लकडाउनमा बालमनोविज्ञान : के गर्ने ? के नगर्ने ?


लकडाउनमा बालमनोविज्ञान : के गर्ने ? के नगर्ने ?

–भोजराज शर्मा

लकडाउन आफैंमा नकारात्मक शब्द हो । जतिसुकै राम्ररी व्याख्या गरे पनि वा जतिसुकै राम्रो हो भनी बुझाउन खोजे पनि यसको मानवमनमा नकारात्मक प्रतिबिम्ब नै छ । अझैं बालको मनमा यसले खास प्रभाव पर्छ । बालकको मन यसै पनि स्वतन्त्रता चाहन्छ । स्वस्थ बच्चाको निम्ति लकडाउन एकप्रकारको जेल नै हो । यसले बालबालिकाको धारणा निर्माण र भविष्यलाई अत्यन्त प्रभावित पार्नसक्छ ।

लकडाउनले हामी वयस्कको जीवनलाई आर्थिक रूपले प्रभाव पारेको छ । परिवारको स्वास्थ्यको सम्भावित भय, अक्सिजनको हाहाकार, प्रतिदिन भइरहेका मृत्युको समाचार, भविष्यको आर्थिक संकटको चिन्ता आदिले हामीलाई गाँजेर लकडाउनलाई हामीले चाहेर पनि सकारात्मक लिन सकिरहेका छैनौं । तर बच्चालाई यी कुनै चिजको चिन्ता छैन । उसको लागि लकडाउन दशैंको लामो विदाभन्दा फरक हुँदैन । यस्तो संकटको बेला बालबालिकाको मानसिक र भावनात्मक स्वास्थ्यको ख्याल राखेनौं भने उसको भविष्य प्रभावित हुनसक्छ । आउनुहोस् यसबारे चर्चा गरौं ।

बालबालिकाको प्राकृतिक स्वभाव बुझ्नुहोस् :

Kids Festival 2022
kanti aarogya hospital
add

बालबालिका आफ्ना अभिभावकमा पूर्णतः आश्रित हुने हुनाले हामीलाई पूर्ण विश्वास गर्छन् । निर्दोष र निर्मल स्वभाव हुने भएकाले अर्को शब्दमा भन्दा उनीहरू हामीलाई भगवान् नै सोच्छन् । सानातिना बिमारीमा पनि बच्चा खेल्न नै खोजिरहेको हुन्छ । अज्ञानता या प्राकृतिक कारणले भनौं उसलाई मृत्युको काल्पनिक भय हुँदैन । जन्मजात एन्जाइटी, डिप्रेसनजस्तो कुनै मानसिक समस्या भएको वा बाल्यकालमा पारिवारिक दुर्घटनाका कारण मानसिक ट्रमा झेलेर समस्याग्रस्त भएको बच्चाबाहेक बच्चा निर्भय हुन्छ ।

रोग वा मृत्युको अलिकति बिचार केलाउन जान्ने बच्चा पनि ‘मलाई केही भयो भने मेरो बुवाआमाले जसरी भए पनि मलाई बचाउनुहुनेछ’ भन्ने निश्चिन्त स्वभावमा जिउँछ । यसकारण उनीहरू जस्तोसुकै परिस्थितिमा पनि खुसी र चिन्तारहित रहन सक्छन् । यो उनीहरूको प्राकृतिक स्वभाव हो । विकासको यस तीव्र चरणमा बोध र विवेकको अभाव भए तापनि यो उमेरमा उनीहरू नदीझैं बहन चाहन्छन् । यस विकासको प्रक्रियामा हाम्रो व्यवहारले उनीहरूको भविष्य प्रभावित पार्नसक्छ ।

बालबालिकालाई सजग बनाउनुहोस् भयग्रस्त होइन :

