चितवनबाट बाघ गणना शुरु, ४ करोड खर्च हुने

बाघ पाइने देशका पाँच स्थानमा ६ सय क्यामेराबाट बाघको फोटो खिचिने


चितवनबाट बाघ गणना शुरु, ४ करोड खर्च हुने

File Photo

नेपालगन्ज १९ मंसिर : आजबाट बाँके लगायत देशभरका ५ वटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गरिदैँछ । नेपालका राष्ट्रिय निकुञ्जमा रहेका बाघको संख्या र अवस्था विश्लेषण गर्न बाघ गणना गरिन लागेको हो । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट बाघ गणना शुभारम्भ गरिएको हो । यद्यपी अन्य क्षेत्रको बाघ गणना मिति तय भएको छैन ।

देशभरका पाँच निकुञ्जमा बाघ छन् । बर्दिया, चितवन, पर्सा र शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको गणना गरिदैछ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गरिरहेकोछ ।

क्यामेरा ट्रयापिङ विधिबाट देशभरका बाघ गणनाका लागि तीन वटा कम्प्लेक्स बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । नियमितरूपमा गरिने गणनाले बाघको वास्तविक अवस्था थाहा हुने र त्यसले संरक्षण तथा व्यवस्थापन प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।

नवलपरासीको त्रिवेणीदेखि दाउन्नेबाट पूर्व रौतहटको बागमतीसम्मको वन क्षेत्रलाई एउटा कम्प्लेक्स मानिएको छ । बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रलाई अर्को कम्प्लेक्स मानिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

तेस्रो कम्प्लेक्स शुक्लाफाँटा क्षेत्र रहनेछ । गणना राष्ट्रिय निकुञ्ज मात्रै नभई बाघको बासस्थान मानिने राष्ट्रिय वनमा पनि गरिनेछ । पूर्वको इलामदेखि पश्चिम डडेल्धुरासम्मै क्यामेरा राखेर बाघको गणना गरिने विभागले जनाएकोछ ।

बाघ गणनाका लागि चितवन–पर्सा कम्प्लेक्सलाई तीन वटा ब्लकमा विभाजन गरिएको छ । चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ती तीन ब्लकमा ८ सय ७५ वटा ग्रीड बनाइनेछ । त्रिवेणी–दाउन्ने–सौराहा (पहिलो ब्लक)मा २ सय ८५, सौराहा–मनहरी (दोश्रो)मा ३ सय १० र मनहरी–बागमती (तेश्रो)मा २ सय ८० वटा ग्रीड रहनेछन् ।

४ वर्ग किलोमिटर क्षेत्रफलका यी सबै ग्रीडमा दुई÷दुईवटा क्यामेरा जडान गरिनेछ । देशभरमा एक हजार ९ सय बढी ग्रीडमा ३ हजार ३ सय बढी क्यामेरा प्रयोग गरिने छ ।

बाघको आवतजावत हुने सम्भावित स्थानमा दुईतर्फ एक–एक वटा क्यामेरा जोडिनेछ । त्यो क्यामराले बाघको फोटो खिच्नेछ । तीन वटा ब्लकमा पालैपालो क्यामेरा जडान गरेर बाघको रेकर्ड लिइने छ ।
ब्लकमा १३ वटा समूह बनाएर काम गरिनेछ । आवश्यकताअनुसार हात्ती, गाडी, मोटरसाइकलको प्रयोग गणनामा हुनेछ । गणनाका लागि क्यामेरालाई १५ देखि २१ दिनसम्म एकै ठाउँमा राखिनेछ ।

पाटेबाघलाई उसको शरीरमा हुने पाटाबाट पहिचान गर्न सकिन्छ । हरेक बाघको पाटा फरक–फरक हुने भएकाले क्यामेरामा कैद फोटोलाई म्याच गरेर दोहोरिएको पत्ता लगाउन सकिनेछ । चितवन–पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि एक सय जना खटिनेछन् । उनीहरूलाई शुक्रबार र शनिबार तालिम दिइएकोछ । गणनामा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, विज्ञहरू, इन्ट्रन विद्यार्थीहरु सहभागी रहेकाछन् । आवश्यकताअनुसार नेचर गाइडलाई पनि सहभागी गराउने तयारी छ ।

देशभर बाघ गणनाका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । यसमा नेपाल सरकारको ८४ लाख रुपैयाँ खर्च हुनेछ । बाँकी राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जुलजिकल सोसाइटी अफ लण्डन(जेडएसएल)ले खर्च गर्नेछन् । कोषले आवश्यक प्राविधिक सहयोग गर्नेछ ।

सन् २०१८ मा देशभर गरिएको गणनामा २ सय ३५ वटा बाघ भेटिएका थिए । चितवन निकुञ्जमा ९३, बर्दिया निकुञ्जमा ८७, पर्सा निकुञ्ज र आसपासमा १८, बाँके निकुञ्ज र आसपासमा २१, शुक्लाफाँटा र आसपासमा १६ वटा वयस्क बाघ भेटिएका थिए ।

सन् २०१३ को गणनामा चितवनमा १२० वटा बाघ भेटिएकोमा ०१८ मा २७ वटाले घटेका थिए । शुक्लाफाँटामा पनि बाघको संख्या एउटाले कम भेटिएको थियो । २०१३ मा देशभरमा बाघको संख्या १ सय ९८ थियो । ५ वर्षपछिको गणनामा चितवन र शुक्लाफाँटा क्षेत्रमा घटे पनि अन्यत्र बढेका थिए ।

नेपालमा सन् १९९५–९६ मा वयस्क बाघको संख्या ९३ देखि ९७ वटा रहेको अनुमान गरिएको थियो । सन् २००९ मा भएको गणनामा देशभरमा १२१ वटा पाटेबाघ भेटिएका थिए । सन् २०१० मा भएको विश्व बाघ सम्मेलनले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउने लक्ष्य निर्धारण ग¥यो । सोहीअनुरूप नेपालले पनि बाघको संख्या सन् २०२२ सम्ममा २५० पु¥याउने लक्ष्य लिएको छ ।

बाघको बासस्थान, आहारा प्रजाति विस्तारमा सफलता मिल्दै गएकाले बाघको संख्या लक्ष्यअनुसार वृद्धि हुने अनुमान गरिएकोछ । विश्वका १३ वटा देशमा पाटे बाघ पाइनेमा नौमध्ये तीन प्रजाति लोप भइसकेका छन् । नेपालमा पाइने पाटेबाघ भारत, भुटान र बंगलादेशमा मात्रै पाइन्छ । विश्वमा ७० वर्षअघि एक लाखको संख्यामा रहेको बाघ सन् २०१० मा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको थियो ।