सिमान्तीकरणको चपेटामा हिमाली आदिवासी


सिमान्तीकरणको चपेटामा हिमाली आदिवासी

डोल्मा शेर्पा

नेपालगन्ज ४ पुष : नेपाली समाजमा झै आदिवासी जनजातिहरुमा पनि विविधता रहेको पाइन्छ । यस्तो विविधता हिमाली आदिवासी जनजातिमा पनि कायम रहेको छ । ‘हिमाली क्षेत्रमा करिब १८ वटा जातिहरु छन । अरुले हेर्दा एकै किसिमको लागे पनि हामी फरक हौ ।’ नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष चिङछिपा ल्होमीले भनिन्– ‘तराई तिरका धिमाल, मेचे, राजबंंशी, किसान, उरावलगयतका समुदायलाई एकै हो भन्ने धारणा रहे जस्तै हामी हिमालमा बस्ने बख्खु लगाउनेहरु एकै ठान्छन् । तर हामी एकै होइनौ । हाम्रो परिचय र पहिचान फरक छ ।’

हिमाली आदिवासीहरुमा सबैभन्दा धेरै जनसंख्या भएको जाति शेर्पा हो । हिमाली क्षेत्रमा आदिवासीहरुमा शेर्पा लगायत नेपाल सरकारले सूचिकरण गरेको १८ आदिवासी जनजाति रहेका छन् ।

पश्चिमी हिमाली क्षेत्रमा बसोबास गर्ने व्याँसी होस वा डोल्पो, पूर्बी क्षेत्रका तोप्केगोला होस वा वालुङ सबैको फरक भूभाग, फरक थातथलो रहेको छ । यसरी नै बाह्रगाउँले, भोटे, छैरोतन्, लार्के, ल्होपा, ल्होमी सिंङ्सावा, मार्फाली, मुगाली, सियार, थकाली, ताङ्वे, थुदाम, तीन गाउँले, तोप्केगोला आदि जाति हिमाली क्षेत्रका बासिन्दा हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘हिमाली सबै आदिवासीहरुको मातृभाषा मुख्य स्रोत तिब्बती भोटबम्रेली परिवारबाट आएको हो । तर, हाम्रो एकअर्काको भाषा चाहि एकदमै फरक छ त्यहि भएर पनि हाम्रो एउटा छुट्टै जाति पहिचान हुन गएको छ ।’ नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष ल्होमीले थपिन्–‘ हाम्रो भेषभुषामा पनि बख्खु देखि गरगहनामा फरक छ । संस्कृतिहरु पनि फरक छन् । विवाह, मृत्युसंस्कार तथा न्वारानमा गरिने संस्कारहरु पनि १८ आदिवासीमा फरक छ ।’

ल्होमी सिंसवाहरु संखुवासभा जिल्लाको हिमाली उच्च भूभभागमा बसोबास गर्ने जाति भएको जानकारी दिदैँ ल्होमीले आफनो जातिको गौरुङ ङोरिम्बा भन्ने परम्परागत प्रथाजन्य संस्था कायम रहेको दावी गरिन् । उनका अनुसार ल्होमी बहुल क्षेत्रमा वर्षमा एक पटक गौरुङ ङोरिम्बा छान्ने गरिन्छ । यो प्रथाजनित संस्था हो । यस संस्थाले सूचना तथा सामाजिक सुव्यबस्थाको काम गर्ने उनको भनाइ छ ।

हामी भोटे हौं

हिमाली आदिवासीहरुमा भोटे जाति पनि सूचिकृत रहेको छ । तर, आफ्नो नागरिकतामा गुरुङ तथा कसै–कसैको लामा लेखिएकोले भ्रममा परेको नेपाल भोटे जनजाति सेवा समितिका अध्यक्ष गंभीर सिङ गुरुङको अनुभव छ ।

‘भाषा फरक, रीतिरिवाज, संस्कृति तथा ऐतिहासिकताका आधारमा मात्र आदिवासीको सूचिकृत हुन्छ । हिमाली भेगमा बसोबास गर्ने भोटे पनि सूचिकृत भएकाले ५९ आदिवासी मध्येका एक हौं ।’ नेपाल भोटे जनजाति सेवा समितिका अध्यक्ष गुरुङले थपे –‘हामी गुरुङ लामा, कार्की जे लेखे पनि हामी शुद्ध भोटे नै हो । नागरिकतामा हामीलाई गुरुङ लेखि दिएको मात्र हो । तर, हामी भोटे हौँ ।’