बालबालिकामा बाहिरी संसारलाई हेरेर धारणा बनाउने काम छिटोछिटो भइरहेको हुन्छ । बैज्ञानिकहरूका अनुसार ७ वर्षको उमेरसम्म आइपुग्दै बाँकी जीवनलाई चाहिने भाषा, धारणा, समायोजनकलामा बालबालिका ९० प्रतिशतभन्दा बढी निपुण भइसकेको हुन्छ । यो समयमा नै उसका भय, रिस, इष्र्या, घृणाजस्ता संवेग र धारणाहरू बलिया हुने हुन् । सबैभन्दा बढी जीवनमा डरको धारणा बन्ने पनि यही उमेरमा हो । प्राकृतिक रूपमा रहेको डरभन्दा सम्भावित भविष्यको डर देखाइदिनाले बच्चा आजीवन डरपोक हुनसक्छ ।

यही डर पछि उसलाई समाजमा समायोजनसम्बन्धी समस्या, सोसल फोविया, एन्जाइटी डिसअर्डर, पोस्ट ट्रम्याटिक स्ट्रेस र अन्य मानसिक र भावनात्मक समस्याको रूपमा देखिएर जीवन नै जटिल बन्न सक्छ । तसर्थ लकडाउन तपाईंहामीलाई जतिसुकै जटिल लागोस् तर बच्चालाई भाइरसबारे सम्झाउने हो तर्साउने होइन ।

कतिपय बाबाआमा ठूला उमेरकाले मोबाइलमा सास फेर्न नसकेर मरेको भिडियो देखाएर बच्चालाई सचेत बनाउन खोजेको पनि देखिन्छ । कतिपयले बच्चा मान्दैन भनेर ‘शौचालयमा थुनिदिन्छु’ वा ‘एक्लै कोठामा थुनिदिन्छु’ भनेको सुनिन्छ । यसले बच्चामा असाध्यै नकारात्मक प्रभाव पार्छ । बच्चालाई डरत्रासका समाचार सुनाउने, आफूआफूबीच डरका कुरा गर्ने, अनुहार र व्यवहार त्यस्तो देखाउने गर्दा पनि बच्चामा गहिरोमा डर बस्न सक्छ । यो आज सहज देखिए पनि भविष्यको लागि राम्रो होइन ।

लकडाउनलाई दशैंतिहारजस्तो बनाउनुहोस् 

बच्चाको लागि लकडाउन नकारात्मक त छँदै छैन । विदा उसको लागि कहिल्यै नकारात्मक हुँदैन । एउटै दैनिकीमा चल्दा उसलाई लकडाउन बोझिलो र झ्याउलाग्दो भने हुन सक्छ । त्यो पनि अभिभावकको दिनचर्याको कारणले भएको हो ।

दशैतिहार वा चाडपर्वमा के नै गरिन्छ र ? खाने पिउने र रमाइलो गर्ने न हो । त्यो त हामी त्यसै पनि गरिरहेका नै हुन्छौं । दशैंका दस दिनमा अगलअलग पर्व, तिहारका ५ दिन अलगअलग पर्व भएझैं लकडाउनको अवधिलाई १ महिनाको मानेर बच्चाको लागि मासिक तालिका बनाउनुहोस् । बिहानको तालिकामा सपरिवार दैनिक एरोबिक्स, जुम्बा डान्स, योग प्राणायाम र ध्यान गरी त्यसलाई उमङ्गमय बनाउनुहोस् ।

त्यसपछि अनिवार्य रूपमा घरको कामकाजमा सघाउन लगाउनुहोस् । यो समय घरको व्यवहारिक कामकाज, सरसफाइ, केलाउने, उमेरअनुसार पकाउने आदि सिक्नको लागि सबैभन्दा उत्तम समय हो । दही, मोही, घिउ बनाउन सिकाउने, समय पनि यही हो । यो समय घरेलु कामकाज सिकाउनका लागि रमाइलो गर्दागर्दै सिक्ने सबैभन्दा उत्तम समय हो ।

विद्यार्थीका लागि सबैभन्दा सुन्दर अवसर

विद्यार्थीका लागि सिकाइका दृष्टिले लकडाउन स्वर्णकाल हो । किनभने, यो समय स्वतन्त्रतापूर्वक स्वअध्ययन गर्ने समय हो । ठूलो कक्षाका गणित, विज्ञान र प्राविधिक विषयबाहेक अन्य सबै विषयहरू बालबालिकाले आफै अध्ययन गर्नसक्छन् । विद्यालयको जस्तो उसलाई गृहकार्य, कक्षाकार्य, सजाय, लाज आदि कुनै कुराको दवाव हुँदैन । संसारका धेरै महान् व्यक्तिहरू स्वअध्ययनले महान् भएका छन् ।

