नेपालगन्ज १७ चैत : दुईपांग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था गरिएकोछ । यो व्यवस्था आगामी जेठ १ गतेदेखि लागु हुनेभएकोछ ।
‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ व्यवस्थाको लागि सहमति दिएपछि यस्तो हुने भएको हो । कार्यविधि निर्देशिका आगामी जेठ १ गतेबाट देशभर लागू हुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले जेठ १ गतेबाट लागू गर्ने भएको हो ।
मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेसँगै अब प्रयोगात्मक परीक्षा (ट्रायल)मा कम्तीमा ७० अंक ल्याए पास हुने भएको छ ।
अहिले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था छ ।
नयाँ निर्देशिकाले मोटरसाइकल, स्कुटर, मोपेडका सवारीसाधनको प्रयोगात्मकसहित लिखित परीक्षामा पनि केही फेरबदल गरेको छ ।
लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानूनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारीसाधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी ५–५ अंकका जम्मा २० वटा प्रश्न सोधिनेछ ।
लिखित परीक्षा प्रयोजनका लागि यातायात व्यवस्था विभागले ५ सय वटा वस्तुगत बहुउत्तर प्रश्नको संग्रह प्रकाशन गर्नेछ । सोही संग्रहबाट मात्र सम्बन्धित कार्यालयले लिखित परीक्षाको प्रश्नपत्र तयार गर्नेछ ।
लिखित परीक्षाको समयावधि ३० मिनेटको हुनेछ । लिखित परीक्षामा न्यूनतम ८० अंक प्राप्त गर्ने परीक्षार्थी उत्तीर्ण हुनेछ । सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट समेत लिखित परीक्षा सञ्चालन गर्न सक्नेछन् । लिखित परीक्षामा पास भएको व्यक्तिले मात्रै प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल दिन पाउनेछ ।
मोटरसाइकल तथा स्कुटर चालकले प्रयोगात्मक परीक्षाको लागि ७ चरणको परीक्षा पास गर्नुपर्नेछ । जसमा घुमाउरो आठ परीक्षण, साँघुरो फलेक, घुम्ती परीक्षण, ट्राफिक लाइट परीक्षण, स्पिड ब्रेकर परीक्षण, उकालो परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण गर्नुपर्नेछ ।
प्रयोगात्मक परीक्षणको हरेक चरणको अंकभार फरक–फरक निर्धारण गरिएको छ । घुमाउरो आठको अंकभार २० अंक छ । जसमा घुमाउरो आठको एकपटकसम्म रेखा छोएमा र एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा १० अंक घट्नेछ तर, परीक्षार्थी फेल नहुने निर्देशिकामा उल्लेख छ ।
घुमाउरो आठमा एक पटकभन्दा बढी अंकित रेखा छोएमा, टायर रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारीको स्टार्ट बन्द भएमा फेल भएको घोषणा गरिनेछ ।
साँघुरो फलेकको अंकभार १० रहेको छ । यसमा १० अंक नै अनिवार्य ल्याउनुपर्नेछ । यहाँ खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै सवारी फलेकबाट बाहिर निस्केमा स्वतः फेल हुनेछ ।
त्यस्तै यु–टर्नको अंकभार १० रहेको छ । टर्निङमा इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ । यु–टर्नमा अंकित रेखा छोएमा पनि फेल हुनेछ ।
ट्राफिक संकेत (लाइट)को अंकभार १५ रहेको छ । ट्राफिक लाइटको पालना नगरे १५ नम्बर नै काटिनेछ ।
बम्प्स अर्थात् स्पिड ब्रेकरको अंकभार १५ रहेको छ । स्पिड ब्रेकरमा एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एकपटक सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ । स्पिड ब्रेकरमा एक पटकभन्दा बढी भुइँमा टेकेमा वा सवारी स्टार्ट बन्द भएमा फेल हुनेछ ।
त्यस्तै, ¥याम्प अर्थात् उकालोको अंकभार २० रहेको छ । उकालोमा कुनै गल्ती भए फेल हुनेछ । उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा फेल हुनेछ ।
रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र सवारीको स्टार्ट बन्द भएमा फेल हुनेछ ।
परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरुको सामान्य निरीक्षण नगरेमा ३ अंक घट्नेछ । हेलमेटका लक नलगाई सवारी चलाएमा ४ अंक र अस्वाभाविक गतिमा वा असंयमित रुपमा सवारी चलाएमा ३ अंक घट्नेछ ।