नेपालगन्ज १३ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमबीच पार्टी नफुटाउने सङ्कल्प गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
आगामी मंसिर १५ देखि १७ गतेसम्म राप्रापको एकता महाधिवेशन हुदैँछ । यसअघि नै पूर्व महामन्त्री राजेन्द्र लिङदेनले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । पञ्चायती पृष्ठभूमि भएको, हिन्दूराज्य र राजसंस्थाको पक्षमा लविङ गर्दै आएको राप्रपाको अध्यक्षमा अन्य संस्थापनक नेताहरुले पनि ईच्छा देखाएका छन् ।
पशुपति शमशेर जवरा र प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षको रुपमा उठ्ने आकांक्षा देखाएपनि उनीहरुले घोषणा गरेका छैनन् । हालसम्म थापा र लिङदेनले मात्र उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै महामन्त्री र उपाध्यक्षमा धेरै आकाक्षी देखिएका छन् । हालसम्म धवल शमशेर राणा र भुवन पाठकले मात्र महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् । पटक–पटक फुट अनि एकीकरण हुँदै आएको राप्रपा पछिल्लो पटक पशुपति शमशेर र कमल थापाले २०६४ को निर्वाचनमा हार ब्यहोरापछि एकता गरेका थिए ।
यो महाधिवेशनले एकता र सद्भावको सन्देश दिनुपर्ने भन्दै थापाले राष्ट्रबादीहरुले यसलाई हेरिरहेको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै बताए । उनले हरेक महाधिवेशनपछि पार्टी विभाजन हुने तितो इतिहास अब नदोहोरियोस् भन्ने चाहेको बताए । उनले सवै महाधिवेशन प्रतिनिधिहरुलाई यसबाट फर्केर घर जादाँ राप्रपालाई कहिल्यै फुट्न नदिने शंकल्प गर्नुपर्ने बताए ।
पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई साक्षी राख्दै थापाले पार्टीको एकता कायम राख्न लाग्ने बताए । चन्द राप्रपाका एकमात्र जिवित संस्थापक अध्यक्ष हुन् । थापाले आफूलाई पशुपति शमशेरको पनि सर्मथन रहेको दाबी गरे ।
प्रकाशचन्द्र लोहनीसँग पनि आफूले भेटेर आएको भन्दै थापाले पार्टी एकताको पक्षमा अटल रहेको पाएको भन्दै सर्मथन रहेको दाबी गरे । उनले आगामी नेतृत्वको चयन सहमतिबाट गर्न योगदानको अपेक्षा गरेको बताए । २०७६ साल फागुन २६ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तका बीचमा एकीकरण भएको थियो । एकीकरणपछि पहिलोपटक मङ्सिर १५ गते राप्रपाको महाधिवेशन काठमाडौँमा हुँदैछ ।
थापाले आफ्नो ३० वर्षे राजनीतिक यात्रामा यसभन्दा अघि पार्टीभित्र कहिले पनि भोट नमागेको र उम्मेदवारी पनि नदिएको स्मरण गरे । उनले भने, ‘उम्मेदवारी नदिँदा पनि देशभरका साथीहरूबाट अत्यधिक बहुमत प्राप्त गरेँ । तर, आज उम्मेदवारी घोषणा गर्ने र भोट पनि माग्नुपर्ने अवस्था आयो । यो परिस्थितिजन्य बाध्यता हो । मैले केही असहज महसुस पनि गरिरहेको छु ।’
अर्का अध्यक्ष पशुपति शमशेर राणाले अध्यक्ष पदमा उम्मेदवारी नदिने र प्रकाशचन्द्र लोहनीले पनि पार्टी एकतामा जोड दिएका कारण महाधिवेशनमा सहमति मै नेतृत्व चयन गर्ने उनले आशा व्यक्त गरे । २०६२/६३ पछि बाहिरी शक्तिको दबाब र प्रभाव र केही दलका कारण देश धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको अघि बढेको उल्लेख गरे । देशमा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र आवश्यक रहेको पार्टीको धारणा रहेको पनि स्पष्ट पारे । संघीयतालाई देशले धान्न नै नसक्ने बताउँदै सुदृढ स्थानीय शासन प्रणालीको पक्ष राप्रपा रहेको पनि जिकिर गरे ।