बाढी पीडित किसानलाई राहत उपलब्ध गराइने
नेपालगन्ज ६ कार्तिक : लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले पत्रकारका नाममा जथाभावी बाँडिने रकमबारे आवाज उठाउने बताएकाछन् । नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा पत्रकारले राखेको जिज्ञासालाई सम्बोधन गर्दै वनमन्त्री हमालले यस्तो बताएका हुन् ।
मन्त्री हमालले प्रदेश सरकारले सञ्चार क्षेत्रलाई छुट्याएको बजेट समानुपातिक तरिकाले वितरण गर्ने विश्वास दिलाए । लुम्बिनी प्रदेशका केही नियम, कानून बन्ने क्रम चलिरहेको र अझैपनि धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले अगाडी थपे–‘लुम्बिनी प्रदेशमा पत्रकारका नाममा जथाभावी बाँडिएको रकमका बारेमा आवाज उठाउने छु ।’
मन्त्री हमालले जंगलभित्र सढें गलेका काठको ब्यवस्थापन नहुँदा राज्यले ठुलो नोक्सानी बेहोर्नु परिरहेको बताउँदै प्रदेश वन मन्त्रालयले ति काठको उचित ब्यवस्थापन चाडैँ गर्ने बताए ।
पत्रकार भेटघाटमा उनले भने, ‘प्रदेशका १२ वटै जिल्लामा काठ जुन रुपमा यत्रतत्र छरिएका छन्, त्यो काठहरु ब्यवस्थापन गर्न जति हामीले ढिला गर्छौ, त्यति राज्यको लागि नोक्सानदायी हुन्छ, त्यसले राज्यलाई फाइदा गर्दैन ।’ काठको ब्यवस्थापन नहुँदा त्यसै कुहिएर जाने र त्यसबाट राज्यले आर्थिक रुपमा ठुलो नोक्सानी बेहोर्नुपर्ने हुँदा चाँडो ब्यवस्थापन गर्नका लागि मन्त्रालयले प्रक्रिया अगाडी बढाउने मन्त्री हमालले बताए ।
काठको ब्यवस्थापन गर्न आफुले १२ वटै जिल्लाबाट यसको तथ्यांक संकलन गर्न निर्देशन दिइसकेको उनको भनाइ छ । प्रदेश सरकारले खाली रहेको जमिनमा बृक्षारोपन गर्ने योजना बनाएको हमालले जानकारी दिए । मन्त्रालयले वातावरण र भू संरक्षण गर्नका लागि धेरै काम गर्ने सोच बनाएको बताए । बृक्षारोपन गर्दा एकातिर हरियाली हुने र अर्कोतिर वातावरण संरक्षणमा टेवा पुग्ने उनको विश्वास छ ।
नेपालगन्ज–कोहलपुर, तुलसीपुर–घोराही र भैरहवा–बुटवलको सडक खण्डको बीच भागलाई हरियाली क्षेत्र बनाउने विषयमा आफुले छलफल र समन्वय गरिरहेको जानकारी दिए ।
‘त्यसमा सुझाव लिइरहेको छु, हामीले एक÷दुई महिनाको रुख लगाउने होइन, कम्तिमा पनि ५÷७ फिट अग्लो रुख लगाउने हो, वयस्क रुखहरु रोप्ने हो,’ उनले भने ‘खर्च लगभग त्यस्तै होला, एक÷दुई महिनाको रुख लगायौं भने त्यसलाई संरक्षण गर्नका लागि कम्तिमा पनि दुई लाग्छ, तर ठुलो रुख यदी हामीले लगायौं भने तीन÷चार महिनाको संरक्षणले २० महिनाको संरक्षणको खर्चलाई हामीले बचाएर हामी शत प्रतिशत उपलब्धी हासिल गर्न सक्छौं ।’
प्रदेशभित्र भू संरक्षण अन्तर्गत नदी कटान, बाढी पहिरो नियन्त्रण गर्न खालका योजना बनाउन आफु छलफलमै रहेको मन्त्री हमालले बताए ।
केहीदिन अघि आएको अविरल वर्षाले किसानको धान बालीमा ठुलो क्षति पुर्याएकोमा लुम्बिनी प्रदेश सरकार चिन्तित भएको भन्दै उनले किसानलाई प्रदेश सरकारले अवश्य पनि राहत उपलब्ध गराउने बताए ।
‘किसान दाजुभाई, दिदी बहिनीले मेहेनत गरेको धान काटेर घर भित्र्याउने क्रममा हुँदा वर्षाले क्षति गरिदिएको छ, प्रदेशको एउटा मन्त्री भएको नाताले म विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारले खुला हृदयका साथ सहयोग पुर्याउनेछ,’ उनले भने ।
पत्रकार भेटघाट कार्यक्रम युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न भएको थियो । सो क्रममा युनियनका तर्फबाट अध्यक्ष ओलीले वनमन्त्री हमाललाई गम्छा र खादा ओढाएर सम्मान गर्दै बागेश्वरी मन्दिरको फोटो अंकित मायाको चिनो समेत प्रदान गरेका थिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, पूर्व अध्यक्ष निरज गौतम, एभिन्युज टेलिभिजनका खम्ब पुन, माउन्टेन टेलिभिजनका कुशल दर्लामीले मन्त्री हमाललाई सल्लाह सुझाव समेत दिँदै केही जिज्ञासा राखेका थिए । कार्यक्रम सञ्चालन युनियन बाँकेका सचिव विजय मल्लले गरेका थिए ।