नेपालगन्ज २७ मंसिर : नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेका ५ मध्ये २ उम्मेदवारको खुबै चर्चा चुलिएकोछ । चर्चामा छन् वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला । काँग्रेसको नयाँ नेतृत्वका लागि सोमबार मतदान भएकोछ । मतदान पछि मंगलबार मतगणना गरिने निर्वाचन समितिले जनाएकोछ ।
महाधिवेशनको सरगर्मीकाबीच अबको काँग्रेस पार्टी सभापति कसले बाजी मार्छ भन्ने आम चासोको विषय भइरहेकोछ । यद्यपी आ–आफ्नै अड्कलबाजी भइरहेकाछन् । यही अडकलबाजी र चर्चाकाबीच नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा खुबै चर्चामा रहेका सभापति पदका उम्म्ेदवारद्वय देउवा र कोइरालाको राजनीतिक पृष्ठभूमी र संक्षिप्त परिचय यसप्रकार रहेकोछ ।
शेरबहादुर देउवा
शेरबहादुर देउवाको जन्म विसं २००३ जेठ महिनामा डडेलधुरामा भएको हो । उनी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दोस्रो अध्यक्ष बनेका थिए । देउवाले नेविसंघमा करिब १० वर्ष (२६–३६) नेतृत्व गरे । पार्टी राजनीतिमा सुरुमा गिरिजाप्रसाद कोइरालाले अघि बढाएका देउवाले पार्टीको १० औं पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिएका थिए ।
२०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्मेदवारी दिए र पराजित भए । ०५९ मा देउवाको नेतृत्वमा काँग्रेस विभाजन नेपाली काँग्रेस प्रजातान्त्रिक बनेको थियो । उक्त पार्टीको ११ औं महाधिवेशनमा उनी सर्वसम्म सभापति चयन भए ।
०६४ मा देउवा नेतृत्वको पार्टीले काँग्रेससँग एकता गर्यो । एकतापछिका १२ औं महाअधिवेशनमा देउवा पराजित भए । तर, ०७२ सालमा भएको तेह्रौँ महाधिवेशनमा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा काँग्रेसको पार्टी सभापतिमा निर्वाचित भएका थिए ।
काँग्रेस प्रजातान्त्रिकको गरी ३ पटक पार्टीको नेतृत्व गरेका देउवा फेरि सभापतिको मैदानमा उत्रिएका छन् । ५ औं पटक प्रधानमन्त्री भएर देउवाले अहिले मुलुक हाँकी रहेको अवस्था छ । समीकरण निर्माणमा खप्पिस देउवाले काँग्रेसको पहिलो, दोस्रो, तेस्रो र चौंथो पुस्ताको टीम बनाएर १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराए । पहिलो पुस्ताका उनी दोस्रो पुस्ताका विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, तेस्रो पुस्ताका प्रकाश महत र चौथो पुस्ताका प्रदीप पौडललाई पदाधिकारीमा समेटेका छन् ।
डाक्टर शेखर कोइराला
बुवा केशवप्रसाद कोइराला र आमा नोना कोइरालाका छोरा डाक्टर शेखरको जन्म कोइरालाको जन्म २००७ भदौ ९ गते विराटनगरमा भएको हो । चिकित्सा पेसामा पेन्सन प्राप्त गर्न एक वर्ष मात्र बाँकी रहँदा ०५१ बाट शेखर पूर्णकालीन राजनीतिमा होमिए ।
राजनीतिक परिवारमा जन्मिएका शेखर नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा ११ औं महाधिवेशनबाट प्रवेश गरेका थिए । १३ औं महाधिवेशनमा लोकप्रिय मतका साथ एक नम्बरमा उनी सदस्य निर्वाचित भएका थिए ।
पार्टी वरीयतामा ३५ औं नम्बरमा रहेका शेखरको अहिलेसम्म पार्टी पदाधिकारी र मन्त्री पदमा प्रवेश भएको छैन । पार्टी पदाधिकारी नै नभई उनी सिधै सभापतिको उम्मेदवार भएर मैदानमा उत्रिएका छन् ।
शेखरलाई वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाको समर्थन छ । यद्यपि उम्मेदवारी दर्तामा शेखरका साथमा उनीहरु देखिएनन् । यता काँग्रेसको चर्चित युवा पंक्ति पनि शेखरको साथमा छ । गगन थापादेखि धनबहादुर गुरुङ, चन्द्र भण्डारी हुँदै बन्द्री पाण्डेसम्म शेखरको टीममा समेटिएका छन् । उर्जावान टीम बोकेर उनी सभापतिको दौडमा उत्रिए । पौडेल समूहबाट सिंह र सुजाता अलग्गिए पनि डाक्टर शेखर पूर्ण टीम तयार पार्न सफल भए ।