डब्लुएचओ भन्छ –फेला परेको छैन
नेपालगन्ज २० जेठ : कोरोना महामारीसंग जुझिरहेको नेपालमा ‘नेपाल भेरियन्ट’को कोरोना भाइरस भेटिएको बेलायती सञ्चारमाध्यमहरुले दावि गरेकाछन् ।
बेलायती सञ्चारमाध्यमहरुमा कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’ भेटिएको दावी गर्दै त्यस्तो भेरियन्ट आफ्ना नागरिकका लागि चुनौतीपूर्ण भएको दावीसहितका रिपोर्ट समेत प्रकाशित भएका छन् ।
बेलायती ट्याबलोइड दैनिक डेली मेलको बिहीबारको अंकमा कभर स्टोरी प्रकाशित गर्दै ‘नेपाली भेरियन्ट’को कोरोना बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण हुने उल्लेख गरिएकोछ ।
डेली मेललाई उदृत गर्दै ‘द इन्डिपेन्डेन्ट’ र ‘टेलिग्राफ’लगायतका पत्रिकाका अनालइन संस्करणले पनि नेपाली भेरियन्टको भाइरसबारे चर्चा गरेका छन् ।
हालसम्म नेपालमा म्युटेन्ट भएको भाइरसबारे विश्व स्वास्थ्य संगठनले समेत आधिकारिकरुपमा केही बताएको छैन् ।
नेपालका जनस्वास्थ्य अधिकारीले पनि नेपाल भेरियन्टबारे अनबिज्ञता जनाउंदै दोस्रो लहरका बेला देखिएको भाइरस भारतीय भेरियन्टको भएको बताइरहेका छन् ।
डब्लुएचओ भन्छ : फेला परेको छैन
यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको ‘नयाँ भेरियन्ट’ भेटिएकोबारे जानकारी नभएको बताएको छ ।
डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’
हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।
थप तीन नयाँ भेरियन्टको नाम जिटा, इटा र थिटा राखियो
यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले थप तीन भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार विभिन्न नाम दिएको छ । अहिले नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) हरुमा जिटा (पी.२), इटा (बी.१.५२५) र थिटा (पी.३) छन् ।
यिनीहरुको जनस्वास्थ्यमा कति असर पर्छ भन्ने अध्ययनकै क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले बताए ।
यसअघि डब्ल्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई (बी.१.१.७) ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई (पी.१) ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई (बी.१.३५१) ‘बेटा’ र भारतमा भेटिएको भेरियन्ट (बी.१.६१७.२) लाई ‘डेल्टा’ नामकरण गरेको थियो ।
भारतमै फेला परेको अर्को भेरियन्ट (बी.१.६१७.१)लाई कप्पा नाम दिइएको थियो । मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलले अल्फा भेरियन्ट १६० मुलुक, बेटा भेरियन्ट ११३ मुलुक, गामा भेरियन्ट ६४ र डेल्टा भेरियन्ट ६२ मुलुकमा फैलिएको बताए ।
पहिलो लहरको कोरोनाबाहेक नेपालमा पनि गामा र डेल्टा नामक भेरियन्टले ठूलो असर पारेको उनले बताए । यसअघि मुलुकमा उत्पत्ति भएको आधारमा कोरोना भेरियन्टलाई चिनिने गरेको थियो । विभिन्न देशले यसमा आपत्ति जनाएपछि डब्ल्यूएचओले उक्त भेरियन्टहरुलाई ग्रीक अल्फाबेट अनुसारको नाम दिएको हो ।