‘कू’ प्रयास असफल भएपछि महाअभियोगको लागि हारगुहार, संस्थाहरू कब्जा गर्न अदालत बन्द !


‘कू’ प्रयास असफल भएपछि महाअभियोगको लागि हारगुहार, संस्थाहरू कब्जा गर्न अदालत बन्द !

नेपालगन्ज ७ मंसिर : केही बरिष्ठतम न्यायाधीश र बार सञ्चालन गर्ने बरिष्ठ अधिवक्ताहरूको प्रधानन्यायाधीशलाई असंवैधानिक ढंगले हटाएर न्यायपालिकामाथि ‘कू’ गर्ने प्रयास असफल भएपछि ‘फेस सेभ’ को बाटोमा लागेका छन् ।

न्यायपालिकामाथि ‘कू’ को प्रयास असफल भएपछि बरिष्ठतम न्यायाधीशहरू गोलाप्रथाबाट पेसी तोक्ने कुरा रोक्ने प्रयासमा लागेका थिए । तर, बहुसंख्यक न्यायाधीशहरू गोला प्रक्रियाको पक्षमा उभिएपछि बहुमत देखाएर प्रधानन्यायाधीश हटाउने उनीहरूको योजना असफल भएको छ ।

सर्वोच्च अदालत केही बरिष्ठ न्यायाधीशको इच्छाविपरीत गोला प्रक्रियामा गइसकेको छ । दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, प्रकाशमान सिंह राउत र आनन्दमोहन भट्टराईले अन्तिम समयमा पनि गोला प्रक्रियाबारे गोलमटोल कुरा गरेका थिए ।

यतिसम्मकी फुल कोर्टले गोला प्रक्रियामा जानेगरी नियमावली संशोधन गर्न सर्वोच्च प्रशासनलाई जिम्मा दिनेगरी गरेको निर्णयको माइन्युटमै दीपक कार्की र आनन्दमोहन भट्टराईले किर्ते प्रयास गरेका थिए । तर, भोलिपल्टै सर्वोच्चका मुख्य रजिष्टार लालबहादुर कुँवरबाट सो खुलासा भएपछि उनीहरू हच्किएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

केही न्यायाधीश प्रयोग गरेर सर्वोच्च अदालत चल्न नदिइ प्रधानन्यायाधीशलाई बहिर्गमन गराउने प्रयास असफल भएपछि न्यायपालिकामा ‘कू’ को प्रयास गर्ने समूह अब महाअभियोगका लागि हारगुहार गर्दै दलका ढोकामा पुगेको छ ।

बार आन्दोलनमा वकिलहरूको सहभागिता न्यून रहेको र सडकबाट प्रधानन्यायाधीश फाल्ने प्रयास असफल भएको कारण बार अब संवैधानिक प्रक्रियामा फर्किएको टिप्पणी हुन थालेको छ । महाअभियोगको लागि लबिङ गर्नु संवैधानिक बाटो हो, तर लगाउने वा नलगाउने संसदको कुरा हो ।

प्रधानन्यायाधीश हटाउने मिसनको नेतृत्व सर्वोच्च अदालतभित्र दीपक कार्की समूह र बाहिर पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ तथा बारका पूर्वअध्यक्ष शम्भु थापा तथा रमण श्रेष्ठ र हरिहर दाहालहरूको समूहले गरेको थियो । यो समूह आफूहरूले जे चाह्यो न्यायपालिकामा त्यही हुन्छ र हुनुपर्छ भन्ने मान्यता राख्छ ।

असार २८ को चर्चित परमादेशसम्म यो समूहले चाहेजस्तो भएको कारण पनि उक्सिएर उनीहरू प्रधानन्यायाधीश हटाउने असंवैधानिक बाटोमा लागेका थिए । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफू विधिभन्दा बाहिरबाट हुने कुनै पनि क्रियाकलापसामू नझुक्ने अडान लिएपछि ‘कू’प्रयास असफल भएको हो ।

