तीजको रहर आयो बरिलै...


तीजको रहर आयो बरिलै...

File Photo

नेपालगन्ज २३ भदौः बालखकालमा जनैपूर्णीमा आएपछि चाडपर्व आएको अनुभूति हुन्थ्यो । हातभरि तागो (रक्षाबन्धन) लाउने रहर बालखकालमा सायद सबैलाई हुन्छ होला । साथीको भन्दा आफ्नो नाडीको तागो धेरै हुँदा कम्ता गर्व महसुस हुन्थ्यो । जनैपूर्णीमा पछि विस्तारै चाडबाड आउने क्रममा ती रक्षाबन्धनले सबैलाई अलि बढी रमाइलो अनुभूति दिलाउँछ । हिजो तीज महिलाको र कृष्ण जन्माष्टमी पुरुषको भन्ने गरिन्थ्यो । तर, समयसगैं चाडबाड र यसलाई मनाउने तरिकामा पनि आधुनिकताले छोएकोछ । जसले गर्दा टोटल्ली रिमिक्स चाडबाड मनाइरहेका छौं हामी ।

हिजो

केही वर्ष पहिलेसम्म तीजको गीत महिलाले मात्र गाउने गर्थे । नाँच्न पनि महिला मात्र नाच्थे । तर, आजकल समय बदलिएको छ । तीज महिला पुरुष सबैलाई बराबर लाग्न थालेको छ । तीजमा पहिले–पहिले पुरुषले गाउन र नाच्न हुँदैन भनिन्थ्यो त्यही मान्यता थियो । आजकल तीजको गीत दोहोरीमा रुपान्तर भएको छ । जसका कारण वास्तविक तीजको गीत थोरै मात्र सुन्न पाइन्छ । तीजमा दाजुले बहिनी–दिदीलाई लिन जाने चलन आत्मीय चलन थियो । विवाह भएर जानुभएको दिदी बहिनी माईत आउन तीज नै पर्खनु पथ्र्याे । त्यसभन्दा पूरक समय माईत आउने अनुमति घरबाट नपाउँदा वर्ष दिनभरीको पीडा दुःख गीत मार्फत् पस्किइन्थ्यो । सासु, लोग्नेले गरेको हिंसा पोख्ने ठाउँ तीज रहन्थ्यो । माईती लिन नआउँदा चेलीको पीडा असह्य हुन्थ्यो । त्यसलाई उनीहरुले गीत मार्फत् व्यक्त गथे ।

वर्ष दिनको तीजैमा बाबा लिन आएनन्
मै चेली दुःखी कसको माईत जाऊँ ।

Kids Festival 2022
kanti aarogya hospital
add

माईती लिन जाँदा चेली अत्यन्त खुसी हुन्थिन् । लिन आउने माईतीलाई त्यतिबेलाको स्वादिष्ट भोजन घ्यू, मासु खुवाएर स्वागत गरिन्थ्यो । चेलीलाई लिन गएर माईतीमा ल्याउँदा माईती पनि खुसी हुन्थे । टाढा –टाढाको चेलीबेटी लिन जाँदा बाटो, खोला नालाका अप्ठेरोमा परेर बगाएको दुःखद् समाचार पनि सुन्न पथ्यो । आजको जस्तो पुल–पुलेसा, सवारीका साधन थिएन त्यतिबेला । हिँडेरै कोसौं पर पुग्नुपर्ने थियो । यी सबै दुःख दर्दलाई गीतको भाकामा उनेर महिलाहरुले गाउँथे ।

समाजका कुरीति, महिला हिंसा, राजनीति, प्रेम सबै पक्षलाई तीज गीतले छुने गथ्यो । पञ्चायती शासन कालमा व्यवस्था विरोधी स्वरहरु तीजमा सुनिन्थ्यो । व्यवस्थाको आडमा पञ्चले गरेका शोषण दमन तीजमा उद्घोषित हुन्थ्यो । यति बेला तीजको गीत परिवर्तन भएको छ । समयसँगै गीतहरु परिवर्तन भएका छन् । फरिया र सिरफूलका कुराहरु गरेर अब तीजको माहौल तात्दैन । अहिले माईती लिन स्वयम् व्यक्ति जानु पर्दैन । प्रविधिले एक सेकेण्डमा निम्तो दिन्छ । हिजो दर खाइन्थ्यो यति बेला दरको नाममा होटलमा पुलाउ, मासु र सोमरस खाइन्छ, खुवाइन्छ ।

आजकल

तपाई मान्नुहोस् या नमान्नुहोस् तर, वास्तविकता के भने आजकल तीजको धार्मिक मान्यता र मर्ममाथि प्रहार भएको छ । तीज महिला मुक्तिको पर्व हो । विशेष गरी आत्मनिर्णयको अधिकारसँग यो पर्व जोडिएको छ । विवाहको अधिकारलाई यो पर्वले सम्झाउँछ । महिलाले आफूले रोजेको ब्यक्तिसँग विवाह गर्न पाउँछन् भन्ने सन्देश तीजको पौराणिक कथाले दिन्छ । तर, आजकल धार्मिक मान्यता एकातिर तीजको संस्कार अर्कोतिर भएको छ । तीज आफ्ना आत्मीय माईतीको घरमा होइन होटल रेष्टुरेण्टमा मनाउन थालिएकोछ । बदलिँदो समयमा यो संस्कारलाई पनि हामीले स्वागत गर्नुपर्ने हो की ? व्यस्त जीवनशैलीमा हामी मान्छेहरुलाई घरमा खाना पकाउन फुर्सद नहुँदा अब बिहान बेलुकाको छाक पनि होटलमा खानुपर्ने अवस्था आउँदैछ ।

यतिबेला होटल, पार्टीप्यालेसमा विभिन्न संघसंस्थाले दिदी बहिनीहरुलाई दर होइन पुलाउ, मासु र सोमरस खुवाउँदै छन् । महिला दिदीबहिनीहरु महङ्गो सारी र पहेँलो धातुमा सजिएर नाँच्दै हुनुहुन्छ । दर खाने जमघटमा कसले कति हजारको सारी लगायो ? कसले कति तोलाको गहना लगायो यतातिर महिलाको ध्यान जान्छ । यतिबेला तीज देखासिकी तडकभडक तथा गरगहनाको प्रदर्शनमा रुपान्तरण भएको छ । तीजको नाममा अनावश्यक खर्च, भड्किलो व्यापारिक दृष्टिकोणले दिन दुःखी महिलाहरुलाई खुसी होइन पीडा दिएको छ । हिजो आज तीज धार्मिक भावनाले भन्दा मनोरञ्जनको भावनाले बढी मनाइन्छ ।

धार्मिक पक्ष

तीजको धार्मिक पक्ष हिन्दू धर्मसँग जोडिएको छ । भगवान शिवको अर्धाङगनी पार्वतीले पतिको सु–स्वास्थ्यको कामा गरेर व्रत बसेको किम्बदन्ती छ । त्यसैगरी अको पक्ष राजा हिमालयले आफ्नो छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन दिए रे । यता पार्वतीको पहिले देखि नै शिवसँग अगाढ प्रेम सम्बन्ध थियो । सर्पको माला लगाएर भाङ धतुरो खाने बाघको छाला ओछ्याएर मस्त भएर हिड्ने शिव पार्वतीको बाबुलाई मन पर्दैन्थ्यो । आफ्ना बाबुले शिवलाई दिएको थाहा पाएपछि पार्वतीले विद्रोह गरेर शिवसँग विवाह गर्न मानिन् । बरु उनलाई साथीहरुले हरेर वन लगे । वनमा पार्वतीले शिव पति पाउँ भनेर कठोर तपस्या गरिन् । पार्वतीले तपस्या गरेको वर्षौं वर्ष पुग्दा पनि फल प्राप्त नभएपछि उनले जंगलमा शिवलिङ्ग स्थापना गरी पानी पनि नखाएर व्रत बसिन् रे ।

उनको कठोर तपस्याका कारण भगवान शिव प्रकट भएर चिताएको पुगोस् भनेर आशिर्वाद पाए रे । अनि भाद्र शुक्ल तृतीयाको दिन शिव र पार्वतीको विवाह भयो । त्यसैले यो दिनलाई उत्सवको रुपमा मनाउन थालियो । महिलाले पुरुषप्रति गरेकार अगाध प्रेम र आफूले रोजेको पुरुषसँग विवाह गर्न पाउने अधिकारसँग जोडिएको पर्व तीज हो । तीज मनाउने अरु कारण पनि हुन सक्छन् । तर, भरपदो कथा शिव र पार्वतीको प्रसङ नै मानिँदै आएको छ ।

तीज पर्व महिलाहरुको हर्ष र उल्लासको पर्व भनिन्छ । पतिको दीर्घायुको लागि निराहार व्रत बस्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने यो पर्वमा पञ्चमीका दिन ३६५ वटा दतिवन टोक्ने चलन छ । दतिवन दाँत र पाठेघर सम्बन्धी रोग निको पार्ने आर्युवेदिक औषधी मानिन्छ । हरेक दिन दतिवनले दाँत माझ्ने गर्दा दाँत स्वस्थ रहन्छन् । त्यसैको साटो वर्षको ३ सय ६५ वटा दतिवन एकै दिन टोक्ने चलन चलाइयो । यसलाई परिमार्जन गर्नु जरुरी छ । अब एकै दिन यतिका दतिवन टोक्ने होइन । दैनिक एउटा दतिवनले दाँत माँझे हुन्छ ।

अविवाहित महिलाले तीजमा व्रत बसेर सुयोग्य पति पाउने होइन । सामाजिक सञ्जालका प्रलोभनमा नफसे, आफू सचेत रहे हुन्छ । तीजको मौलिकता जोगाउने भनेको महिला अधिकारको लडाइँ हो । हिजो तीजमा पीडा, वेदना र गुनासो मात्र सुनिन्थ्यो अब महिलाको जन्मसिद्ध अधिकारको माग स्थापित गरेर तीज मनाउनु पर्छ । आफ्नो दक्षता र आर्थिक अवस्थाले पुग्ने गरि तीज मनाउनुहोस् । अरुको देखसिखी र लहडमा मनाइने चाडबाडबाट ऋणी हुनुभन्दा कम खर्च गर्नु नै उचित हुनेछ । हरितालिका तीजका अवसरमा सेतोखरी टिमको तर्फबाट सम्पूर्ण महिला दिदीबहीनहरुमा हार्दिक शुभकामना ।