बालबालिकालाई बिना कुनै चिन्ता र तनाव आफ्नो मन लागेको समयमा, मन लागेको विषय मन लागेजसरी पढेर सक्न प्रेरित गर्नुहोस् । ५ कक्षामा पढ्ने बच्चाले आफ्नो नेपाली, सामाजिक, स्वास्थ्य, अंग्रेजीमध्ये कुनै विषयका पनि किताब उपन्यास पढेजस्तै खराखर पढेर दुईतीन दिनमा सक्यो भने हानी होइन फाइदा हुन्छ । उपन्यास वा बाहिरी किताब पढ्दा हामीलाई प्रश्नोत्तर, शब्दार्थ, जोडा मिलाऊको चिन्ता हुँदैन त्यसैले पनि कथा वा उपन्यास, समाचार वा लेख पढ्दा हामीलाई आनन्द आउने हो । तर तिनै उपन्यास, लेख, समाचार लोकसेवा वा अन्य जाँचको तयारीका लागि पढ्दै छौं भने हामीलाई असहज र तनावपूर्ण हुन्छ ।

विद्यार्थीलाई स्कूल साथीभाइसँग रमाइलो र समय काट्ने हिसाबले मात्रै रमाइलो लाग्ने हो । पढाइ र सिकाइका दृष्टिले ऊ स्कूलमा सधैं तनावमा हुन्छ । लकडाउन उसको स्वअध्ययनका लागि वरदान सावित हुन सक्छ । यस समयलाई स्वअध्ययनका दृष्टिले सुनौलो अवसरको रूपमा लिन सकिन्छ ।

सर्वाधिक सिर्जनशील समय

बालबालिकाका लागि यो समय सिर्जनामा रमाउनका लागि सबैभन्दा उपयुक्त समय हो । बच्चाको रुचीअनुसार चित्रकला, नृत्य, अभिनय, गायन, बाद्यवादन आदि सिकाइका दृष्टिले यो सबैभन्दा उपयुक्त समय हो । प्रतिदिन उसलाई सिर्जना सिक्ने र गर्ने अवसर दिनुहोस् । बाहिरी किताब पढ्ने अवसर दिनुहोस् । आजकाल गुगल र युट्युबले आम शिक्षक र प्रशिक्षकभन्दा राम्रो जानकारी दिन्छ ।

यसका लागि समय र पैसा खर्च गर्नुहोस् । दिनभरि टिभी वा मोवाइलमा ब्यस्त हुन दिएर हामी केही स्वतन्त्र भएको महसुस त गरौंला तर यसले हानी गर्छ भन्ने तपाईंहामीलाई थाह छ । यो समय हाम्रो लागि पनि चुनौति हो । असहज परिस्थितिमा हामी आफ्ना बालबालिकाका लागि कति चिन्तनशील छौं भन्ने पनि हो ।

बालबालिकालाई स्वतन्त्रतापूर्वक सिर्जनशील हुन दिने यो उर्वर समय हो । अहिले ऊ आत्मप्रेरित भयो भने अहिलेसम्म नजानेजति पढाइ गर्न सक्छ, दोस्रो भाषा सिक्न सक्छ र सिर्जनशील हुन सक्छ ।

अन्तमा,
लकडाउन बालबालिकाका लागि स्वर्ग वा नर्क बनाउने अभिभावकको हातमा छ । अवस्थालाई हामी टारेर टार्न सक्दैनौं । यस समयको सदुपयोग गरी बालबालिकालाई सिर्जनशील बनाउने, व्यवहारिक ज्ञान दिने, स्वअध्ययनमा प्रेरित गर्ने र आत्मनिर्भर बनाउनका लागि यो समयलाई राम्रो अवसर बनाऔं ।

(लेखक मनोपरामर्शकर्ता हुन्।)