नेपालमा प्रयोग गरिएको चिनियाँ खोपलाई डब्ल्यूएचओको अनुमति


नेपालमा प्रयोग गरिएको चिनियाँ खोपलाई डब्ल्यूएचओको अनुमति

नेपालगन्ज २६ वैशाख : विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्ल्यूएचओले स्वीकृति दिएको यो पहिलो युरोप बाहिर बनेको कोभिड खोप हो ।

चिनियाँ सरकारले आठ लाख मात्रा सहयोग उपलब्ध गराएको सिनोफार्मको भेरो सेल खोप नेपालमा पनि दिइएको छ । नेपाल र चीन सहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ ।

यसअघि डब्ल्यूएचओले फाइजर, आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडेर्नाले बनाएको खोपलाई अनुमति दिइसकेको छ । अफ्रिका, दक्षिण अमेरिका र एशियाका विभिन्न देशका स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिइसकेका छन् ।

चिनियाँ कम्पनीले थोरै मात्र तथ्याङ्क सार्वजनिक गरेको कारण यो खोपको प्रभावकारिताका विषयमा प्रश्नहरू उठेका थिए । तर, शुक्रवार डब्ल्यूएचओले सो खोपको सुरक्षा, प्रभावकारिता र गुणवत्तालाई पुष्टि गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

डब्ल्यूएचओले नयाँ खोपले आफ्ना स्वास्थ्यकर्मी र जनसङ्ख्यालाई जोखिमबाट बचाउने प्रयास गरिरहेका देशहरूका लागि कोभिड खोपसम्मको पहुँच बढाउने बताएको छ । त्यो खोप १८ वर्षभन्दा माथिका व्यक्तिहरूलाई दुई मात्रा दिन सिफारिस गरिएको छ ।

डब्ल्यूएचओले अर्को चिनियाँ खोप सिनोभ्याक र रुसको स्पुत्निक भीको बारेमा पनि अध्ययन गरिरहेको छ र ती खोपका विषयमा चाँडै नै निर्णय आउने बताइएको छ ।

डब्ल्यूएचओले स्वीकृतिको अर्थ

डब्ल्यूएचओले अनुमति दिएपछि राष्ट्रिय स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिन सहज हुन्छ ।

यसको अर्थ यो खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वभर वितरण पनि हुन सक्छ । कोभ्याक्स धनी र गरिब राष्ट्रहरूको खोपमा पहुँच न्यायिक होस् भन्ने उद्देश्यले स्थापना गरिएको हो ।

कोभ्याक्स कार्यक्रममा खोपको आपूर्ति कम भएर समस्या परिरहेको अवस्थामा चिनियाँ खोपले सो कार्यक्रमलाई निरन्तरता र बिस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
डब्ल्यूएचओले स्वीकृति दिनअघि नै यो खोप लगभग छ करोड ५० लाख मानिसलाई दिइएको छ । यूएई, पाकिस्तान र हङ्गेरीमा पनि यो खोप दिइएको छ ।

डब्ल्यूएचओको प्राविधिक परामर्श समूहले तथ्याङ्क अध्ययन गरेर स्वीकृतिका लागि सिफारिस गर्दा यसको प्रभावकारिता ७९ प्रतिशत रहेको बताएको थियो ।

तर, डब्ल्यूएचओले ६० वर्षमाथिका व्यक्तिका कमै तथ्याङ्क उपलब्ध भएका कारण त्यो उमेर समूहमा यसको प्रभावकारिता यकिन नभएको बताएको छ । उसले यसले त्यो उमेर समूहमा काम नगर्ने भन्ने कुनै कारण भने नरहेको समेत बताएको छ ।

चिनियाँ खोपहरू पनि आस्ट्राजेनेका जस्तै साधारण चिसो तापक्रममा भण्डारण गर्न सकिन्छ जसलाई यसको फाइदा मानिएको छ । -विविसी नेपालीबाट