दार्चुलाका बाढीपीडित भन्छन्– तुइन काटिएपछि खाद्यान्न अभाव भयो


दार्चुलाका बाढीपीडित भन्छन्– तुइन काटिएपछि खाद्यान्न अभाव भयो

दार्चुला २२ भदौ : दार्चुलाको दुहुँ गाउँपालिका–२, नारुलीका पुरन साहु भदौ १४ गतेदेखि गौरीलमाण्डौँ मावि हिकिलाको विद्यालयमा आश्रय लिएर बसेका छन् । भदौ १३ गते राति आएको बाढीपहिराका कारण पूरै घरखेत बगाएपछि विद्यालयको भवनमा आश्रय लिएका हुन् । गाउँपालिकाले उनीसँगै नारुली बस्तीका १७ परिवार विद्यालयमा राखेको छ ।

गाउँमाथिबाट आएको बाढीपहिरामा परी नारुली, बतकोली, सिमारलगायत बस्तीमा सबैभन्दा बढी घर भत्किएका छन् भने सुत्खोला, अफरेलिखालगायत बस्ती पनि पहिराको उच्च जोखिममा छन् ।
यहाँका झण्डै १०० घरधुरी बाढीपहिराबाट प्रभावित बनेका छन् ।

‘पहिराले घर भासिने क्रम अझै रोकिएको छैन । घर धुजाधुजा बनेका छन् । खेत पूरै दरार भएका छन् । साउन १४ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत ८० थान त्रिपाल आएको थियो, त्रिपालमा कहाँ टाँग्नु ?’, पुरनले भने, ‘त्रिपाल टाँग्ने जमिन त सुरक्षित हुनुप¥यो । बाढीपहिरो आएको भोलिपल्टसम्म जमिन भासिएको थिएन । तर, अहिले दिनहुँ घर भत्किरहेका छन् भने जमिन पूरै भासिँदै गएको छ । यो ठाउँमा बस्न सकिने अवस्था कहीँ पनि छैन । हाम्रो सुरक्षित स्थानान्तरणका लागि पहल हुनुपर्छ’, उनले भने ।

उडालु, गोकुलगाड, सिमारखोला, दुनदुमखोला, घट्टेखोला मिसिएर कालागाड खोला बनेको छ । सबै खोलामा एकसाथ पानी जम्मा हुँदै बाढीको रूप लिएको हो । राति ९ बजेदेखि पानी पर्न थाल्यो, रातिको १२–१ बजेपछि खोला बढेर कटान सुरु गरेको धनसिंह डडालले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उनकाअनुसार एक्कासी ठूलो आवाज आयो, खोलामा गाडाङगुडुङ आवाज सुनियो । बिहान हुँदै जाँदा सबै ठाउँमा पहिरो देखियो। उनले भने, ‘अहिले विद्यालयमा बस्दा खानबस्न मिलेकै छ । तर, कति दिन विद्यालयमा बस्नु । विद्यालय खोल्ने तयारी हुँदैछ । हामीलाई चाँडो सुरक्षित स्थानमा बस्ने वातावरण मिलाइनुपर्छ ।’ बाढीपहिराबाट प्रभावित भएकाले प्रमुख जिल्ला अधिकारी सिद्वाराज जोशी लगायतको टोली गाउँ पुग्दा आफूहरूको सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गरेका छन् ।

‘हामीहरू विद्यालय भवनमा कति दिन बसौँ तीन तहको सरकारले हाम्रो व्यवस्थापन गर्न माग गर्छौँ’, पुरन साहुले भने, ‘जनप्रतिनिधि आएकै छैन, सङ्घीय सरकारका प्रतिनिधि आएकै छैन । हाम्रो एउटै माग हो सुरक्षित ठाउँमा राखिदिनुस् ।’

प्रजिअ जोशी दुहुँमा अकल्पनीय बाढीपहिराले क्षति गरेको बताउँछन् । उनले बाढीपहिराको स्थलगत निरीक्षणपछि भने, ‘खोलामा बाढी आएको छ, तर डाँडाकाँडामा रहेका घर भत्किरहेका छन् ।’ उनकाअनुसार अहिले पनि घर भत्किने र जमिन भासिने क्रम यथावत छ । बस्तीमाथिका डाँडा पूरै दरार बनेका छन् ।

‘मलाई लाग्छ, यो क्षेत्रमा खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले अनुसन्धान गर्नुपर्छ’, प्रजिअ जोशीले भने, ‘यहाँको पूरै बस्ती तराईको कुनै ठाउँ राख्नुपर्छ । यसको लागि सङ्घ र प्रदेशले भूमिका खेल्नुपर्छ । पहिरो हेर्नै नसकिने अवस्थाको छ । हामीले तत्काल बैठक बोलाएर आवश्यक जानकारी पठाउँछौँ ।’

तुइन काटिएपछि खाद्यान्न अभाव पहिराले अहिले जिल्लाका विभिन्न क्षेत्रमा सडक अवरुद्ध भएका छन् ।

