।
शिक्षामा महिलाको पहुँच अभिबृद्धिका लागि एकल पहलले मात्र सम्भव नहुने भन्दै सम्बद्ध विज्ञहरुले स्थानीय सरकारकै अगुवाईमा सरोकारवाला पक्षबीच प्रभावकारी सम्वाद र सहकार्यको आवश्यक्ता औल्याएका हुन् ।
नरैनापुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले गाउँपालिकाको समग्र शैक्षिक अवस्था, गरिएका पहल र आगामी योजनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले छात्राको विद्यालयमा पहुँच अभिवृद्धिका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएपनि कोभिड– १९ काकारण प्रभावित भएको बताए ।
नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्ती श्रीवास्तवले महिला केन्द्रीत शैक्षिक कार्यक्रम ल्याउन पहल गरिने विश्वास दिलाइन् । नरैनापुर गाउँपालिका वडा नम्बर– ३ का अध्यक्ष राजकुमार मौर्यले अभिभावकको सोँच परिवर्तन गर्ने कार्यक्रमदेखि छात्रालाई प्रोत्साहन र सेवा सुविधाका कार्यक्रम प्रदान गर्नु पर्ने सुझाव दिए ।
नरैनापुर महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा कुमारी चन्दले महिला तथा बालबालिकाको शिक्षाका लागि वडातहमै प्रयाप्त बजेट छुट्याएर कार्यान्वयन गरिनुपर्नेमा जोड दिइन ।
कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्षद्वय विरेन्द्रपाल सिंह र मसुद अहमद शाह, आदर्शमाविका प्राध्यापक त्रीलोकीनाथ मौर्य, महेन्द्र माविका प्राध्यापक सन्तोष तिवारी, सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल बाटा, वडासचिवद्वय लक्ष्मीकान्त मिश्रा र जीवनलाल यादवले शिक्षाको विकासका लागि आपसी समन्वय र सहकार्यलाई बढाइनुपर्ने सुझाव दिएका थिए ।
सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै शैक्षिक सम्वादको आवश्यक्तामा जोड दिएका थिए ।
सम्वाद सहयोगी समूह नरैनापुरका सहजकर्ता मकबुल मुकेरीद्वारा सहजिकरण गरिएको कार्यक्रममा शिक्षासँग सम्बन्धि कानून नीती कार्यान्वयनमा जोड दिने, शिक्षामा महिला पहुच अभिबृद्धिका लागि सचेतना र प्रोत्सानका कार्यक्रम सञ्चालन गर्ने, विद्यालय, अभिभावक, जनप्रतिनीधीबीचको सम्बाद र सहकार्य बढाउने, गाउँपालिकालाई साक्षार घोषणाका लागि सशक्त भूमिका निर्वाह गर्ने लगायतका प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।