बाँकेका होल्डिङ सेन्टर र क्वारेन्टिन निस्क्रिय


बाँकेका होल्डिङ सेन्टर र क्वारेन्टिन निस्क्रिय

कोरोना कहरका बेला गतवर्ष होल्डिङ्ग सेन्टर र क्वारेन्टिनको अभावमा आँपको बगैचामा विश्राम गर्दै भारतबाट नेपाल भित्रिएका नेपाली । तस्विर :सेतोखरी

नेपालगन्ज ८ चैत : नेपालमा कोरोना संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, भेला र जुलुस नगर्न आग्रह गरेकोछ । तर, कोभिड–१९ को महामारीका बेला बाँकेमा सञ्चालन गरिएका होल्डिङ सेन्टर र क्वारेन्टिन सक्रिय बनाउन कुनै प्रक्रिया अगाडि बढेको छैन ।

जिल्लाका सार्वजनिक स्थान, विद्यालय, तथा सरकारी भवनमा स्थापना गरिएका क्वारेन्टिन बन्द गरिएका छन् भने होल्डिङ सेन्टर पनि हटाइएकोछ ।

पछिल्लो समय बाँकेमा कोरोना भाइरस संक्रमणको दर घट्दै गएपछि जिल्लाका ८ पालिकास्तरमा बनाइएका क्वारेन्टिन र नेपाल–भारत सीमामा रहेको होल्डिङ सेन्टर हटाइएको हो । यसरी बनाइएका अधिकांश क्वारेन्टिन पालिकातहमा वडागतरुपमा विद्यालयको भवन तोकिएको थियो । क्वारेन्टिन हटेसंगै ती विद्यालयहरु यतिबेला पूणरुपमा सञ्चालनमा रहेकाछन् ।

संक्रमितको संख्या कम हुँदै गएपछि क्वारेन्टिन र होल्डिङ सेन्टरमा खटाइएका जनशक्ति समेत फिर्ता बोलाइएको थियो । जसले गर्दा विगत ३ महिनादेखि जिल्लामा क्वारेन्टिन र होल्डिङ्ग सेन्टर निस्क्रिय बनेका हुन् । तर, भारतमा कोरोना संक्रमण दर बढेसंगै यसअघि बाँकेमा बनाइएका क्वारेन्टिन र होल्डिङ सेन्टर सक्रिय बनाउन कुनै चासो दिइएको छैन ।

Kids Festival 2022
kanti aarogya hospital

मन्त्रालयले भारतबाट नेपाल आउनेलाई कम्तिमा पनि १० दिन क्वारेन्टिनमा बस्न आग्रह गर्दै मातहतका निकायमा उच्च सर्तकता अपनाउदै तयारी अवस्थामा रहन निर्देशन गरिसकेकोछ ।

यता केहि समयअघि नेपाल–भारत सीमानाका खुला गर्नुपर्ने आवाज उठिरहता पनि सर्वसाधरणको सहजताका लागि सवारीसाधन वारि राखेर पारि जाने ब्यवस्था मिलाइएको थियो । पछिल्लो समय भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सर्वसाधरणको आउजाउमा समेत कडाई गरेको छ ।
भारतमा बढेदै गएको संक्रमणको दर र भारतमा रहेका नेपाली घर फर्किने संख्या बढ्दै गएकाले नेपालमा कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै अहिले भारतबाट आउने–जानेलाई कडाइ गरिनुपर्ने आवाज उठ्न थालेकोछ ।

यद्यपी स्वास्थ्य मन्त्रालयले तत्काल नाकामा कडाइ गर्ने तथा क्वारेन्टिन सेन्टरलाई सक्रिय गर्ने विषयमा कुनै छलफल गरेको छैन । कोभिड–१९ को विभिन्न प्रजाती देखिएसँगै नेपालमा पनि ती प्रजातिको जोखिम बढेको विज्ञहरुले बताउँदै आएका छन् ।

नेपालमा पछिल्लो समय बढेको संक्रमण दरले फेरी पहिलेकै अवस्था नआउला भन्न नसकिने एवं यसमा सरकार र नागरिक दुवै सचेत हुनु जरुरी छ । पहिले भएका आइसोलेसन र क्वारेन्टिन सेन्टरलाई ब्याकअपको रुपमा प्रयोग गर्नुपर्छ । संक्रमण फैलिन हवाई माध्यमभन्दा भारतसँगको खुला सीमा बढी जोखिमपूर्ण भएकाले सरकारले त्यसतर्फ ध्यान दिने समय आइसकेको छ ।

पहिले साना–साना असावधानीले निम्त्याएको ठूलो क्षतिबाट सरकारले अब भने सिक्नुपर्ने देखिन्छ । कोभिड–१९ को संक्रमण कम हुँदैजाँदा जनस्तरमा देखिएको स्वास्थ्यप्रतिको लापरवाही संक्रमण फैलिने अर्को जोखिम हो ।

सभा, जुलुसका नाममा हुने भेला र चार्डपर्वका बेला हुने जमघटले जोखिमलाई अझै बढाएको छ । एक वर्षको अवधिमा नेपाल र नेपालीले भोगेको सास्ती बुझेर जनस्तरबाट पनि त्यत्तिकै सजग हुनु जरुरी छ ।