अलविदा मोहम्मदी दिदी ! फर्केर हेर्दा वहाँको अन्तरकथा


अलविदा मोहम्मदी दिदी ! फर्केर हेर्दा वहाँको अन्तरकथा

कोरोनाले शनिबार मृत्युवरण भएकी मोहम्मदी सिद्दिकी । तस्विर : रवि कनोजिया /सेतोखरी

नेपालगन्ज १२ वैशाखः जीवनमा कतिबेला आपत आइपर्छ कोहीलाई थाहा हुँदैन । हरकोहीले हरसम्भव आफ्नो दैनिकलाई सहज र जीवनशैलीलाई समुन्नत बनाउने प्रयास गर्दछन् । अधिकांशले जीवनमा सुख सयलको कामना नै गरेका हुन्छन् । तर, केही व्यक्ति मात्रै हुन्छन् जो व्यक्तिगत लाभलाई नहेरी सामाज र दोस्रो व्यक्तिका लागि आफ्नो बलिदान दिने गर्दछन् ।

अहिले हाम्रो समाजमा जसरीपनि अरुलाई पछार्दै आफ्नो वर्चश्व कायम राख्ने र शक्तिमा पुग्ने होडमा होमिन्छन् । तर, केही व्यक्ति विरलै हुन्छन् जसले व्यक्तिगत लाभलाई त्यागेर दोस्रो व्यक्तिका लागि आफ्नो जीवन समर्पित गर्दछन् । विरलैमध्येकी एक हुन् महोम्मदी सिद्दिकी । उनको विषयमा एउटा आलेखमा सिमित राख्नु अन्याय नै हुनेछ । उनले आफ्नो व्यक्तिगत जीवनमा गरेका संघर्ष मात्रै होइन् समाजका लागि गरेका योदानलाई एउटा आलेखमा समेट्न सम्भव पनि छैन । तरपनि उनका केही काम र संघर्षले समाजमा दबेर रहेका आवाजहरु, सिंगुडिएका चाहनाहरु प्रष्फुटित हुँदै आफ्नो अधिकारका लागि संघर्ष गर्र्ने प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ सारांशमा उतार्ने कोशिस गरेका छौं ।

तिव्ररुपमा फैलिएको कोरोना संक्रमणका कारण संविधान सभा सदस्य समेत रहेकी मोहम्मदी सिद्दिकीको शनिबार राती निधन भएको छ । भेरी अस्पताल नेपालगन्जमा करिव दुई सातासम्म उपचार गरेपनि स्वास्थ्यमा सुधार नआएपछि शनिबार बेलुकी उनको निधन भएको हो । श्वासप्रश्वास सम्बन्धी समस्याले उनी सिकिस्त थिइन् । उपचारकै क्रममा सिद्दिकीको शनिबार बेलुका करिव ७ बजेतिर निधन भएको अस्पतालले जनाएकोछ । सेतोखरीले केही समय पहिले लिएको मोहम्मदीको अन्तरकथा जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएकोछ ।

मोहम्मदी सिद्दिकी नेपालगन्जमा मात्रै होइन, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म महिलाहरुका लागि एक उज्यालो दियोको रुपमा परिचित थिइन् । उनको विसं २०१५ सालमा भारतको गोरखपुरमा नुर मोहम्बद सिद्दिकी र आमा हविबुन मिश्राको पहिलो सन्तानको रुपमा जन्म भएको थियो । स्थानीय घर दाङको कोइलावासमा भएपनि बुवाको जागिर गोरखपुरमा भएका कारण मोहम्मदीको जन्म पनि त्यही भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

‘हाम्रो समाजमा छोरालाई नै महत्व दिइन्थ्यो, पहिलो म जन्मिदा हजुरआमा दुःखी हुनु पनि भएको थियो रे’ उनले आफ्नो जन्मपछि परिवारमा व्यक्त भएको प्रतिक्रिया सुनाउँदै भनिन्, ‘बुवाले धर्ममा छोरीको सेवा गरे स्वर्गमा जान पाइन्छ भनेर लेखेको छ भन्दै हजुरआमालाई कन्भिन्स गर्नुभयो । जेठी छोरी भएकाले पनि माइतमा छोरा सरहकै वातावरणमा हुर्किने मौका पाँए ।’

