नेपालगन्ज ६ चैत : नेपाल पत्रकार महासंघ बाँकेको आसन्न निर्वाचनमा सबै संगठनको सहभागितामा सर्वसम्मत नेतृत्व छनोट गर्न नेपाल प्रेस युनियन बाँकेले अपील गरेको छ।
युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले शुक्रबार एक अपीलमार्फत युनियनकै अगुवाईमा महासंघको नेतृत्व छनोट गर्न आग्रह गरेका हुन् ।
‘नेपाली पत्रकारहरुको बृहत्तर हितका लागि यसपटक नेपाल प्रेस युनियनको नेतृत्वमा पत्रकारका सबै आस्थागत संघ, संगठनलाई सम्मानजनक रूपमा सहभागिता गराएर एकताबद्धका साथ महासंघ बाँकेको नेतृत्व छनोट गर्न नेपाल प्रेस युनियन बाँके, शाखा हार्दिक अपील गर्दछ,’ उक्त अपीलमा भनिएको छ ।
नेपाली पत्रकारहरुको गौरवमय छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, जिल्ला र प्रतिस्ठान शाखाहरुको निर्वाचन २०७७ चैत २५ गते एकैसाथ हुन लागेको खबरले पत्रकारहरुलाई उत्साहित बनाएको उल्लेख गर्दै युनियन अध्यक्ष ओलीले महासंघमा अब आउने नेतृत्वबारे पत्रकारिता जगतमा चासो र चिन्ता बढिरहेको बताए ।
युनियनको अपीलमा अगाडी भनिएको छ, ‘पत्रकारको पेशागत हकहित, सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हरेक लडाइँमा अग्रपंक्तिमा उभिएर काम गर्न सक्ने जुझारु नेतृत्वको खाचो पत्रकार महासंघमा आवश्यक छ, हाम्रा अग्रजहरुले हुर्काउदै, बढाउदै यो अवस्थासम्म ल्याई पुर्याएको महासंघको गरिमालाई हामीले अझ उचो राख्नुछ ।’