नेपालगन्ज ५ चैत : सार्वजनिक यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा नबढाए यातायात ठप्प पार्ने चेतावनी दिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गर्दै यस्तो चेतावनी दिएका हुन् ।
महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् ।
पटक पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि भइरहदा पनि भाडा नबढेको भन्दै उनीहरुले भाडा बढाउन पत्र समेत बुझाएका छन् ।
२०६५ चैत २० गते सरकारले तय गरेको वैज्ञानिक भाडा प्रक्रियाअनुसार गाडी भाडामा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र बीमा, कर, बैंक ब्याज, पाटपूर्जा, टायर, लुब्रिकेन्टलगायतका अन्य सामग्रीमा भएको मूल्यवृद्धिलको ६५ प्रतिशत योगदान रहने आधार तयार गरेको थियो ।
तर, सो आधार अनुसार बिमा, कर, बैंक, पाटपूर्जाजस्ता सामग्रीको मूल्यवृद्धिको आधारमा २०६९ सालदेखि हालसम्म भाडा समायोजन नै नभएको महासंघको दावी छ ।