एसएलसी सम्मको पढाई भारतमै गरेपनि आफ्ना गोतियारहरु दाङमै भएको हुनाले मोहम्मदी सिद्दिकी विदाको समयमा घरमा आउने गर्दथिन् । बुवा शिक्षित भएकाले बाल्यकालमा राम्रै अवसर पाएकी मोहम्मदीका परिवारले १७ वर्षको उमेरमा विसं २०३२ सालमा नेपालगन्जका मोहम्मद सुलेमानसिंह सिद्दिकीसँग विवाह भयो । वैवाहिक जीवनपछि स्लामिक परम्परा अनुसार बुर्काभित्र प्रवेश उनको जीवन करिब १८ वर्षजति पारिवारिक गृहीणीको रुपमा व्यतित् भयो । उनका पति सुलेमानसिंह एक प्रजातान्त्रिक योद्धा थिए । नेपाली काँग्रेसका प्रखर योद्धा सुलेमान पञ्चायत विरुद्धको आन्दोलनमा बाँकेबाट अग्रणी भूमिकामा थिए । पती नेतृत्वकर्ता भएकै कारण पनि सिद्दिकीले परिवारमा बन्धनपूर्ण वातावरणमा भने रहनुपरेन । यद्यपी उनले सासुसुसुरा र समाजको डरका कारण स्वतन्त्र हुने चाहना हुँदाहुँदै पनि बुर्काभित्रै गुम्सिएर बस्नुप¥यो ।

श्रीमानसँगै हुँदा उनले दुई पटक सार्वजनिक कार्यक्रममा नै बुर्का खोलेर सहभागिता जनाउने मौका पाइन् । प्रजातान्त्रिक आन्दोलनकै समयमा गणेशमान सिंहकी पत्नी मंगलादेवी सिंह र महिला नेतृ शान्ता थपलिया नेपालगन्जमा आउँदा उनले आम मानिसजस्तै खुलस्त रुपमा सार्वजनिक कार्यक्रममा सहभागिता जनाएकी थिइन् । आफ्नो समुदायमा कडा पारिवारिक प्रशासन र नैतिक बन्धनका कारण खुला रुपमा हिंड्डुल गर्न नपाएको उनी बताउँछिन् । भूमिगत रुपमा पञ्चायत विरुद्ध लडेका उनका श्रीमानको प्रजातन्त्र पुर्नवहालीको ६ महिनापछि नै निधन भयो । ‘उहाँ प्रायःभूमिगत रुपमा नै हिंड्नुहुन्थ्यो । समयमा खाना, पानी नहुँदा रोगले च्याप्दै गयो, जसका कारण आफैले लडेर प्राप्त गरेको उपलब्धीलाई धेरै महशुस गर्न नै पाउनुभएन’ उनले भनिन् ।

बुर्का खोलेर हिँड्दा

मुस्लिम समुदायमा अहिले पनि विवाहित महिलाहरुका लागि बुर्का खोलेर स्वतन्त्र रुपमा निस्कन सक्ने अवस्था छैन । मोहम्मदीले पनि कहिले आफुले त्यसरी संघर्ष गर्नुपर्ला भन्ने सोचेकी थिइनन् । तर, पतिको निधनपछि चारवटा बालबच्चा र परिवारको जिम्मेवारी सम्हाल्नुपर्दा उनलाई कमाउने विकल्प खोज्नु बाध्य भयो । पतिको निधन भएको ६ महिनापछि उनले आम्दानीको स्रोत खोजिन् । ‘म पढाईसंगै कपडा सिलाउनेमा पनि पोख्त थिए, नारी विकासमा गएर टेलरिङ्गको प्रमाणपत्रको लागि आवेदन दिंए’ उनले भनिने, ‘एक हप्तापछि प्रमाणपत्र ल्याएर आम्दानी गर्न टेलरिङ्ग सुरु गरेँ ।’

मोहम्मदीले सबै जिम्मेवारी वहन गर्नुपरेपछि सासुको आग्रहमा पहिलो पटक १८ वर्षअघि भिरेको बुर्का खोल्ने अवसर पाइन् । बुर्काबाट बाहिर आएपछि गणेशमानकी पत्नीसँगको भेटमा हुँदाका कुराहरु मनन् भए र महिला अधिकारका लागि केही गर्ने योजना बुनिन् ।

वडाअध्यक्षदेखि सांसद्सम्म

मोहम्मदी एक महिला अधिकारवादी मात्रै होइनन् । उनी एक कुशल महिला राजनीतिककर्मी पनि हुन् । पतिको निधनपछि २०४७ सालमा नै नेपाली काँग्रेसको सक्रिय सदस्यता पाइसकेकी थिइन् । त्यसको लगतै २०४९ मा भएको स्थानीय तहको निर्वाचनमा पार्टीले वडाध्यक्षको लागि टिकट दियो र उनले जितिन् पनि । वडाध्यक्ष हुँदा नै उनले आफ्नो कौशलता देखाउँदै महिला अधिकारको क्षेत्रमा पनि काम गर्न सुरु गरिन् । सीमा क्षेत्रमा रहेको लर्ड बुद्ध कलेजबाट स्नातकसम्म अध्ययन गरेकी छन् ।

