नेपालमा २ जनामा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन


नेपालमा २ जनामा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

नेपालगन्ज २० मंसिर : नेपालमा दुई जना व्यक्तिमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भेटिएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जना व्यक्तिमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भएको पुष्टि गरेकोछ ।

सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो ।

एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

दुबै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए । गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

तर, कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो । त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ‘जिन सिक्वेन्सिङ’ विधिबाट परीक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कन्ट्याक्ट ट्रेसिङ गर्दा ६६ जनाको नतिजा नेगेटिभ

हाल दुबै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा छन् । हाल उनीहरुमा कुनै लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । ती दुई व्यक्तिहरुसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको छ ।

२४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा कोरोनाको उत्परिवर्तित भाइरस ओमिक्रोन पहिलोपटक पहिचान भएको थियो । यो भेरियन्ट हालसम्म ३५ भन्दा बढी देशहरूमा फैलिइसकेको छ । हालसम्म प्रयोग हुँदै आएको कोरोनाविरुद्धको खोपको प्रभावकारीता ओमिक्रोनमा हुने वा नहुनेभन्नेबारे स्पष्ट भइसकेको छैन । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ ।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एशियामा ओमिक्रोनको उच्च जोखिम छ । छिमेकी मुलुक भारतसहित दक्षिण एशियाका केही देशहरुमा समेत यो भेरियन्ट पुष्टि भैसकेको छ ।