एकिकरणका जनक पृथ्वी नारायण शाह


एकिकरणका जनक पृथ्वी नारायण शाह

महाराजाधिराज पृथ्वीनारायण शाह (१७२३–१७७५) नेपालराज्यका प्रथम शासक थिए भने गोर्खा राज्यका अन्तिम । आजको नेपाल पृथ्वीनारायणकै सपना हो, उनकै देन हो भन्नुमा अत्युक्ती नहोला । कतिपय स्थानबिशेष, समुदायबिशेषका ब्यक्तीहरु अहिले आएर उनको काममा औँला उठाउँछन् तर, पनि एउटा कुरो के सत्य हो भने उनी नेपाल एकिकरणका सच्चा नायक हुन, त्यसैले उनी पृथ्वीनारायण हुन्। पृथ्वीनारायण शाहले गरेको एकिकरण पुर्व नेपालमा थुप्रै राज्यहरु थिए । पुर्वतर्फ मकवानपुर, बिजयपुर र चौदन्डी थिए भने पश्चिमतर्फ गोर्खादेखि गण्डकीसम्म २४ राज्यहरु थिए, कर्णाली लगायत पश्चिमतर्फ कल्यान, समाल, शाही तथा चन्दहरुको राज्य थियो ।

गोर्खा, मुस्ताङग, भक्तपुर, कान्तिपुर एवम ललितपुर त छँदै थिए । बालचन्द्र शर्माको नेपालको ऐतिहासिक रुप–रेखाका अनुसार हठी स्वभावका पृथ्वीनारायण आफ्नो पहिलो बिवाह मकवानपुरका राजा हेमकर्ण सेनको छोरी ईन्द्रकुमारी सित हुँदा दुलहीसँगै नआउने कुरो थाह पाएर बिदाबारी नै नभएर हिँडेका थिए । उनको दोश्रो बिवाह बाराणसीका राजपुत अहिमान सिँहकी छोरी नरेन्द्र लक्ष्मीसँग भएको थियो । पछि उनका भाईहरुको पनि यसै परिवारमा बिवाह भएको थियो ।

ईसं १७४२ मा आफ्ना पिता नरभुपाल शाहको देहावसान पस्चात महत्वाकाँक्षी पृथ्वीनारायण २० वर्षकै उमेरमा गोर्खा राज्यको गद्दीमा बसेका थिए । यसभन्दा अघि नै उनले पिताका दुतका रुपमा काठमाण्डौ खाल्टोको भ्रमण तथा भादगाउँले युवराज बीरनर सिँहका साथ मितेरी लाएर कुटनितिक चाल चलिसकेका थिए । काठमाण्डौ खाल्डोका तीन शक्तिशाली राज्यहरुलाई एकैसाथ पराजय गर्न कठिन पर्ने भएकोले ईनको यो एक दूरदर्शी चाल थियो भनेर भन्न सकिन्छ । उनको हठी स्वभावले गर्दा उनको एउटा बिचित्रको चरित्र देखिने कुरा ईतिहासकारहरु उधृत गर्दछन् ।

दोश्रो पटक आफ्नी पहिलो रानी ईन्द्रकुमारीलाई गोर्खातर्फ लिएर आउन हरिहरपुर नजिकैको गढीमा उनले देखाएको तमाशा र हेमकर्ण सेनका पुत्रहरुसँग हुन लागेको युद्ध पनि एउटा प्रमाणले उनलाई क्रोधी र पछिको धेरै नसोचेर हात हालि हाल्ने राजाको रुपमा पनि चित्रण गर्दछ । हेमकर्णका सिपाहीहरुले जुत्ता नखोलेर सलाम गरेकोमा उनले बबण्डर खडा गरेका थिए । पृथ्वीनारायण शाहले नेपाल ऐकिकरण गर्नुको पछाडी उनको महत्वाकाँक्षा त पक्कै थियो भने उनले गरेको यस कार्यले दूरगामी रुपमा सकारात्मक अथवा नकारात्मक सँदेश दियो भन्ने कुरोमा बहस हुनसक्दछ ।

Kids Festival 2022
kanti aarogya hospital

तत्कालिन समयमा ईण्डियाका अधिकाँश राज्यहरु मुगलहरुको कब्जामा अनि तिनको र अन्य गैरमुगल राजाहरुको स्वामित्वबाट बिस्तारै ईष्ट ईण्डिया कम्पनीको हातमा बागडोर आउँदै गर्दाको अवस्थामा नेपाल ऐकिकरण नभएको भए हुनसक्थ्यो हामीलाई पनि अङ्रेज हुकुमतले कुर्लुम्म पार्न सक्थ्यो ?

