नेपालगन्ज १८ मंसिरः नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज (शनिबार) ६ वटा प्रदेशमा कार्यसमिति चयन हुँदै छन् ।
लुम्बिनी प्रदेशसहित ६ प्रदेशमा नयाँ कार्यसमितिको लागि मतदान भइरहेकोछ । सदस्यता लगायतका विवादका कारण प्रदेश २ मा निर्वाचनको कार्यक्रम अघि बढ्न सकेको छैन । यद्यपी सहमतिको प्रयास भने जारी छ ।
प्रदेशसभा कार्यसमिति चयन भएसंगै प्रदेश कार्यसमितिको काम, कर्तब्य र अधिकार के–के हुन भन्ने काँग्रेस भित्र र बाहिर खुल्दुली रहेकोछ । नेपाली काँग्रेसको प्रदेश कार्यसमितिको काम, कर्तब्य र अधिकार यसप्रकार रहेकोछ :
(१) प्रदेशभित्रका जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा क्षेत्रीय कार्यसमितिबीच समन्वय गर्ने, पार्टीको हितमा आवश्यक सहयोग र निर्देशन दिने ।
(२) संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा प्रदेश भित्रका पार्टीका सबै निकायलाई परिचालन गर्ने, समन्वय गर्ने र आवश्यकतानुसार निर्देशन दिने ।
(३) प्रदेशभित्र पार्टीको हितका लागि आवश्यक सबै कार्य गर्ने, गराउने ।
(४) जिल्लाबाट प्राप्त नेपाली काँग्रेसको क्रियाशील सदस्यताको र सदस्यता नवीकरणको अभिलेख राखी केन्द्रमा पठाउने ।
(५) प्रदेश सम्मेलन, प्रदेश अधिवेशन र प्रदेश कार्यसमितिका निर्णयहरू कार्यान्वयन गर्ने, गराउने र कार्यान्वयन भए नभएको अनुगमन गर्ने ।
(६) प्रदेश सम्मेलन, प्रदेश अधिवेशन, प्रदेश कार्यसमितिको बैठक नभएको बेला आवश्यक विषयमा निर्णय गर्ने र पछि हुने प्रदेश सम्मेलन वा प्रदेश अधिवेशनमा त्यस्तो निर्णय पेस गर्ने ।
(७) प्रदेश सम्मेलन र प्रदेश अधिवेशनमा प्रतिवेदन तथा प्रस्ताव पेस गर्ने ।
(८) पार्टीको आचारसंहिता पालना गराउने र अनुशासन कायम राख्ने ।
(९) प्रदेश स्तरमा आवश्यकता अनुसार काम, कर्तव्य र अधिकार तोकी विधानमा उल्लेख गरिएका बाहेकका अन्य विभिन्न विभागहरू तथा निकायहरू गठन गर्ने ।
(१०) प्रदेश अधिवेशन र प्रदेश सम्मेलनद्वारा स्वीकृत कार्यक्रम र घोषणा पार्टीको प्रदेश सभा संसदीय दललाई उपलब्ध गराउने तथा प्रदेश सभा संसदीय दलको प्रतिवेदन प्रदेश अधिवेशन र प्रदेश सम्मेलनमा प्रस्तुत गर्ने ।
(११) धारा ३२ बमोजिम मातहत निकायबाट प्राप्त रायसहित पार्टीको तर्फबाट उम्मेदवारको नाम सिफारिस र निर्णय गर्ने ।
(१२) पार्टी प्रदेश सरकारमा सहभागी हुने वा नहुने वा कसैलाई समर्थन गर्ने वा नगर्ने सम्बन्धमा केन्द्रसँग समन्वय गरी नीतिगत निर्णय गर्ने र सरकारमा सहभागी हुने अवस्थामा केन्द्रको स्वीकृतिमा प्रदेश सरकारमा जाने मन्त्रीको मापदण्ड तयार गर्ने ।
(१३) प्रदेशभित्र संसदीय निर्वाचन र स्थानीय निर्वाचनमा पार्टीको पक्षमा प्रचार प्रसार गर्ने गराउने, पार्टीको स्थितिको मूल्यांकन गर्ने र त्यसपछि हुने प्रदेश सम्मेलनमा प्रतिवेदन प्रस्तुत गर्ने ।
(१४) प्रदेशका समस्याको समय समयमा जानकारी लिइ भ्रातृ÷शुभेच्छुक संघ–संस्था, जिल्ला र क्षेत्रीय समिति, सरकारी र गैरसरकारी सामाजिक संघ–संस्थासँग सम्पर्क राख्ने र समस्या भए समाधानका लागि आवश्यक कार्य गर्ने ।
(१५) केन्द्रका निर्णय र निर्देशनको पालना गर्ने, गराउने ।
(१६) पार्टीको उद्देश्य, नीति, कार्यक्रम, घोषणापत्र र पार्टी साहित्य आदिको व्यापक प्रचारप्रसार गर्ने, गराउने ।
(१७) समय समयमा प्रशिक्षण, गोष्ठी, शिविर र भ्रमण आदिको आयोजना गर्ने÷गराउने ।
(१८) महत्वपूर्ण अवसरमा रक्तदान, वृक्षारोपण, सरसफाइ वातावरण संरक्षण आदि रचनात्मक र समाजसेवाका कार्यक्रम गर्ने, गराउने ।
(१९) प्रदेश कार्यसमितिले आफ्नो प्रदेशभित्र तोकिएका बाहेक आवश्यकताअनुसार विभिन्न समिति, उपसमिति गठन गर्न गराउन सक्नेछ ।