नेपालगन्ज १३ असोज : श्राद्ध किन व्यवहारिक र वैज्ञानिक छ त भन्दा यदि तपाइले आफ्ना पितृहरुको लागि श्रद्धापूर्वक स्मरण गर्नु हुँदैन भने तपाइले पनि आफ्ना सन्तानले मेरो लागि केही गर्लान् कि भनी नसोंचे पनि हुन्छ ।
त्यसकारण हामीले गर्ने प्रत्येक कृयाकलापलाई हामी सँस्कार भन्दछौं । यसकारण तपाइले गर्दै आएको कृयाकलापलाई छोड्दै जानु भनेको तपाई आफ्नो सन्तानलाई नराम्रो मात्र होईन आफूदेखि धेरै टाढा बनाउँदै हुनुहुन्छ र भन्नुहुन्छ मलाई मेरो सन्तानले हेला गर्यो, मैले भनेको मानेन, सम्मान गरेन, हामीदेखि टाढा हुँदै गयो सन्तान बिग्रियो भनेर । सन्तान बिग्रिएको होईन सन्तानलाई तपाईले नै बिग्रनबाट बचाउन सक्नु भएन । कारण आफ्नो सँस्कार र उत्तरदायित्व पूरा गर्न सक्नु भएन । यसकारण भनिन्छ– ‘जस्तो सँस्कार उस्तै कर्म, जस्तो कर्म उस्तै फल’ भनेर ।
त्यति मात्र होईन यदि तपाइले आफ्नो यो जन्ममा आफ्नो सन्तानका अगाडि आफ्नो कर्तव्य पूरा गर्न सक्नु भएन भने अथवा कसैसँग ऋण लिएर पनि तिर्न नसकी तपाईको मृत्यु भएमा पुनः आफ्नै सन्तान वा जो सँग ऋण लिनु भएको थियो । उसैको घरमा जन्म लिई त्यसको पीडामा दोस्रो जन्ममा पनि छट्पटाउनु परेको कुरा पौराणिक कथाबाट बुझ्न सक्नुहुन्छ । यसको लागि भविष्योत्तर पुराण हेर्न सक्नुहुन्छ ।
आजभोलि हाम्रो देशमा तथा देशबाहिर धेरै कुरा पश्चिमी समाजको अनुकरणमा चलाउन खोज्दै गएको पाइन्छ । आफ्नो सँस्कार, मातृभूमि, जाति, धर्म, संस्कृति, दर्शन, रीतिस्थिति, भेषभूषा, आचारसंहिता, खानपान इत्यादिका मूल्यमान्यतालाई आदर गर्ने र तिनमा गौरवानुभूति गर्ने व्यक्ति कम हुँदै गएको पाइन्छ ।
तपाइ आफ्नो सँस्कारलाई समाप्त गर्दै अरुको धर्म र सँस्कारलाई अनुशरण गर्दै जानु भनेको आफ्नो पहिचानलाई पनि गुमाउनु हो । बोल्न जति सजिलो छ, तर व्यवहारमा उतार्न र पालना गर्न कठीन विषय हो हाम्रो सँस्कार । हामीले बुझेको संस्कार भनेको सदाचार, शुद्धता, पवित्रता, इमान्दारिता, निष्ठा, कर्तव्य, इमानदारिता र दायित्व पनि हो । जसलाई हामी हिन्दू धर्म भन्छौं र हिन्दूको घरमा जन्म लिई आउन पाएकोमा सधैं गर्व गर्न पाईरहेका छौँ । यसकारण भन्न सकिन्छ –‘सभ्य र सुसंस्कृत समाज निर्माणको मार्गदर्शन नै वैदिक सनातन (हिन्दु) धर्म हो ।’
यसैकारण पश्चिमीहरुलाई महान दार्शनिक प्लेटोले दिएको शिक्षा र पूर्वीयलाई महर्षी वेदव्यासले दिएको शिक्षालाई तुलना गरी गहिरो अध्ययन गरी हेर्ने हो भने अथाह ज्ञान पूर्वीय धर्मशास्त्रहरुमा पाउन सकिन्छ । क्रिश्चियानिटीका कटु आलोचकका रुपमा चिनिएका अरेटले जुडिइजम् र इस्लामको पनि गहिरो अध्ययन गरे । प्रभावित हुन सकेनन्, आलोचक नै बने । तर पूर्वीय दर्शनप्रति उनी धेरै प्रभावित बन्न पुगे । उनले हिन्दूत्वको प्रंशसा गर्दै भनेका छन् –‘हिन्दुहरु शान्तिपूर्ण र निश्चल हुन्छन्, संसारका लागि वेद सबैभन्दा मूल्यवान् उपहार हो, पश्चिमा दर्शन सधैं पूर्वीय दर्शनको ऋणी भएको छ ।’ उनी मात्र होईन पश्चिमका धेरै विद्वान, दार्शनिक र वैज्ञानिकहरु हाम्रो वैदिक धर्म संस्कृतिलाई अत्यन्त वैज्ञानिक र व्यवहारिक मान्दछन् । हामीलाई पश्चिमीहरुले तिमीहरुको धर्म महान छ भनेपछि मात्र हामीलाई विश्वास लाग्ने ? तिमीहरुको देशमा सगरमाथा छ, गौतम बुद्ध र सीताको जन्मस्थल छ भनी अरुले आँखा खोली देखाउनु पर्ने ? खै त हामीले चिनाउन सकेको ?
यसकारण पनि हाम्रा चाडपर्व र संस्कारलाई विश्वसामू चिनाउन जरूरी छ । हाम्रा चाडपर्व र संस्कारलाई सामाजिक र सांस्कृतिक पर्व र परम्पराका रुपमा हामीले धर्मसँग गाँसेका छौं । यीमध्ये सबैभन्दा गर्नै पर्ने धर्म हो– श्राद्ध, जसले आफूलाई पनि सम्मानित तुल्याउँछ ।
श्राद्धमा के के गरिन्छ ?
आफ्नो आमाबुवाको श्राद्धको दिन आएपछि अघिल्लो दिन एक छाक मात्र भोजन गरी दारी कपाल काटी शुद्ध भई श्राद्धको तयारी गरिन्छ जसलाई एकछाकी पनि भन्ने गरिन्छ । श्राद्धको दिन गाउँघरका आफ्ना दाजुभाइ इस्टमित्र, गुरु र गरिबहरुलाई पनि श्राद्धको प्रसाद खान बोलाइन्छ । जाने आफै गर्न पनि सकिन्छ आफूलाई आउँदैन भने गुरु पुरोहितलाई घरमा बोलाई वैदिक विधिअनुसार श्राद्ध गरिन्छ । श्राद्ध सकिसकेपछि दालभात, तरकारी, अचार, खीर, मिठाइ, दही घ्यूसहितको परिकार सबैलाई खुवाइन्छ र खाईन्छ ।
श्राद्धमा के–के गर्नु हुँदैन ?
शास्त्रका अनुसार श्राद्धको समयमा घरमा तामसी भोजन (माछामासु, लसुन, प्याजÞ, मदिरा र असन मानिने खाना) बनाउन पनि अशुभ मानिन्छ । यो समयमा मसुराको दाल, राजमा, धतुरो लगायतका बस्तुहरुको प्रयोग पनि बर्जित मानिन्छ । श्राद्धको दिन शरीरमा नुन, तेल आदि प्रयोग गर्नु पनि अशुभ मानिन्छ । श्राद्धको समयमा यी काम हरु गरेमा घरमा अशुभ र अशन्ति हुने शास्त्रमा उल्लेख छ ।