को हुन राप्रपा अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देन ?

कमललाई हराउने राजेन्द्रले काँग्रेस नेता सिटौलालाई पनि हराएका थिए


को हुन राप्रपा अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देन ?

नेपालगन्ज १९ मंसिर : लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका कमल थापालाई अध्यक्षमा पराजित गरेर राजेन्द्र लिङ्देन पुनः एकपटक चर्चामा आएका छन् । राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् ।

लिङ्देन जनजाति पृष्ठभूमिबाट आएका प्रभावशाली नेताको रुपमा रहेको देखिन्छ । युवा पंक्ति उनको पक्षमा छ । त्यतिमात्रै होइन, पूर्वराजा ज्ञानेन्द्रको समर्थन उनैलाई भएको चर्चा सर्वत्र सुनिन्छ । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको पृष्ठभूमिबाट आएका लिङ्देन पञ्चायतकालदेखि नै सक्रिय हुन् । उनी पञ्चायतको उत्तराद्र्धमा विद्यार्थी राजनीतिमा थिए । ०४६ सालपछि अनवरत यो पार्टीमा लागेका उनी झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएर चर्चित बनेका थिए ।

लिङ्देनको जन्म भने वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा भएको थियो । उनको राजनीतिक यात्रा २०३६ सालबाट सुरु भएको थियो । २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा उनी आवद्ध भएका थिए ।

२०४७ सालमा राप्रपाको झापा जिल्ला सचिव बने । २०४९ सालमा राप्रपाको विद्यार्थी संगठन (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन) बन्दा उनी संस्थापक अध्यक्ष बने । २०४७ पछि स्थापित राप्रपाको जिल्ला तहको पदाधिकारीदेखि २०६६ सालमा पार्टी केन्द्रीय सदस्य र त्यसपछि महामन्त्रीको रुपमा उनी कार्यरत रहे ।

Kids Festival 2022
kanti aarogya hospital

पिता मानप्रसाद र माता धनकुमारीका छोरा लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकसम्म अध्ययन गरेका छन् । स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका उनी वि.सं. २०६१ देखि २०६३ सम्म जिविस झापाको सभापतिसमेत बने ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि चर्चामा रहे । लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भएका हुन् ।

राजनीतिक आन्दोलनको क्रममा पटक–पटक हिरासतमा बिताएका उनी २०३८ र २०४७ सालमा दुई पटक जेल परेका थिए । ९ महिनाभन्दा बढी समय बन्दी जीवन बिताएको उनी बताउँछन् । आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रुपमा परिचित गराउन चाहने लिङ्देन युवा पुस्तामा लोकप्रिय मानिन्छन् ।

सारमा, यो महाधिवेशन राप्रपाको बुढो पुस्ताका लागि चुनौतीपूर्ण देखिन्थ्यो । पञ्चायतमा अनवरत सक्रिय व्यक्तिहरुले तीन दशकभन्दा बढी राप्रपाको बागडोर सम्हाल्दा यो पार्टी गतिशील हुन नसकेको भन्दै युवा पुस्ता नेतृत्व लिन तम्सेको छ भने पुराना पञ्चहरु हच्के ।

राप्रपाले विधान संशोधन गरेर निर्देशन समितिको प्रावधान राखेर आफ्नो भूमिका सुनिश्चत गरेबाट पनि नया नेतृत्वको दवदबा हुने सक्ने आंकलन गरिएको थियो । राप्रपाले विधान संशोधन गर्दै केन्द्रीय अध्यक्ष, पुराना अध्यक्ष, प्रधानमन्त्री भइसकेका व्यक्तित्व रहने केन्द्रीय निर्देशन समिति गठनको प्रावधान पनि राखेको थियो । फलस्वरुप राप्रपाको एकता महाधिवेशनको अन्तिम परिणामले त्यो देखायो ।