जनगणनामा तपाईलाई यी प्रश्न सोधिन्छ, ढुक्क भएर जवाफ दिनुहोस्


जनगणनामा तपाईलाई यी प्रश्न सोधिन्छ, ढुक्क भएर जवाफ दिनुहोस्

नेपालगन्ज २५ कार्तिक : १२ औं राष्ट्रिय जनगणना शुरु भएकोछ । जनगणनाका लागि तपाईको घरमा आएका गणकले सोधेको सम्पूर्ण विवरण नछुटाई, नदोहो¥याई भन्नुपर्ने हुन्छ । यो प्रत्येक नागरिकको कर्तब्य र दायित्व हो ।

जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागि ८० वटा प्रश्नसहितको प्रश्नावली बनाइएको छ । यी प्रश्नबाट नेपालको ग्रामीण र शहरी भेगमा बसोबास गर्ने जनसंख्या, उनीहरुको रोजगारीको स्थिति, वित्तीय पहुँच, उमेर आम्दानीको स्थिति, शैक्षिक अवस्था, बसाइसराइको दर लगायतका तथ्यांक संकलन गरिन्छ ।

केन्द्रिय तथ्यांक विभागले यसपटकको जनगणनाका लागि तयार पारेको केही प्रश्नावलीहरु र त्यसमा सोधिने विवरणको चर्चा यस्तो छ:

पारिवारिक खण्ड

Kanti Aarogya Hospital Nepalgunj

गणकले परिवारको मुलीको नाम, गाउँ÷टोल र सम्पर्क नम्बर माग्ने छन् । घरको स्वामित्व, जग र घर निर्माणको सामग्री, छाना र भुइँमा ओच्छ्याइएको सामग्रीको विवरण पनि संकलन गर्नेछन् । घरमा भएका विद्युतीय उपकरण, सवारी साधन तथा महिलाका नाममा घर÷जग्गा भए÷नभएको बारेमा पनि गणकहरुले सोध्नेछन् ।

त्यस्तै पछिल्लो एक वर्षमा मृत्यु भएका परिवारको सदस्यको विवरण, मृत्युको कारणसम्बन्धी प्रश्न पनि प्रश्नावलीमा राखिएको छ । दुर्घटना, सरुवा रोग, नसर्ने रोग, प्रजनन तथा प्रसूति समस्या, आत्महत्या, प्राकृतिक प्रकोप वा अन्य के कारणले मृत्यु भएको हो भन्ने विवरण जनगणनाका क्रममा संकलन गरिनेछ ।

घरमा खानेपानीको सुविधा, खाना पकाउन प्रयोग गरिने इन्धन, शौचालयको किसिमबारे पनि गणकहरुले जानकारी माग गर्नेछन् । परिवारको पेशा, कृषि वा उद्योग व्यापार के छ भन्ने विवरण पनि जनगणनाका क्रममा संकलन गरिन्छ । उद्योग वा व्यवसाय महिला वा पुरुष कसको स्वामित्वमा छ भन्ने विवरण पनि खोजिन्छ ।

व्यक्तिगत खण्ड

यस खण्डमा गणकले परिवारका सबै सदस्यको विवरण टिप्नेछन् । परिवारमा अक्सर बसोबास गर्ने व्यक्तिको नाम र थर, घरमुलीसँग उनीहरुको सम्बन्ध, जन्ममिति र उमेर, ५ वर्ष भन्दा कम उमेरका बालबालिकाको जन्म दर्ता भए/नभएको पनि टिपोट हुनेछ । जात÷जाति र पूर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा, धर्म, नागरिकता कुन मुलुकको छ र विवाहित वा अविवाहित के हो भन्ने बारेको विवरण समेत यो खण्डमा संकलन गरिन्छ ।

विवाह गरेकाहरुलाई कति वर्षमा विवाह गरेको, विवाहपछि विधुर÷विधवा भएको वा पारपाचुके भएको अवस्थाबारेको प्रश्नसमेत प्रश्नावलीमा समेटिएको छ ।