ससाना राज्यहरु अहिलेसम्म अस्तित्वमा रहन सक्थ्यो होला त ? रहि हालेको भए के ति आजका कतिपय गाउँहरुको जत्रो क्षेत्रफल भएका ति राज्यहरुको अवस्था के हुन्थ्यो होला ?

के पश्चिमतर्फबाट ईण्डियामा जुनै हालतमा पनि अङ्ग्रेजी झण्डा फहराउँछौ भनेर आएका ब्रीटिसहरुले बिस्तारै–बिस्तारै हाम्रा बाईसे–चौबिसे र अन्य सबैलाई त्यस्तै छोड्थे होलान ?

आज ऐकिकरणपछिका हामीलाई, तत्कालिन अवस्थाको आफ्ना पुर्खाहरु बसोबास गर्ने आआफ्नो राज्यप्रति सहानुभुती पक्कै हुनसक्छ ? तर, त्यसले वर्तमानलाई सुनिस्चित पक्कै गर्दैन थियो होला ।

उदाहरणको रुपमा कर्णालीपारीका डोटी क्षेत्रका राज्यहरुमा पृथ्वीनारायण शाहको महत्वाकाँक्षी योजनापछि उनका पुत्र बहादुर शाहले स्थानीय शासकहरुलाई परास्त गर्दै मुग्लान लगायत यत्रतत्र भाग्नबिवश बनाए, पढ्दा सुन्दा एउटा डोटेलीको रुपमा क्रोध उठनसक्छ, एउटा डोटेलीको रुपमा कसैकसैलाई यो सह्य नहुन पनि सक्छ, तर, हामी एकिकृत नभएको भए समुद्रपारबाट आएका अङ्ग्रेजहरुले हामीलाई ध्वस्त पार्ने थिए भन्ने कुरो पनि हामीले स्विकार गर्नैपर्छ । हामी कुनै हालतमा पनि सामरिक दृष्टीकोणले अङ्ग्रेज भन्दा सबल थिएनौँ, यो पनि बुझ्नु जरुरी हुन्छ।

युद्धमा मानवता ह्रास पनि हुन सक्दछ, क्रुरताले आधिपत्य गरेको पनि हुन सक्दछ, परापुर्वकालदेखिको तथ्य बिश्लेषण गरेर हेर्दा कहिले हाम्राले कहिले अरुले जितेको हुन पनि सक्दछ, तर यो भन्दैमा आज हामीले नेपाली भाईचारा देखाउन्, नेपाली हौँ भनेर गौरव गर्न पाएका छौँ भनेर बिर्सनु पनि हुँदैन ।

आजको राजनैतिक अवस्था र अन्य थुप्रै कारणले हामी अरुभन्दा पछाडी परेको दोषारोपण बडामहाराजधिराज पृथ्वीनारायणलाई लगाउनु बुद्धीमानी हुँदैन । उनले त महान ऐकिकरणको काम गरेका थिए, नव नेपालको जग बसालेका थिए, हाम्रो राष्ट्रियतालाई अक्षुर्ण राखेका थिए, उनले ग्रेटर नेपालको जग बसालेका थिए । जसलाई पछिल्ला शासकहरुले टिस्टादेखि काँगडाको रुपमा बचाएर राख्न सकेनन भन्नुपर्दछ ।

