बैजनाथ गाँउपालिकाको सार्वजनिक सुनुवाईमा सात बुदें प्रतिबद्धता


बैजनाथ गाँउपालिकाको सार्वजनिक सुनुवाईमा सात बुदें प्रतिबद्धता

बैजनाथ ६ चैत : बैजनाथ गाँउपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम विभिन्न ७ बुदें प्रतिबद्धताको घोषणा गर्दै सम्पन्न भएको छ ।

बैजनाथ गाँउपालिकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा गाँउपालिका परिसरमा आज भएको सुनुवाईमा उठेका प्रश्न तथा जिज्ञासा र समाधानको आधारमा उक्त प्रतिबद्धता गरिएको हो ।

यसरी गरिएका प्रतिबद्धताहरुमा आगामी आर्थिक वर्षदेखि गाँउपालिकाको सार्वजनिक सुनुवाई वर्षको तीन पटक र वडाको वर्षमा एक पटक गर्ने, बैजनाथको नौवस्तामा निर्माणाधिन औद्योगिक क्षेत्रको काम द्रुत गतिमा अघि बढाउन र त्यस क्षेत्रका नागरिकहरुको समस्या समाधानका लागि आवश्यक पहल गर्ने, लक्षित बर्गको उत्थानका लागि गाँउपालिकाद्धारा सञ्चालन हुने सामाजिक समाबेशिकरण कार्यक्रम आगामी आर्थिक बर्ष देखि लक्षित बर्गको सहभागिता र वडाको समन्वयमा सञ्चालन गर्ने, वडा नम्बर ६ को भगवापुल को निर्माणका लागि आवश्यक पहल तथा समन्वय गर्ने, लैंगिक हिंसामा परेका महिलाहरुलाई आवश्यक पर्ने सहयोगमा गाँउपालिकाबाट गर्ने, गाँउपालिका भित्र रहेका घाईते, अपांगता भएका परिवारका वालवालिकाहरुलाई १२ कक्षा सम्म पठन पाठन गाँउपालिकाबाट गराउने र गाँउपालिका भित्रका स्थानिय कला, संस्कृतीको प्रबद्र्धन तथा संरक्षणका लागि आवश्यक बजेट विनियोजन गर्जे प्रतिबद्धता गरिएको छ ।

बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको सुनुवाईमा गरिएका प्रतिबद्धताहरुलाई कार्यक्रममा उपस्थित सरोकारवाला तथा सहभागिले तालि बजाएर अनुमोदन गरे पछि सुनुवाईमा सरोकारवालाको रुपमा आशिन गाँउपालिका अध्यक्ष मान बहादुर रुचाल, उपाध्यक्ष शारदा रेग्मी बिक, प्रमुख प्रशसकीय अधिकृत दानबहादुर ऐडी, वडा अध्यक्षहरु, गाँउकार्यपालिका सदस्य, शाखा प्रमुखहरुले हस्ताक्षर गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा उद्देश्यमाथि प्रकाश पारेको सुनुवाईमा बासले गाँउपालिकाको सेवा प्रवाहका बिषयमा गरेको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्रको नतिजा घोषणा बासका संयोजक रबिन्द्र बोहराले गरेका थिए ।

सुनुवाईमा सरोकारवाला र सहभागि बिचमा झण्डै अढाई घण्टा दोहोरो पश्नोत्तर चलेको थियो । सुनुवाईमा गाँउपालिकाका २५० बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।