काँग्रेस महाधिवेशन : १३४ कार्यसमितिका लागि ५४८ जनाको उम्मेदवारी

सभापती र महामन्त्रीमा ६–६ जनाको उम्मेदवारी


काँग्रेस महाधिवेशन : १३४ कार्यसमितिका लागि ५४८ जनाको उम्मेदवारी

नेपालगन्ज २५ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका छन् ।

नयाँ कार्यकालका लगि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारी परेको हो । त्यसैगरी सभापतिमै कल्याण गुरुङ र गोरखाका युवराज न्यौपानेले पनि उम्मेदवारी दिएका छन् ।

इतर समूह विभाजित भएपछि देउवालाई सजिलो भएको छ । देउवाले काँग्रेस सभापतिका लागि तेस्रो धारका कृष्ण सिटौलाको साथ लिएका छन् । त्यस्तै उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन् ।

गच्छदार र खड्का देउवाको प्यानल, गुरुङ र भण्डारी कोइरालाको प्यानल, सुजाता कोइराला प्रकाशमान सिंह प्यानल र दिव्यश्वरी शाहले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

महामन्त्रीमा डाक्टर प्रकाशशरण महत, प्रदीप पौडेल, डाक्टर मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डाक्टर राजाराम कार्कीले मनोनयन दर्ता गराएका छन् । महत र पौडेल सभापति देउवा, रिजाल र थापा कोइराला, शर्मा प्रकाशमान सिंह र कार्कीले निधि प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

त्यस्तै ८ सहमहामन्त्री पदका लागि २० जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसंख्यक क्लस्टरबाट एक एक जना निर्वाचित हुनेछन् ।

देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन् ।

शेखर कोइराला समूहबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा यीबाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालले पनि उम्मेदवारी दिएका छन् ।

त्यस्तै खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।

महिलातर्फको खुला ९ पदका लागि ३१ जना, दलिततर्फ ९ पदका लागि ३९, आदिवासी जनजाति १५ पदका लागि ८७ जना, खस आर्य १३ जनाका लागि ९३ जना, मधेसी ९ जनाका लागि ३२ जना, थारु ४ जनाका लागि १४ जना, मुस्लिम ३ जनाका लागि १६ जना, पिछडिएको क्षेत्रको १ पदमा २ जना, अल्पसंख्यक १ पदका लागि ६ जना र अपांग १ पदका लागि १६ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै प्रत्येक प्रदेशबाट निर्वाचित हुने ३ केन्द्रीय सदस्य पदका लागि प्रदेश १ बाट १३, प्रदेश २ मा ५, बागमतीमा ९, गण्डकीमा ७, लुम्बिनीमा ११, कर्णालीमा ७ र सुदूरपश्चिमबाट १२ जनाको उम्मेदवारी परेको छ ।

पदाधिकारीमा १ जना सभापति बाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री चयन हुनेछन् । १ कोषाध्यक्ष भने केन्द्रीय सदस्य मध्येबाट १ जनालाई सभापतिको सिफारिसमा केन्द्रीय समितिले चयन गर्नेछ । पदाधिकारीमा सभापतिका लागि ६ जना, उपसभापतिका लागि ७ जना, महामन्त्रीका लागि ५ जना र सह–महामन्त्रीका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।