नेपालगन्ज ३२ साउन : कोभिड–१९ को तेस्रो लहर रोकथामका लागि बाँकेमा सरोकारवालाबीच सहकार्य गरिने भएकोछ । बाँकेमा कोभिड– १९ को सम्भावित तेस्रो लहरको रोकथाम र प्रभावकारी उपचारको पूर्वतयारीका लागि स्वास्थ्य सरोकारवालाले सहकार्यको प्रतिवद्धता व्यक्त गरेका हुन् ।
संवाद समूह बाँकेद्वारा सोमबार नेपालगन्जमा आयोजित कोभीड–१९ को सम्भावित जोखिम, तयारी र प्रभावकारी उपचार सेवा बारे स्वास्थ्य सरोकारवालासँग गरिएको अन्तरक्रियात्मक सम्वाद सहजीकरणमा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
चिकित्सक, अस्पताल पदाधिकारी, स्वास्थ्यकर्मी, सुरक्षा अधिकारी, जनप्रतिनिधी र नागरिक समाजका अगुवा सहभागी कार्यक्रममा कोरोना संक्रमण साझा सरोकारको विषय भएकाले सामुहिक सहकार्यका साथ पूर्वतयारी थाल्नु पर्नेमा जोड दिइएको थियो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रद्वारा यस अघि गठीत विशेषज्ञसहितको समितीले सम्भावित जोखिम र गरिनु पर्ने तयारी बारे सुझाव सहितको प्रतिवेदन बाँकेका प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका संयोजक शिवराम गेलाललाई बुझाएको थियो ।
कार्यक्रममा सहभागी अधिकांस स्वास्थ्य विज्ञहरुले स्वास्थ्य सचेतना, दक्ष जनशक्ति, पुर्वाधार, उपकरणसहितको व्यवस्थापन तथा प्रभावकारी उपचारलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले विगतबाट पाठ सिक्दै कोरोना जोखिमको सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको जाकारी दिए । उनले स्वास्थ्य संस्था, स्थानीय तह लगायतसँगको समन्वय र सहकार्यमा आवश्यक रणनीतीसहित कार्य गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थामा मगरले नियमित सम्वाद र समन्वयले नै सामुहिक पहलको बातावरण सिर्जना हुने भन्दै त्यसका लागि प्रतिवद्ध र जिम्मेवार हुन आह्वान गरिन् ।
भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश थापाले सम्भावित जोखिमको सामना गर्न जनशक्ती, श्रोत साधान सहितको तयारी अवस्थामा रहेको जानकारी दिए । नेपालगन्ज मेडिकल कलेजका निर्देशक डाक्टर सुरेश कनोडियाले महामारीमा नीजि स्वास्थ्य संस्थाले पनि सामाजिक उत्तरदायीत्व निर्वाह गरेको बताए ।
नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डाक्टर विनोद कर्णले स्वास्थ्य सचेतनामा जोड दिदै स्वाथ्यकर्मीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउनु पर्ने आवश्यक्ता औल्याए । नेपालगन्ज मेडिकल कलेजकी बाल रोग विशेषज्ञ डाक्टर रोमा बोराले कोरोनाको तेस्रो लहर कुन स्वरुपमा आउँछ भन्ने यकिन नभएको भन्दै गर्भवती महिलालाई पनि खोपको व्यवस्थापन गर्नु पर्नेमा जोड दिइन् ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले संक्रमितको संख्या घट्दै गइरहेपनि तयारी पूर्ण रुपमा हुन आवश्क भएको बताए । श्रेष्ठका अनुसार अहिले भेरी अस्पतालमा कोभिडका ५२ जना उपचाररत छन् ।
नेपाल बार एशोसीयशनका वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठले सम्भावित जोखिममा सचेततासँगै सवै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजिकरण गरेका कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख रामसुरेश यादव, भेरी अस्पताल विकास समितका सदस्य एवं नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, बालमनोवीद् सुदीप भट्टराई लगायतले आ–आफनो सुझाव राखेका थिए ।
कार्यक्रमको उद्देश्य र महत्वमाथि समूहका सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीले प्रकाश पारेका थिए ।