सकिदैँ कोरोना बीमा अवधि, संक्रमितले समेत पैसा नपाउने


सकिदैँ कोरोना बीमा अवधि, संक्रमितले समेत पैसा नपाउने

नेपालगन्ज १५ वैशाख : कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत वर्ष वैशाखदेखि लागू गरिएको कोरोना बीमाको अवधि आगामी असारदेखि सकिदैछ ।
१९ निर्जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा ‘पुल’ मार्फत कोरोना बीमा योजना सञ्चालनमा ल्याएका थिए ।

यसअघि कोरोना बीमा गरेकाले असारसम्म आवेदन दिएमा मात्रै दावी भुक्तानी पाउने छन् । बीमा गरे पनि त्यसपछि आवेदन दिनेहरूले भुक्तानी दावी गर्न पाउने छैनन् ।
असार मसान्तपछि संक्रमित हुनेले कोरोना बीमा दावी गर्न पाउनेछैनन् । त्यस्तै आगामी असारपछि कुनै पनि किसिमका कोरोना बीमा योजना सञ्चालन पनि नहुने भएका छन् ।

कोरोना बीमा सम्बन्धी मापदण्डमा नै असारसम्म मात्रै लागू हुने गरी स्पष्ट व्यवस्था गरिएको छ । तर, आवेदन दिएर प्रमाणित भइसकेकालाई भने क्रमिक रूपमा रकम भुक्तानी गर्दै लगिनेछ । हाल कोरोना बीमाको भुक्तानी दायित्व सरकारमा सरेको छ ।

एक अर्ब निर्जीवन बीमा कम्पनीहरूले, एक अर्ब नेपाल पुनर्बीमा कम्पनीले, ५० करोड रूपैयाँ बीमकको महाविपत्ति पुलले, एक अर्ब बीमा समितिले खर्च बेहोरेका छन् ।
साढे तीन अर्ब रूपैयाँ यसरी जुटे पनि बाँकी रकम नेपाल सरकारले बेहोर्ने गरी मापदण्ड तयार भएको थियो । तर, सरकारले समयमै भुक्तानी नदिँदा सर्वसाधारणले दावी भुक्तानी पाउन ढिला भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

कोरोना बीमाको रकम पाउन ढिला भएको गुनासो बढेका बेला सरकारले एकमुष्ट रकम निकासा नगर्दा प्रक्रिया पूरा (भेरिफाइड) ले समेत रकम पाउन सकेका छैनन् । गत चैत ३० गतेसम्मको तथ्यांकअनुसार कागजात प्रमाणित भइसकेका ३१ हजारले अझै रकम पाउन सकेका छैनन् । उनीहरूलाई भुक्तानी गर्न करिब तीन अर्ब रूपैयाँ आवश्यक पर्छ ।

हालसम्म ६० हजार ५ सय ८७ जनाले मात्रै कोरोना बीमाको रकम पाएका छन् । उनीहरूलाई कुल पाँच अर्ब ८५ करोड १५ लाख रूपैयाँ भुक्तानी भइसकेको समितिको तथ्यांक छ ।

बीमा कम्पनीमा दावीका लागि आवेदन र कागजात परिसकेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट संक्रमण भए÷नभएको पुष्टि गरेपछि मात्रै दावी भुक्तानी गरिन्छ ।

हाल महाशाखामा १८ हजार बढी आवेदक पुष्टि हुने प्रक्रियामा छ । त्यस्तै परेका आवेदनमध्ये ६६६ जनालाई भुक्तानी नहुने भएको छ । दोहोरो बीमा गरेकाले एउटा आवेदनको मात्रै रकम पाउँछन् । त्यस्तै नागरिकतामा एउटा नाम हुने, परीक्षणका बेला नाम अर्कै लेखाउनेले पनि बीमा रकम पाउँदैनन् । तसर्थ केही आवेदन रद्द भएका बीमक संघले जनाएको छ ।

हालसम्मको तथ्यांकअनुसार बीमाको लाभ लिइसकेका र कागजात प्रमाणित भइसकेका गरी कुल ९१ हजार लाभान्वित हुनेछन् । तर, अहिले पनि आवेदन आउने गरेकाले असार मसान्तसम्म केही आवेदन थपिन सक्नेछन् ।