सोमबार, वैशाख २७, २०७८   ०९:४९:४५

स्वरोजगार बन्दै नेपालगन्जका युवा


सेतोखरी   2077-12-27

नेपालगन्ज २७ चैत : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ का सुनिल सिंह ठकुरीले मोटरसाईकल मर्मतको काम गर्दछन् । उनलाई आफुले गरिरहेको व्यवसाय ठूलो बनाउने सपना छ । दैनिक बिहान–बेलुका पसलमा आउने मोटरसाईकलको मर्मत उनी गरिरहन्छन् । उनी आफ्नो कामप्रति सन्तुष्ट छन् । दिनहुँ राम्रै आम्दानी समेत गरिरहेका सुनीललाई आफ्नो ब्यवसायमा लगानी गरि बढाउने कुराले चिन्ताले पिरोलिरहन्छ ।

दिनहुँजसो एक हजार रुपैयाँ आम्दानी गरिरहेका सुनीललाई कोरोना महामारीका बेला भएको लकडाउनले सास्ती दियो । त्यसो त लकडाउनले उनी एकमात्रै होइन देशभरका थुप्रै उद्योग, ब्यवसाय, जनजीवन प्रभावित बन्यो । त्यतिबेला सुनीललाई आर्थिक व्यवस्थापनमा एकदमै गाह्रो भएको थियो ।

लकडाउनकै बेला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ सुर्खेतरोड स्थित एक मोटरसाईकल पसलमा मेकानिकको काम गर्ने सुनीलले दिनभरी काम गरेपनि साहुले सिमित पैसा दिदाँ घरखर्च चलाउन धौधौ भएता पनि आफ्नो कामलाई निरन्तरता दिइनै रहे ।

लकडाउन र आर्थिक अवस्थाबाट जकडिएका सुनीललाई आफ्नै लगानीमा केही गर्ने आँट आयो । मोटरसाईकल मर्मत सम्बन्धि सीपलाई व्यवसायिकरुपमा अघि बढाउन आफ्नै घरमा मोटरसाईकल मर्मत पसल खोलेर काम गर्न थाले । अहिले उनी आफ्नै ब्यवसायको मालिक भएकाछन् । दिनहुँ राम्रै आम्दानी गरिरहेका सुनीललाई आफूले गरेको व्यवसाय सफल हुन्छ भन्ने लागेको थिएन ।

अभाव र प्रभावबाट मानिसले धेरै कुरा सिक्छन् । कसैका लागि अनुसरणीय हुन्छ भने कोहीका लागि नमिठो सपना । यो एउटा प्रतिनिधिमुलक पात्र मात्रै हो । लकडाउनले धेरैलाई आफ्नै व्यवसाय, सीप सिकेर केही गर्नुपर्छ भन्ने प्रेरणा समेत प्रदान गरेको छ । त्यसमा थुप्रैजना राम्रै जमेका छन् ।

त्यसमाध्ये नेपालगन्ज वडा नम्बर–१३ कै आरती केवट र पुजा केवटले सिलाईकटाई व्यवसाय तथा कस्मेटिक पसल सञ्चालन गर्दै आएका छन् । नेपालगन्ज– १८ कारकाँदोमा सञ्जय कुमार नाउँले कपाल काट्ने पसल सञ्चालन गरेका छन् । यस्तै नेपालगन्ज– १० मा कृष्ण शाहीले इलेक्ट्रोनिक्सको काम गर्दै आएकाछन् भने नेपालगन्ज– ६ रामबाबु बैश्यले फलफुल पसल सञ्चालन गर्दै आएकाछन् । नेपालगन्ज– १२, कोरियनपुरमा दन्ने पठानले साईकल पसल सञ्चालन गरि त्यसैमा रमाईरहेका छने ।

‘जहाँ ईच्छा त्यहाँ उपाय’ भनेझैं चाह्यो भने अरुका लागि उदाहरणीय कार्य गर्न सकिन्छ भन्ने कुरा माथि उल्लेख गरेका पात्र यसका उत्कृष्ट उदाहरण हुन् ।

केही गर्ने आँट रहेका तर, आर्थिक अवस्था कमजोर भएकै कारण अघि बढ्न नसक्नेलाई थोरै सहयोग गरे उनीहरुको जीवनस्तर मात्र होइन सामाजिक रुपान्तरणमा समेत उदाहरणीय बन्न सक्छन् । लकडाउनकै बेला अफ्नै ब्यवसाय सञ्चालन गर्दै आएका यी युवाहरुलाई सहयोगी भूमिका खेलेर यो स्तरमा ल्याउने कार्य सामाजिक बिकास मञ्च (एसडिएफ)ले गरेको हो ।

आयआर्जन तथा रोजगारीका लागि सामाजिक विकास मञ्चले नेपालगन्ज उपमहानगरपालिका भित्र केही गर्ने आँट र हौसला भएका युवालाई लक्षित गर्दै सहयोग गरेपछि यतिबेला उनीहरुको दैनिकी फेरिएको हो ।

आफ्नै ब्यवसायको मालिक बनेका उनीहरुले दिनहुँ केही रकम समेत बचत गर्ने गर्दछन् । सुरुवातीमा अरुकोमा काम गर्न जाने अहिले आफनै ब्यवसायबाट सेवा मात्र नभइ दिनहुँ आम्दानी गर्न थालेकाछन् ।

मञ्चले सन् २०१६ देखि नेपालगञ्जमा सेफ द चिल्ड्रेनको सहयोगमा युवा शसक्तिकरण बुलगारी परियोजनामार्फत युवाहरुलाई स्वरोजगार बनाउने, सीप सिकाउने, बिभिन्न उद्यमहरु सञ्चालनमा सहयोग तथा शिक्षा आर्जनका लागि छात्रबृति सहयोग दिने जस्ता कार्यहरु गर्दै आएको छ । सो परियोजनाले यी युवालाई सहयोग गरेपछि धेरे युवालाई स्वरोजगार बनाएको छ ।

मञ्चले सहयोग गरेको युवाहरुले सञ्चालन गरेको ब्यवसायलाई थप सक्षम, परिस्कृत र सुदृढिकरण गर्न समय–समयमा सरोकारवाला सहतिको टोलीले अनुगमन समेत गर्दै आएकोछ ।

अनुगमनका क्रममा प्राप्त गरेका ब्यवसायिक चुनौती, समस्या समाधानका लागि समेत सम्बन्धित निकायसंग समन्वय गर्ने गरेको मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिए ।