‘कोरोना नेगेटिभ आयो भनेर ढुक्क नहुनुस्, ‘स्क्रब टाइफस’को परीक्षण गराउनुस्’

कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिने ‘स्क्रब टाइफस’ के हो ?


‘कोरोना नेगेटिभ आयो भनेर ढुक्क नहुनुस्, ‘स्क्रब टाइफस’को परीक्षण गराउनुस्’

नेपालगन्ज ३१ भदौ : यतिबेला देशका विभिन्न जिल्लाहरुमा कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका ‘स्क्रम टाइफस’ रोग देखिन थालेकोछ ।

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण लिइ अस्पतालमा उपचार गराउन आउने स्क्रब टाइफसका बिरामी बढ्न थालेको चिकित्सकहरु बताउँछन् । काठमाडौं उपत्यकामा समेत फाटफुट्ट स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिमाली जिल्ला बाहेक प्रायः सबै जिल्लामा यसको संक्रमण देखिने गरेकोछ । यो नयाँ रोग होइन । २०७२ को भूकम्पपछि प्रत्येक वर्ष यो सिजनमा यसको संक्रमण देखा पर्दै आइरहेको छ ।

समयमै यसको उपचार नगरिए विरामीको मृत्यु समेत हुन्छ । विगतका वर्षमा समेत ‘स्क्रब टाइफस’को समयमै उपचार नगरका कारण विरामीको मृत्यु समेत भएको तथ्यांक छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

के हो स्क्रब टाइफस ?

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो ।
यो जीवाणु मुसामा समेत पाइन्छ । विशेष गरी खेतबारीमा काम गर्ने क्रममा किर्नाले टोक्दा यो रोग लाग्ने गर्दछ । समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सोलगायतका अंगमा संक्रमण गराउँछ भने बहुअंग विकार (मल्टी अर्गन डिस्फंसन) को अवस्था पनि सिर्जना हुन सक्छ ।

यसका लक्षणहरु के–के छन् ?

उच्च ज्वरो आउने
स्वास फेर्न गाह्रो हुने
धेरै टाउको दुख्ने
आँखा रातो हुने
जोर्नी र मांशपेशी दुख्ने
खोकी लाग्ने, वान्ता आउने, पेट दुख्ने र पखला लाग्ने
शरीरमा रातो बिमिरा आउने
टोकेको ठाउँमा कहिले कहीँ कालो दाग देखिने ।

स्क्रब टाइफस कसरी सर्छ ?

खेतबारीमा वा झारपात बढी भएको ठाउँमा काम गर्ने, जंगलमा जाने मानिसमा यो रोग सर्ने जोखिम हुन्छ । यस्तो ठाउँमा मुसाको बासस्थान बढी हुने भएकाले मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेर यो रोग सार्ने सम्भावना हुन्छ ।

कोभिड–१९ र स्क्रब टाइफसमा के छ समानता ?

संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार कोभिड–१९ र स्क्रब टाइफसका बिरामीमा देखिने केही लक्षण मिल्दोजुल्दो छन् ।
ज्वरो आउने ।
श्वास फेर्न गाह्रो हुने ।
स्क्रब टाइफसको बिरामीमा ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा रातो बिमिरा देखा पर्ने लगायतका लक्षणहरु देखा पर्छन् ।
शरीरमा देखा परेको रातो बिमिराको वरिपरिको बीच भागमा कालो दाग देखिएमा स्क्रब टाइफसको संक्रमण भएको हुन सक्ने डाक्टर पुन बताउँछन् ।

स्क्रब टाइफसबाट कसरी बच्ने ?

डाक्टर पुनका अनुसार स्क्रब टाइफसको पहिचान गरी समयमै औषधि सेवन गरे यो रोग निको हुन्छ । तर, समयमै उपचार नगरे यसले गम्भीर रुप लिएर मानिसको ज्यान समेत जान सक्छ ।

स्क्रब टाइफसबाट बच्न खाली खुट्टा खेतबारी वा जंगलमा जानु हुँदैन । खेतबारी वा जंगलमा जानै परे गमबुट लगाउने र शरीर पुरै ढाकिने गरी कपडा लगाउनुपर्छ । जसले गर्दा शरीरमा किर्ना प्रवेश गर्न पाउँदैन र त्यसको टोकाइबाट बच्न सकिन्छ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

यो रोगको लक्षण कोरोनासँग मिल्दोजुल्दो हुने भएकाले कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपनि स्क्रब टाइफसको परीक्षण गर्न उनी सुझाव दिन्छन् । स्क्रब टाइफसको लक्षण देखिएमा समयमै परीक्षण गरी यसको पहिचान गर्न सके स्क्रब टाइफसबाट बच्न सकिने उनको भनाइ छ ।

घर वरिपरि घाँसहरु बढ्न नदिने, वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त ढंगले अन्नको भण्डारण गर्नुपर्दछ ।