अब यातायात कार्यालय आफ्नै भवनमा

उपमहानगरले १० कठ्ठा जग्गा उपलब्ध गराउने


अब यातायात कार्यालय आफ्नै भवनमा

नेपालगन्ज २५ फागुनः लामोसमयदेखि भाडाको घरमा कार्यालय राखेर सेवा दिदै आएको यातायात व्यवस्था कार्यालय आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएकोछ । नेपालगन्ज उप–महानगरपालिकाले यातायात व्यवस्था कार्यालयलाई कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराउने भएपछि यस्तो सम्भव भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाको अध्यक्षतामा मंगलबार सम्पन्न सर्बदलीय तथा सर्वपक्षीय बैठकले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० गायत्रीनगरमा रहेको करिब १० कठ्ठा ऐलानी जग्गा यातायात व्यवस्था कार्यालयलाई र वडा नम्बर १९ सोल्टी होटल नजिकै रहेको २० कठ्ठा जग्गा कलेज स्थापनाका लागि नाथमलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

योसंगै गायत्रीनगरको ऐलानी जग्गामा बसिरहेको परिवारलाई उचित व्यवस्थापन गरिने भएको छ । यस्तै वडा नम्बर १९ स्थित कलेजलाई प्रदान गरिने जग्गामा हिन्दु र मुस्लिम समुदायले धार्मिक प्रयोजनका लागि २÷२ कठ्ठा जग्गा उपलब्ध गराइने छ ।

यसैबीच बैठकले भूमिहीन सुकुम्बासी र भूमिहीन दलित तथा अव्यवस्थित बसोवासका लागि क्षेत्र निर्धारण गर्ने विषयमा सहजिकरणका लागि ५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरि नगर प्रमुख राणाको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधि सम्मिलित समिति गठन गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

बैठकमा यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख पूर्णबहादुर खत्री र नाथमका विपिन नेपालले जग्गा प्राप्त हुनासाथ भवन निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता जनाएका थिए ।