उनले नागरिकतामा भोटे जाति लेखि दिन पनि सरकारलाई आग्रह गरे । नेपाल आदिवासी जनजाति महासंघ मार्फत यो बिषयमा पटकपटक सरकारलाई आग्रह गरेको भए पनि प्रकृया अगाडि नबडेको उनको दावी छ ।

पशुपालन र व्यापार गर्ने मूल पेशा अपनाएका भोटेहरुको बसोबास अछाम, डोटीलगायतमा रहेको छ । भोटेहरुले बोकटी, कुँवर, कार्की जात लेखेर नागरिकता पाएका छन् । कुनै कालक्रममा भोटे शब्द अपमानित ठानेको भए पनि अहिले आदिवासीमा सूचिकृत भएपछि गौरवको अनूभूति गर्ने गरेको भोटे अगुवाहरुको कथन छ ।

फरक आध्यात्मिक परम्परा

हिमाली आदिवासीहरुमा सियार समुदाय अर्को जाति हो । गोरखा जिल्लाको चुम उपत्यका उनीहरुको परम्परागत थातथलो हो । चुम उपत्यकालाई नै सियार समुदायको उद्गम थलो मानिन्छ । सियार समुदाय चिनको तिब्बतको सीमानामा बसोबास गर्ने जातिका रुपमा पनि चिन्न सकिन्छ । गोरखा जिल्लाबाट ५० किमी टाढा पर्ने चुम उपत्यका अति दुर्गम क्षेत्रमा पर्छ ।

‘सियार जाति सबैजना बौद्धमार्गी हुन् । यहाँको आफ्नै परम्परा पनि रहेको छ ।’ सियार समाज कल्याण केन्द्रका अध्यक्ष निमा लामाले भने –‘हाम्रो परम्परा र संस्कृति विशेष खालको छ । पानी नपरेको अवस्थामा प्रकृतिको पुजा गरेर पानी पार्ने प्रचलन छ । कुनै बेला पानी धेरै परेको खण्डमा पुजा गरेर मौसम सफा गर्ने तान्त्रिक विधि गाउँघरमा अझैँ कायमै छ । कोरोना महामारी समयमा पनि हाम्रो गुम्बामा शान्ति पुजा र प्रकृतिक पुजाहरु गरिएको थियो ।’

पूर्बको ताप्लेजुङ जिल्लाको उत्तरी भेगमा बसोबास गर्ने वालुङहरु पनि हिमाली आदिवासीहरुमा फरक पहिचान कायम भएको छ ।

‘भौगोलिक दृष्टिकोणले पनि वालुङ आदिवासी जनजातिहरु पृथक तरिकाले बसोबास गरिरहेका छौ ।’ वालुङ सेवा समाजका अध्यक्ष सोनाम लामाले भने–‘जस्तै हाम्रो वालुङ बस्तीमा पनि हामी वालुङ बाहेक अरु समुदायको उपस्थिति न्यून छ । हामी कोही नयाँ मान्छे आएको खण्डमा उसलाई फरक तरिकाले स्वागत गर्ने गर्छौँ ।’

हिमालय पर्बत श्रृखलासंगै जिविका चलाइरहेका हिमाली आदिवासी जनजाति नेपालको उत्तरी सीमाको रखवारी गर्दै त्यहाँको प्राकृतिक सम्पदा, विशिष्ट ज्ञान प्रणालीलाई बचाएका छन् । उनीहरुको फरक प्रथा, परम्परा र प्रथाजन्य मान्यताका आधारमा जिविकालाई सहज बनाएका छन् ।

यी जातिहरुको राज्यमा समाबेशीकरण तथा उनीहरुको साँस्कृतिक संरक्षणको पाटोमा भने कम ध्ष्यान दिने गरेको गुनासो छ । आदिवासी भनेर मात्र हुँदैन सीमान्त भूमिमा बस्ने सिमान्तीकरणको चपेटामा बस्ने आदिवासीहरुमा राज्यको उपस्थिति न्यून भएर नै राज्यको सेवाबाट बञ्चित बनेका छन् । (साभारः इन्डिजिनियस फिचर सेवा)