नेपालगन्ज ३१ जेठ : यस वर्षको मनसुन देशभर फैलिएसँगै तटीय क्षेत्रमा जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बाढीले क्षति पुर्याउन सक्ने भएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।
महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा लेखिएअनुसार मंगलबार पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ र बबई नदीमा ठूलो बाढी आउने भएकाले उच्च जोखिमको सम्भावना छ ।
यस वर्ष जुन ११ तारिख अर्थात् जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन आइतबार साँझबाट देशभर फैलिइसकेको छ । यस वर्षको मनसुनमा अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले बाढी पहिरोबाट क्षति बढी हुन सक्ने आशंका विपदविज्ञहरुले गरेका छन् ।
यसैबीच, आज देशका केही नदीहरुमा बहाव बढ्ने तर सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनानुसार आज कोसी र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ । नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने जनाइएको छ ।
आज नारायणी र महाकाली जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम वर्षा भई बहाव केही बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव पनि हुन सक्ने पूर्वानुमान छ । आज कन्काई र यसका सहायक नदीमा बहाव घट्दो हुने, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव सामान्य बढ्ने तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ ।
आज बारा, पर्सा, रौतहट, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, मकवानपुर, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, रुकुम, कञ्चनपुर, कैलाली, डडेलधरा, डोटी, अछाम र आसपास जिल्ला भई बहने केही स–साना नदी जलाधारमा क्षणिक मध्यम वर्षा भई बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । उक्त स्थानका स–साना नदी जलाधारमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आउँदो तीन दिन मझौला नदीहरु कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका केही स–साना नदी जलाधारमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने भएकाले साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।