सोमबार, चैत ३०, २०७७   ०५:२१:३०

कैलालीमा चैते धान रोप्न चटारो


सेतोखरी   2077-12-08

File Photo

कैलाली ८ चैत : कैलालीको भजनी नगरपालिका– ३ का खडक साउद यतिबेला खेतमा व्यस्त रहेका छन् । चैते धान रोप्ने चटारोले खडकको परिवार सबै खेतमै छन् । उनले भजनीका अधिकांश किसान अहिले धान रोप्ने चटारोमा रहेको बताए ।

‘गत साउनमा आएको बाढीले किसानले लगाएको अधिकांश धानबाली नष्ट गर्यो । धेरै किसानले वर्षे धान भित्र्याउन पाएनन्’, खडकले भने, ‘यस वर्ष सबै किसान चैते धानको पछाडि लागेका छन् । उत्पादन राम्रो, डुबान र बगानको समस्या पनि नहुने समयमै धान भित्र्याउन पाउने भएकै कारण किसानको आकर्षण बढ्दै गएको हो ।’

भजनी – ७ चर्राका मनिराम चौधरी चैते धान रोप्नमा व्यस्त छन् । उनले हरेक वर्ष करीब एक बिघा जग्गामा चैते धान रोप्दै आएका छन् । उनको पाँच जनाको परिवारलाई त्यही खेतमा फलेको चैते धान वर्षभरिको लागि खान पुग्छ । ‘यस क्षेत्रमा वर्षे खेती हुँदैन । हिउँदमा दुई खेती गर्ने गरेका छौँ’, मनिरामले भने, ‘दलहन र तेलहन बाली भित्र्याएपछि धानखेती हुन्छ भने हाम्रा लागि वर्षात्को समयमा फुर्सद हुन्छ ।’

मलवारा क्षेत्रका कतिपय किसान चैते धान रोप्नमा व्यस्त छन् । जिल्लाको भजनी नगरपालिकाका साथै जोशीपुर र जानकी गाउँपालिकाका किसान चैते धानखेत गर्दै आएका छन् । भजनी क्षेत्रमा वर्षे धानको उत्पादन त्यति राम्रो हुँदैन । त्यसैमा पनि बाढीका कारण लगाएको खेती पनि किसानले भित्र्याउन पाउँदैनन् । चैते धानकै कारण किसानले भात खान पाएको उनीहरुको भनाइ छ ।

चैते धानखेती किसानका लागि थप आम्दानीको स्रोत बनेको छ । उनीहरु अघिपछि सोही खेतबारीमा तोरी, गहुँ, मुसुरोलगायतका बाली फलाउँछन् । कतिपय किसानले दोहोरो धान खेतीसमेत गर्ने गरेका छन् । बाढी प्रभावित बाहेकका क्षेत्रका किसानले दोहोरो धानखेती गर्ने गरेको पाइन्छ ।

जानकी गाउँपालिका– ७ मुनुवाका हरिप्रसाद कठरीया वर्षेनी दुईपटक धान रोप्छन् । उनका अनुसार एक पटकको धानखेतीले परिवार पाल्न पुग्छ भने अर्को पटकको धान खेतीको उत्पादन बेच्ने गर्छन् । उनले पनि वर्षेनी एक बिघा क्षेत्रफलमा धानखेती गर्ने गरेको बताएका छन् ।

‘चैते धानखेती थप आम्दानीको स्रोत बनेको छ । केही वर्ष सिँचाइको समस्याले धान रोपाइ हुन सकेको थिएन’, उनले भने, ‘रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कुलामा पानी छोड्न थालेपछि पुनःचैते धानको रोपाइँ शुरु भएको हो । यसले मेरो आर्थिक अवस्थामा सुधार भइरहेको छ ।’

खासगरी बाढी प्रभावित क्षेत्रका किसान चैते धान रोप्ने गरेका छन् । उनीहरु वर्षायाममा धानखेत रोप्न पाउँदैनन् । उनीहरुको खेतबारी बाढीले चुर्लुम्म डुब्ने गरेका कारण धानखेती रोप्न समस्या हुने गरेको छ । ‘हरेक वर्ष बाढीले खेतबारी समुन्द्र बन्छ, कसरी धान रोप्नु ? रोपेको धान पनि खेतमै सखाप हुन्छ ।’ भजनी नगरपालिका– ३ कुसुम घाटका विजय साउदले भने, ‘चैते धान नै परिवार पाल्ने स्रोत बनेको छ । चैते धान रोपेन भने भोकै बस्नुपर्छ । किसानले चैते धान रोप्न उपयुक्त समयको ख्याल गर्नुपर्छ ।’ थोरै मात्रै समय अघिपछि भए धान उत्पादन राम्रो नहुने किसान बताउँछन् । ‘चैते धान रोप्न सहज छैन । हरेक कुराको ख्याल गर्नुपर्छ ।’ किसान साउँदले भने, ‘समयमै रोपेर समयमै भित्र्याउन नसके धान बिग्रन थाल्छ भने उत्पादनमा समेत ह्रास आउँछ ।’

चैते धान खेतीका लागि किसानले सिँचाइ र रासायनिक मलकोसमेत समस्या भोग्दै आएका छन । उनीहरुले बोरिङ मोटरका माध्यमबाट सिँचाइ गर्दै आएका छन् भने रासायनिक मल भने भारतीय सीमावर्ती बजारबाट किनेर ल्याउनुपर्ने बाध्यता छ । उनीहरुले समयमा रासायनिक मल पाउन नसके चैते धान खेती प्रभावित हुने गरेको छ ।
चैते धानको खेतीमा खर्च भने बढी हुने गरेको किसान बताउँछन् । ‘सिँचाइको सहज सुविधा हुँदैन । बोरिङ मोटरबाट सिँचाइ गर्दा खर्च बढ्ने गरेको छ ।’ भजनी नगरपालिका–८ का किसान समीर चौधरीले भने, ‘खेती नगरे पनि खान चाहिन्छ, गरौं भने पनि खर्च बढी छ ।’ उनले समयमै भित्र्याउन नसके वर्षात्का समयमा धान खेतमै रहने बताउँदै छिटै वर्षायाम शुरु भए पनि धान भित्र्याउन समस्या हुने गरेको बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले गत वर्षको तुलनामा यस वर्ष चैते धान रोपाइँको क्षेत्रफल बढ्ने जानकारी दिए । ‘गत वर्ष करीब एक हजार ५०० हेक्टर क्षेत्रफलमा चैते धानको खेती भएको थियो । यस वर्ष दुई हजार हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुँदैछ’, उनले भने, ‘हामीले पनि भजनी क्षेत्रमा निःशुल्क ६० देखि ७० मेट्रिकटन धानको बीउ वितरण गरेका छौँ । बाढीपीडित क्षेत्रमा चैते धानको खेती वर्षेनी थपिँदै गएको छ ।’

उनले वर्षे धानभन्दा चैते धानको उत्पादन राम्रो हुने भएका कारण किसान बढी आकर्षित हुने गरेको बताइँदै धानका लागि अहिलेको मौसम उत्तम भएको बताएका छन् । ‘आकाश खुला हुँदा प्रकाशको किरण पाउँछ । रोग र किराको सङ्क्रमण हुन पाउँदैन’, उनले भने, ‘मौसमकै कारण धान उत्पादनमा राम्रो हुने गरेको हो । उत्पादन बढी हुने भएकाले पनि चैते धानमा आकर्षण बढेको हो ।’ -रासस