दार्चुला–तिंकर खण्डको पनि विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात ठप्प छ । यातायात सेवा अवरुद्ध भए पनि दुहु र व्यास गाउँपालिकाका बासिन्दा सदरमुकाम आवतजावत गर्ने वैकल्पिक बाटो नभएकाले पहिराको जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ । यहाँका बासिन्दा तिंकर सडकमै पैदल हिँडेर खलङ्गा पुग्नुपर्ने बाध्यता विगतदेखिकै हो । दुहुका सबै ठाउँका बासिन्दा तिंकर सडक भएरै खलङ्गा जानुपर्छ ।

‘विभिन्न कामले सदरमुकाम नगई हुन्न । तर, जोखिम धेरै छ’, व्यासका स्थानीय विशेश्वरप्रसाद बडुले भने, ‘गाउँदेखि सदरमुकाम पुग्न भिरको बाटो छ । तिंकर सडकको ठाउँठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले धेरै जोखिम बढेको छ । अहिले यो क्षेत्रमा झोलुङ्गे पुल बगाउनुको साथै तिंकर सडकको ठाउँठाउँमा पहिरो गएपछि झन् समस्या भएको छ ।’

माथिबाट ढुङ्गा खस्ने र हतारले हिँड्दा चिप्लिएर लड्ने डर उत्तिकै रहेको सर्वसाधारण बताउँछन् । स्थानीय उत्पादनले नधान्ने भएकाले दैनिक उपभोग्य वस्तु सदरमुकामबाटै ल्याएर पूर्ति गर्नुपर्छ । तर, सदरमुकाम आउजाउ गर्न सर्वसाधारणलाई सकस परेको दुहुँ गाउँपालिका–३ का रमेशबहादुर बम बताउँछन् ।

‘सडक पुगेपछि दुहुँ र व्यासका बासिन्दा मौसमी मात्रै भए पनि राहत पाएका थिए । अहिले विभिन्न ठाउँमा अवरुद्ध हुँदा ढुवानीमा समस्या भएको छ’, उनले भने, ‘सुरुमा स्थानीय बासिन्दा आफैँले भारी बोकेर काम चलाउँदै आएका थिए । सडक पुगेपछि बानी छुट्यो। अहिले पुनः भारी बोक्नुपर्ने भएपछि समस्या भयो ।’

दुहुँ गाउँपालिकाको हिकिला, पीपलचौरी क्षेत्रमा ट्र्याक्टरसमेत नचल्दा चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने गरेको स्थानीय व्यापारी बताउँछन् । व्यासका बासिन्दा विगतमा भारतीय बाटो हुँदै तुइनको माध्यमबाट आवतजावत गर्थे। अहिले गत साउन १५ गते भारतीय एसएसबीले तुइन काटेपछि यो क्षेत्रमा खाद्यान्न अभाव भएको छ ।

‘नेपालतिर बाटो भएर आउन दुहुँसम्म पनि बाटो छैन । हिँडेर जान दुई दिन हिँड्नुपर्छ’, दानसिंह कार्कीले भने। दार्चुलाको व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा सोमबारदेखि खाद्यान्न ढुवानी सुरु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्यास गाउँपालिका–२ मालगाउँका लागि खाद्यान्न ढुवानी सुरु भएको हो ।

व्यास गाउँपालिकाको मालमा सोमबार ४० क्विन्टल खाद्यान्न ढुवानी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले जानकारी दिए । बीस–बीस क्विन्टलका दरले मालमा खाद्यान्न ढुुवानी भएको थियो। गत साउन १५ गतेदेखि भारतीय एसएसबीले महाकाली नदीमा तुइन लगाउन बन्द गराएपछि यस क्षेत्रमा खाद्यान्न अभाव भएको छ ।

भारतीय एसएसबीले तुइनको डोरी फुस्काइदिँदा मालका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएपछि यो क्षेत्रमा खाद्यान्न ढुवानी हुन सकेको छैन । नेपालतिर सडकको विकल्प नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो। व्यासका लागि खाद्य संस्थानले पनि चामल ढुवानी गर्न बोलपत्र आह्वान गरेको छ ।

व्यास–१, २ र ३ का लागि ६०० क्विन्टल खाद्यान्न ढुवानी गर्न बोलपत्र आह्वान गरेको हो । यो क्षेत्रमा खाद्यान्न ढुवानी गर्न रु एक करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै दुहुँ गाउँपालिकामा भदौ १३ गते आएको बाढीपहिरापछि गाउँमा खाद्यान्न अभाव हुन नदिन १०० क्विन्टल खाद्यान्न, तीन क्विन्टल दाल, तेल र नुन, साढे तीन हजार मिटर खानेपानी पाइप हेलिकोप्टरमार्फत ढुवानी गरिने जोशीले बताए ।

सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत २० क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । सम्बन्धित गाउँपालिकाको व्यवस्थापनमा गृह मन्त्रालयले हेलिकोप्टरमार्फत खाद्यान्नलगायत सामग्री ढुवानी गर्न हेलिकोप्टर दार्चुला पुगेको छ । सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको ब्यारेकबाट दुहुँ र व्यासको मालका लागि खाद्यान्न ढुवानी भइरहेको छ । -रासस