सत्ता गठबन्धनका सहयात्री न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, बार र बरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीशविरुद्ध आफूहरूले हड्ताल गरेपछि गठबन्धनले संसदमा महाअभियोग दर्ता गर्ने आशा लिएका थिए । तर, महाअभियोग लगाउन एकातिर प्रधानमन्त्री शेरबहादुर देउवा नै तयार भएनन् । अर्कोतिर प्रमुख विपक्षी नेकपा एमालेले परमादेश जारी गर्ने पाँचै न्यायाधीशको बहिर्गमन आवश्यक रहेको भन्दै एकजनाविरुद्ध महाअभियोग ल्याइए अरु चारजनाविरुद्ध ल्याउने चेतावनी दियो ।

एमालेबिना सत्ता गठबन्धनको संसदमा दुईतिहाई पुग्दैन । यस्तो अवस्थामा पारित नहुने महाअधियोग ल्याएर एकपछि अर्को न्यायाधीशहरू निलम्बनमा पर्ने र तर निकास नआउने बाटोमा दलहरू जाने आँट गरिरहेका छन् ।

सत्ता गठबन्धनसमर्थित बार नेतृत्व र बरिष्ठ अधिवक्ताहरूको एउटा समूहले सोमबारदेखि दलका नेताहरूलाई भेटेर प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउन दबाब दिएको छ । बार सडकबाट प्रधानन्यायाधीशमाथि ‘कू’ गर्ने बाटो छाडेर संवैधानिक प्रक्रियामा फर्किए पनि उसको मिसन सफल नहुने निश्चित छ ।

बारले फलानो न्यायाधीशलाई महाअभियोग लगाइदेऊ भन्दैमा दलहरूले मान्नुपर्ने भन्ने छैन । उसैपनि अहिलेको बार नेतृत्व र महाअभियोग पक्षधर बरिष्ठ अधिवक्ताहरू राजनीतिकरूपमा सत्ता गठबन्धनमा सहयोगी हुन् । उनीहरूले भनेको एमालेले मान्ने सम्भावना छैन भने सत्ता गठबन्धन पनि यस्तो भाउँतोमा पर्न चाहँदैन ।

न्यायपालिकामाथि अघोषित ‘कू’ गरेर आफूले भने बमोजिम अदालत चलाउने शक्तिशाली गिरोहको प्रयास यसपटक लगभग असफल भएको छ । यद्यपी यो गिरोहले अझै पनि अदालत सहजरूपमा चल्न नदिने प्रयास भने जारी राख्ने देखिएको छ ।

पछिल्लो समय सरकारले विभिन्न स्वतन्त्र र स्वायत्त संस्थाहरूमाथि हस्तक्षेप गर्ने र न्यायका लागि अदालत जाने बाटो रोक्ने नियतले सर्वोच्च अदालत चल्न नदिइएको आशंका पूर्वमहान्यायाधिवक्ता रमेश बडालको छ ।

पछिल्लो समय सरकारले नेपाल रेडक्रस, नेपाल स्काउटदेखि विभिन्न संस्थामा हस्तक्षेप गरेर पदाधिकारी हटाउने तथा अधिवेशनहरू रोक्ने काम गरिरहेको छ । अझ अघि बढेर गैरआवासीय नेपाली संघ एनआरएन जस्तो संस्थामा समेत हस्तक्षेप गरेको छ ।

ती संस्था र पदाधिकारीहरू न्याय माग्न अदालत जान नपाउन् भनेर नियतवस गठबन्धन समर्थित बार पदाधिकारी, नेकपा एस र माओवादी समर्थित बरिष्ठ अधिवक्ता तथा पूर्व र वर्तमान न्यायाधाीशहरूको समूहले अदालतलाई बन्दी बनाएको आरोप बडालको छ ।

उनी भन्छन्, ‘परमादेशपछि जे जस्ता घटनाक्रम भइरहेका छन् ती भनेको माओवादीको नीति अनुसार सत्ता गठबन्धनले सबै क्षेत्रकमा कब्जा गर्नका लागि भइरहेका हुन् भन्ने देखिन्छ । सर्वोच्चमा कंगारु कोर्टको प्रयास र सबै संस्थाहरूमा हस्तक्षेप गरेर अदालत बन्द गरी सबैतिर कब्जा गर्ने नीतिको कार्यान्वयन अहिले भइरहेको हो कि भन्ने देखिन्छ ।’ -नेपालप्रेसबाट