परिवारका सदस्यमध्ये घरमा नबस्ने (स्वदेश र विदेश) व्यक्ति, उनीहरु बसोबास गर्ने ठाउँको विवरण पनि जनगणनाका क्रममा संकलन गरिन्छ । विदेश गएका महिला वा पुरुष, विदेश जाँदाको उमेर, शैक्षिक योग्यता, गन्तव्य देश, विदेश गएको समय र जानुको कारण पनि गणकहरुले सोधीखोजी गर्नेछन् ।

जनगणनाका क्रममा पढ्न, लेख्न जानेको वा नजानेको, विद्यालय गएको वा नगएको, पढेको भए कुन स्तरसम्म पढेको र अध्ययनको विषय पनि संकलन गरिन्छ ।

प्रजनन् सम्बन्धी विवरण

प्रजनन् सम्बन्धी विवरण संकलन गर्दा परिवार भित्रका १५ देखि ४९ वर्षभित्रका महिलाहरुको विवरण संकलन गर्नेछ । उनीहरुले हालसम्म जन्माएका जीवित बच्चा, छोरा वा छोरी, जन्माएका बच्चामध्ये कति जनाको मृत्यु भयो र पछिल्लो एक वर्षमा जन्मिएका बच्चाको विवरण पनि गणकहरुले माग्नेछन् ।

यो खण्डमा १८ वर्ष भन्दा मुनिका बालबालिका बाबा, आमा, वा नातेदार कोसँग बसेका छन् भन्ने विवरणको साथमा अपांगतासम्बन्धी विवरण पनि संकलन गरिन्छ ।

आर्थिक क्रियाकलापसम्बन्धी विवरण

जनगणनाको प्रश्नावलीमा रहेको आर्थिक विवरणसम्बन्धी खण्डबाट व्यक्तिको मुख्य काम के हो भन्ने विवरण संकलन गरिन्छ । काम गर्ने ठाउँ वा संस्थाको नाम र त्यसले गर्ने वस्तु तथा सेवाको उत्पादनको विवरण पनि गणकहरुले खोज्नेछन् । अरुको काम गर्ने हो वा रोजगारदाता, आफ्नै काम गर्ने वा परिवारलाई सघाउने मात्र हो भन्नेबारे विवरण टिपोट गरिन्छ ।

सरकारी, वित्तीय संस्था, गैरवित्तीय, नाफा नकमाउने संस्था र घरायसी कस्तो संस्थामा काम गर्ने भन्नेबारे पनि खुलाउनुपर्छ । बेरोजगार र काम खोज्दा पनि नपाएको अवस्था भए त्यसबारेमा पनि उल्लेख गर्नुपर्छ ।

किन महत्वपूर्ण छ जनगणना ?

नेपालजस्तो देशमा जनगणना यस्तो अभियान हो, जसबाट समग्र तथ्यांक संकलन गरिन्छ । त्यो पनि हरेक घर र परिवारमै पुगेर ।

राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयाल भन्छन्, ‘भोलि टोल, वडा, गाउँको विकास गर्न कति बजेट चाहिन्छ भन्ने तथ्यांक यसै जनगणनामा आधारित भएर तयार हुन्छ ।’ यस्तो तथ्यांक आगामी १० वर्षसम्म निरन्तर प्रयोग गरिनेछ ।

संघ, प्रदेश र स्थानीय तहमा स्रोतको बाँडफाँट गर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय हस्तान्तरणको शूत्र बनाउँदा २०६८ सालको जनसंख्यालाई आधार मान्ने गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहमा समानुपातिक रुपमा स्रोतको वितरण गर्नुपर्ने माग उठिरहेका बेला सबैभन्दा तल्लो तहबाट आउने यकिन तथ्यांकले जनसंख्याका आधारमा समानुपातिक ढंगले स्रोत बाँडफाँट गर्न सहज बनाउँछ ।