ओमिक्रोन भेरियन्ट रोक्न के गर्दैछ नेपाल ?


ओमिक्रोन भेरियन्ट रोक्न के गर्दैछ नेपाल ?

नेपालगन्ज १७ मंसिर : छिमेकी भारतमा समेत कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेका बेला नेपालका स्वास्थ्यमन्त्रीले उक्त भेरियन्टलाई नेपाल आउन नदिन ‘आवश्यक सबै उपायहरू अपनाइएको’ बताएका छन् ।

उनका भनाइमा नयाँ भेरियन्टलाई समेत दृष्टिगत गर्दै खोप अभियानलाई सरकारले ‘अझ सशक्त, लक्षित समूहमुखी र तीव्र’ पार्न लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार सरकारले अहिलेलाई हङ्कङसहित अन्य आठ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

नयाँ भेरियन्टको खतरा बढेको भन्दै सरकारले शुक्रबारबाटै हङ्कङसहित अन्य आठ मुलुकबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाइसकेको जानकारी उनले दिए ।

त्यस्तै भारतमा समेत ओमिक्रोन भेरियन्ट देखा परिसकेकाले विभिन्न सीमानाकामा १६ वटा हेल्थ डेस्क राखेर एन्टिजन परीक्षण र मानिसहरूलाई क्वारन्टिनमा पठाउने व्यवस्था गरिएको उनले बताए ।
सरकारले प्रवेश रोकिएका देशहरूमा ट्रान्जिट परेका यात्रुहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे पनि काम अघि बढाइसकेको खतिवडाको भनाइ छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यस्तै शङ्का लागेका व्यक्तिलाई विशेष निगरानी गरेर थप परीक्षण गरी त्यो ओमिक्रोन भेरियन्ट हो किन हैन भन्ने पत्ता लगाउने काम पनि गर्न लागिएको स्वास्थ्यमन्त्रीले बताए । आवश्यक परेमा अन्य देशहरूबाट आउने यात्रुलाई पनि प्रतिबन्ध लगाइने तथा नेपालभित्रै लकडाउनसहित विभिन्न उपाय अपनाउनुपर्ने अवस्था पनि आउन सक्ने उनको भनाइ छ ।

नयाँ भेरियन्टलाई हुने खालका औषधि वा खोप बन्यो र त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दियो भने नेपालले विशेष प्राथमिकता दिएर किन्ने उनले बताएका छन् । तर, नेपालमा अहिले कोभिडबाट बच्ने उपायहरू अपनाउन धेरैले छाडेको भन्दै स्वास्थ्यमन्त्रीले भने, ‘अहिले नेपालमा लापरबाही बढेको छ । म सबैलाई लापरबाही नगरी कोभिडबाट बच्ने उपायहरू अपनाउन र होसियार हुन आग्रह गर्छु ।’

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म नेपालको कुल जनसङ्ख्यामध्ये ३३.३ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् । पूर्ण मात्रा खोप लगाउनेहरू भने २८.२० प्रतिशत छन् । तर, खोप दिनयोग्य जनसङ्ख्यामा हिसाब गर्ने हो भने यो विवरण निकै उच्च हुन जान्छ ।

गत माघमा खोप अभियान सुरु भएयता बिहीवारसम्म नेपालमा एक करोड ८६ लाखभन्दा बढी मात्रा खोप खपत भइसकेको छ । स्वास्थ्य सेवा विभागको जानकारीअनुसार अहिले केन्द्र र प्रदेश वितरण केन्द्रहरूमा समेत रहेको गरी नेपालमा करिब ५० लाख मात्रा खोप मौज्दात छ ।

नेपालमा अहिले पनि १८ वर्षमाथिका सबैलाई खोप लगाउने अभियान सञ्चालन भइरहेको छ । केही साताअघि सीमित मात्रामा १२ वर्षमाथिका बालबालिकालाई पनि फाइजर खोप दिइएको थियो ।

शुक्रवार पनि कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा मोडेर्नाको एक लाख ८८ हजार मात्रा खोप आउन लागेकोछ । उक्त खोप पनि फाइजरजस्तै १२ वर्षमाथि उमेरकालाई दिन मिल्ने बताइएको छ ।
माइनस १५ देखि २५ डिग्री सेल्सीअसमा भण्डारण गर्नुपर्ने उक्त खोप कसलाई र कुन क्षेत्रमा लगाइदिने भन्ने तय भइनसकेको बताइएको छ ।