डुडुवा (बाँके) २८ फागुन : बाँके डुडुवा गाउँपालिकाको आठौँ गाउँसभाले ऐन नीति, बजेट संशोधन र प्रगति प्रतिबेदनलाई पारित गरेको छ ।
सभाले डुडुवा गाउँपालिकाको कृषि व्यवसाय प्रबद्र्धन सम्बन्धमा गर्न बनेको बिधेयक–२०७७ र डुडुवा गाउँपालिकाको कृषि नीति–२०७७ सर्वसम्मत रुपमा पारित गरेको छ ।
विधेयक समितिका संयोजक लिलावति यादवले प्रस्तुत गरेको ऐन र नीतिलाई पारित गरिएको हो ।
सभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको बजेटको संशोधन प्रस्ताव र चालु आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि फागुन २० गतेसम्मको विभिन्न विषयगत शाखाको प्रगति प्रतिबेदन प्रस्तुत गरे ।
प्रस्तुत बजेट संशोधन र प्रगतिलाई सर्बसम्मत रुपमा पारित गरिएको थियो । गाउँपालिकाका विभिन्न शाखा अन्र्तगत शिक्षा, स्वास्थ्य, कृषि, पशु, वन तथा वातावरण र विकास निमार्णका योजना लगायतका बारेमा प्रगति प्रतिबेदनमा उल्लेख गरिएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सभाका सदस्य सचिव प्रशुराम उपाध्यायले सञ्चालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष, कार्यपालिका सदस्य र सभासदहरुको सहभागिता रहेको थियो ।
गाउँपालिकाले बहुवर्षिय ठुला आयोजना अन्र्तगत राप्ती नदी पुलस्थित शिवको प्रतिमा निमार्ण, कोल्ड स्टोर निमार्ण, हलकारापुर्वा र राजारामपुर्वा बिचमा डुडुवा नालामा झुलुङ्गे पुल निमार्ण, अमृतपुर्वादेखि रामनगर पाझाँसम्म पिसीसि सडक निमार्ण र गाउँपालिकाको प्रशासकीय भवन निमार्ण रहेका छन ।
ती आयोजनाहरुलाई मुख्य प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिका अध्यक्ष चौधरीले बताए । उनका अनुसार जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम, कन्या मुद्दती खाता, स्वास्थ्य र पशु अन्र्तगत मुख्य कार्यक्रम सञ्चालनको योजना रहेको छ ।