पार्टीमै रहेर महिला नेतृत्व सम्हाल्ने मौका समेत पाइन् । अन्नतत्ः विसं २०६४ मा बाँकेबाट नेपाली काँग्रेस समानुपातिक सांसद बन्न पुगिन् । उनी दर्जनौं मानवअधिकारवादी संस्थाहरुमा समेत प्रभावशाली रुपमा आवद्ध छिन् । नारी कल्याण सचिव हुँदै एक दशक बढी कार्य गरेपछि आफुले धेरै नेतृत्वसम्बन्धी कुराहरु र महिला अधिकारका विषयमा जानकारी पाउने अवसर प्राप्त गरेको उनको भनाई छ । २०७४ मा पनि उनको निर्वाचनमा सहभागी हुने चाहना भएपनि पार्टीमा अरुलाई सहभागि हुने अवसर दिनुपर्ने भएकोले आफु पछि हटेको बताइन् । पहिलो संविधान सभा निर्वाचनमा देशभरीमा मुस्लिम महिलामा सांसद् हुने एकमात्र महिला मोहम्मदी सिद्दिकी नै हुन् ।

फातिमाबाट महिला उत्थान

‘निकै लामो समय राजनीति र महिला अधिकारका क्षेत्रमा काम गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्मका अधिकारवादी संस्थाहरुमा आवद्ध भए, तर आफ्नो मात्रै व्यक्तित्व विकास भइरहेको मलाई महशुस भयो ।’ उनले भनिन्, ‘मेरो समाजमा महिलाहरुको अवस्था देख्दा केही गर्ने सोँचाई आयो र महिला अधिकारका लागि नेपालमै पहिलो पटक मुस्लिम महिलाहरुको उत्थानका लागि फातिमा फाउण्डेशन स्थापना भयो ।’ उनले १३ वर्षअघि स्थापना भएको फातिमाबाट प्रत्यक्ष रुपमा दुईहजार पाँचसय भन्दा बढी महिलाहरु लाभाम्वित भइसकेको जानकारी दिइन् ।

‘सुरुमा त हाम्रो समुदायले मेरो उद्देश्यलाई सपोर्ट नै गरेन, झगडा गर्न आए । निकै असुरक्षा पनि भयो तर सामाजिक मूल्य मान्यताको समेत संरक्षण गरी महिलालाई हिंसाको चंगुलबाट बाहिर निकाल्ने प्रयास गरें’ उनले आफ्नो अनुभव सुनाइन् । धार्मिक व्यक्तित्वहरुले विरोध गरेपनि अनतर्राष्ट्रिय संस्था र प्रशासन, नागरिक समाजको सहयोगका कारण उद्देश्यमा पुगन सकें । ‘कुनैपनि उद्देश्य सफल पार्न सामाजिक संरचना भत्काउनु हुँदैन, मैले कुरान अध्ययन गरें र त्यहाँ उल्लेखित महिला पुरुषका अधिकार र जिम्मेवारी सरल तरिकाले परिभाषित गर्दै पुस्तक समेत प्रकाशन गरें’ उनले भनिन्, ‘केही मौलानाहरुसँग बसेर बनाएको पुस्तक मस्जितका अन्य धर्म गुरुहरुले जलाए, पछि सबैलाई कन्भिन्स गरियो, अहिले पनि संघर्षकै चरणमा छौं ।’ अहिले फातिमा फाउण्डेशनमा गैर मुस्लिम महिलाहरु पनि आर्थिक शसक्तिकरणका लागि सहायता लिन आउने गरेकाछन् ।

उमेरले ६ दशक पुगेकी मोहम्मदीमा अहिले पनि उत्तिकै जोश र जाँगर छ । मानिसले समाज र समुदायका लागि सोचेर अभियानमा सरिक हुन सकेमात्रै मानिसको जीवन सार्थक हुने उनको अनुभव छ । धैर्यता, लगनशिल, पारदर्शी र अरुप्रति सेवाभाव राख्ने र व्यवहारमा लागु गर्न सक्ने मान्छे मात्रै सामाजिक प्राणि कहलाउन योग्य हुने मोहम्मदीको भनाइ छ ।

कोरोनासंग लड्दै गर्दा मृत्युवरण हुन पुगेकी मोहम्मदी सिद्दिकीप्रति सेतोखरीपरिवार गहिरो समेवदना प्रकट गर्दछ ।