नेपालगन्ज १९ जेठ : नेपालमा हालसम्म १० जनामा पुष्टि भएको ब्ल्याक फंस संक्रमणको समस्या बढ्दै गएकोछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले नेपालका १० जनामा यो संक्रमण भएको जनाएको छ ।
अनुहार, मुख, नाक, कान, आँखा वरिपरि दुख्ने, सुन्निने, ज्वरो आउने, दाँत दुख्ने तथा हल्लिने समस्या देखिएमा ब्ल्याक फंगसको संक्रमण हुन सक्ने जनाइएको छ । त्यस्तै, आँखाको ढक्कनी सुन्निने, ढकनी झुक्ने, आँखाले धमिलो देख्ने तथा नाक वरिपरिको छालाको रङ कालो हुँदै जाने, नाकाबाट रगत बग्ने तथा बाक्लो सिँगान आउनेजस्ता ब्ल्याक फंगसको लक्षण भएको जनाइएको छ ।
किन हुन्छ कोभिड संक्रमितमा ब्ल्याक फंगस ?
कुनै पनि फंगसलाई ‘अवसरवादी’ संक्रमणको रुपमा विशेषज्ञहरुले बुझ्ने गरेका छन् । अर्थात्, रोगप्रतिरोधी क्षमता कम भएका जुनसुकै गम्भीर रोगका बिरामीहरुलाई फंगसको संक्रमण हुन सक्ने सम्भावना उच्च हुन्छ ।
कोभिड संक्रमितमा अहिले देखिएको ब्ल्याक फंगस वातावरण तथा माटोमा पाइने ढुसीमध्येको एक प्रजाति हो, जुन मानिसको शरीरमा प्रवेश गरेपछि म्युकरमाइकोसिस संक्रमण हुन्छ । यो संक्रमण श्वासप्रश्वासको माध्यमबाट बिरामीको फोक्सो तथा विभिन्न अंगमा फैलिन्छ ।
विशेषगरी लामो समयसम्म स्टेरोयड प्रकारका औषधि प्रयोग गरेका बिरामीहरुमा रोगप्रतिरोधी क्षमता अत्यन्तै न्यून हुने हुँदा म्युकर संक्रमण भएका घटना धेरै छन् ।
भारतको नयाँ दिल्ली, गुजरातलगायत क्षेत्रका कोभिड संक्रमितहरुमा ब्ल्याक फंगस अत्यधिक देखिएपछि भारत सरकारले यसलाई महामारीको रुपमा घोषणा गरेको थियो ।
नेपालमा वीरगञ्जमा म्युकर संक्रमित भेटिएका थिए । अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पाँचसहित देशभर १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
ब्ल्याक फंगसले मृत्यु पनि गराउँछ ?
ब्ल्याक फंगस आफैँमा गम्भीर प्रकृतिको संक्रमण हो । यो संक्रमणले श्वासप्रश्वास, स्नायु र मस्तिष्क प्रणालीमा गम्भीर असर पु¥याउने र संक्रमितको मृत्यु पनि हुन सक्ने भरतपुर अस्पतालका आँखारोग विभाग प्रमुख डाक्टर सुमित पाण्डे बताउँछन् ।
अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार ब्ल्याक फंगसबाट मृत्यु हुने दर ५४ प्रतिशतसम्म रहेको छ । नेपालमा अहिलेसम्म ब्ल्याक फंगसका कारण कोभिड संक्रमितको भने मृत्यु भएको सरकारी तथ्यांक छैन ।
अरु बिरामीमा पनि हुनसक्छ ब्ल्याक फंगस ?
रोगप्रतिरोधी क्षमता कम भएका र उपचारको क्रममा रहेका गम्भीर अवस्थाका बिरामीहरुमा ब्ल्याक फंगसको संक्रमण हुन सक्ने वरिष्ठ सरुवा रोग विशोषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् ।
नेपालमा इन्फ्लुइन्जा, मधुमेह, एचआईभी, मिर्गौला रोगी, क्यान्सरलगायत उपचार गराइरहेका बिरामीमा ब्ल्याक फंगस संक्रमण हुने गरेको पाइएको छ । सबैभन्दा धेरै मधुमेहका बिरामीमा यो समस्या देखिने गरेको डाक्टर पुन बताउँछन् ।
सबै उमेर समूहका व्यक्ति यो संक्रमणको जोखिममा भए पनि अहिलेसम्म भारतमा सबैभन्दा धेरै ‘केस’ युवामा देखिएको छ । साधरणतया कोभिड संक्रमण भएको दुईदेखि चार हप्तासम्म ब्ल्याक फंगसको समस्या देखिन्छ । तर, संक्रमण भएको १० देखि ६० दिनसम्म पनि यो समस्या देखिने सम्भावना रहन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्ल्याक फंगसको संक्रमणबाट बच्न चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक तथा अरु औषधिको जथाभावी प्रयोग नगर्न सुझाव दिएको छ । यद्यपि, कोभिड–१९ जस्तो यो एकबाट अर्को व्यक्तिमा नसर्ने मन्त्रालयले जनाएको छ ।
कसरी बच्ने ?
अस्पताल भर्ना भएका कोभिड संक्रमितमा ब्ल्याक फंगस देखिएमा अरु संक्रमितभन्दा छुट्टै राखेर उपचार गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘प्रोटोकल’ बनाएको छ । नेपालमा केही संक्रमितहरुको शल्यक्रिया विधिबाट पनि उपचार गरिएको महाशाखाले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेकाहरुलाई ब्ल्याक फंगस रोकथामका लागि निम्न उपाय अपनाउन सुझाव दिएको छ ।
– सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने ।
– नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।
– व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
– नुनिलो पानीले नाक सफा गर्ने ।
– धेरै धुलो भएको ओसिलो ठाउँमा नजाने ।
– पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी तथा मुख कुल्ला गर्ने ।
– मधुमेह भएका बिरामीले सुगर नियन्त्रण गर्ने ।
– स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने ।