नेपालगन्ज ७ कार्तिक :
‘रमरम मरौटी
तिम्रो रुपै करौँती...’
युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजिब्रोमा स्थापित गरिदिएको छ ।
भिडियो बनाएर टिकटकमा ‘सेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । कतिपयलाई मरौटी के हो ? जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौ । गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतले मरौटी शब्दलाई जुन ओजका साथ उछालेको छ, उति नै त्यो गुणकारी पनि छ ।
युट्युबमा सार्वजनिक भएको तीन सातामै ५० लाख भ्यूज कमाउन सफल गीतमा प्रयोग गरिएको मरौटी खासमा के हो त ?
स्वास्थ्य रक्षाका लागि क्रियाशील आयुर्वेद समाजका अध्यक्ष रमाकान्त सापकोटाका अनुसार मरौटीको पञ्चाङ्ग नै (जरा, डाँठ, पात, फल र फूल) आयुर्वेदिक आषैधिमा प्रयोग हुन्छ ।
मरौटीलाई जनबोलीमा मरहट्टि र भुइँ टिमुरसमेत भनेर चिनिने गरेको उनले बताए । ‘मरौटी हल्का पिरो, टर्रो र रमरम स्वादको हुन्छ,’ सापकोटाले भने, ‘महाराष्ट्रिय सोरसलगायत आयुर्वेदिक औषधिमा यसको प्रयोग हुन्छ ।’
खोकी, शरीर, दाँत दुखाइ, मुखमा घाउ, खटिरा आउने जस्ता समस्यामा मरौटीको प्रयोग लाभदायी हुने उनको भनाइ छ । स्वासप्रस्वास र पाचन प्रणालीलाई पनि मरौटीबाट बनेको आयुर्वेदजन्य औषधिले फाइदा गर्ने सापकोटाले बताए। घरगाउँमा पेट, दाँत दुख्दा, अपच हुँदा र रुघाखोकी लाग्दा मरौटी खाने चलन छ ।
अचार र चटनीमा राख्दा मरौटीले अझ बढी स्वाद थप्छ । आयुर्वेदको तयारी औषधिबाहेक घरायसी विधिबाट पनि मरौटीको प्रयोग गर्न सकिन्छ ।
झोल बनाएर खान सकिने र शरीर दुखाइमा पात÷जरा दलेर पनि घरेलु उपचार गर्न सकिने आयुर्वेद चिकित्सक बताउँछन् । व्यावसायिक खेती नभएकाले ग्रामिण भेगमा फाटफुट्ट मात्र मरौटीको वनस्पति भेटिने गरेको छ ।
मरौटी धेरै फलेमा टिपेर सुकाएर भण्डारण पनि गर्न सकिन्छ । झट्ट हेर्दा फूलझैँ देखिने मरौटीको फल सुकेर झरेपछि त्यसैबाट नयाँ बिरुवा पलाउँछ ।
गुणकारी वनस्पति सम्झाइदिने गीत ‘रमरम मरौटी’ मा कलकार पूजा शर्मा र ओवी रायमाझीको अभिनय छ। तीन साताअघि ‘ओवी रायमाझी’ युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?