नेपालगन्ज ३१ चैत : नेपाल पत्रकार महासंघ बाँके शाखाको नवनिर्वाचित कार्यसमितिले मंगलवार कार्यभार सम्हालेको छ ।
नवनिर्वाचित अध्यक्ष दामोदर भण्डारीलाई एक कार्यक्रमको आयोजना गरी निर्वतमान अध्यक्ष ठाकुरसिंह थारुले पदभार गराए ।
पदभार ग्रहण गरेपछि बोल्दै महासंघ बाँकेका नवनिर्वाचित अध्यक्ष भण्डारीले व्यवहारिकरुपमै महासंघलाई साझा चरित्रको बनाउने उद्घोष गरे । ‘भनाईमा होईन गराईमा महासंघलाई साझा बनाउन लागिपर्छु ।’ भण्डारीले भने–‘त्यसका लागि निर्वतमान कार्यसमिति, अग्रज एवं सहकर्मीलाई साथमा लिएर अघि बढ्छु ।’ पत्रकारहरुको पेशागत सुरक्षा, व्यवसायिक हितका लागि सदैव लाग्ने अध्यक्ष भण्डारीको भनाई थियो ।
सोही कार्यक्रममा महासंघ बाँकेका निर्वतमान अध्यक्ष थारुले भण्डारी नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिए । कार्यकाल सफल बनाउनका लागि आफुले पनि भूमिका खेल्ने उनको भनाई थियो ।
मंगलवार अध्यक्षसंगै सचिव कमल डाँगी, कोषाध्यक्ष विनोद पौडेलको समेत पदभार गराइएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बैशाख २ गते हुनेछ ।