प्रश्न फेरी उठन सक्दछ, कि बर्तमान समयमा गणतन्त्रको उदगार भईसकेको अवस्थामा अन्य राजाहरु सरह पृथ्वीनारायणलाई हेर्ने किन हेर्ने ? म त भन्छु, नहेर्ने । किनभने उनी यस मुलुकका सर्वमान्य बिभुती हुन, उनी बाईसेचौबिसे राजा भन्दा माथि उठेर एकिकृत नेपालको परिकल्पनाकार हुन, उनी आजको संततीका साँच्चै अर्थमा नायक हुन, हिरो हुन । किनभने, उनले ऐकिकरणको सवालमा आफ्ना नातागोतालाई पनि हेरेनन, उनी केवल नेपाल देख्न चाहन्थे । उनी टुक्राटुक्राको रुपको ससाना राज्यलाई एक ढिक्का बनाउन चाहन्थे ।

जुन उनले आफ्नै शासनकालमा पुर्वमा तमोरसम्म अनि काठमाण्डौ, मकवानपुर, गण्डकी प्रदेसका केहि राज्यहरुलाई जितेर देखाई पनि दिए । उनी जिवनपर्यन्त ऐकिकरणको बिगुल फुक्दै रहे, जितको शँखनाद गर्दैरहे । उनले एक असाधारण कार्यको सपना देखे, शुरुवात गरे अनि फतेह पनि गरेरै छोडे । उनी हठी पक्कै थिए, उनको क्रोध कहिले अरुलाई दुःख पुर्याउने खालको पनि थियो, उनी हतार गर्दथे, उनी कहिले क्रुर पनि भए, तर, यसो भन्दैमा एउटा कुनै सामान्य ब्यक्तीझैँ पृथ्वीनारायण शाहको कार्य मुल्याङ्कन गर्नु उनको प्रति अन्याय हुनेछ ।

बास्तवमा अठारौ शताब्दीको नेपालको निमित्त पृथ्वीनारायण एक आवश्यकता थिए, बाग्मती प्रदेशमा राजाहरुको बिचको बैमन्यसता, बाईसेचौबिसे राज्यहरुको आपसी कलहले अवस्था जिर्ण थियो । यी सबैलाई कसैले त एक मुट्ठीमा ल्याउनु आवश्यक थियो, जुन पृथ्वीनारायणले गरेर देखाई दिए, तैपनि आज कतिपयले उनलाई अर्कै कित्तामा राखेर बिश्लेषण गरेको देख्दा अचम्म लाग्न सक्दछ।

साँच्चै भन्नुपर्दा पृथ्वीनारायण शाह भनेको आजको बादप्रतिबाद भन्दा माथिको नाम हो, यो सिँगो नेपाल हो, यो हाम्रो ईज्जत हो, हामीले गर्व गर्नुपर्ने एक राष्टृयताले ओतप्रोत योद्धा हो, धर्म युद्धको बाहक हो, युगौँ युगसम्म सम्झिनु पर्ने एक पुज्यनिय नाम हो ।

पृथ्वीनारायण शाह ईण्डियामा अँगरेजहरुको शक्ती बढ्ने कारणहरुप्रति अनभिज्ञ थिएनन । उनले तत्कालिन समयमा युरोपियनहरु भन्दा टाढै बस्नु पर्ने निती अँगालेका थिए भनेर बुझ्नुपर्दछ । उनले बिदेशी सामानहरुको निमित्त नेपाली बाटो भोटसम्म जान रोकेका थिए, उनी यसै बहानामा अँगरेजहरु नेपालामा छिर्न सक्ने तथ्यलाई राम्ररी बुझ्दथे ।

उनको कर्मठ जिवनमा धार्मिक रुढीबाद र अन्धबिश्वासको स्थान थिएन । बालचन्द्र शर्माको नेपालको ऐतिहासिक रुप(रेखा पुस्तकमा बर्णन गरिए अनुसार उनले राजनैतिक लाभलाई दृष्टिगत गर्दै आफ्नो गोत्रसम्म पनि परिवर्तन गर्नमा धकै मानेनन । त्यतिमात्रै, नभई उनले प्रचलित प्रथानुसार सिपाहीहरुले लुगा फुकाली भात खाने चलनलाई युद्ध स्थानबाटै बिदाई गरेका थिए ।

नेपालको ऐकिकरण पस्चात उनले, सर्वधर्म आस्थालाई उत्तिकै सम्मन दिएको तथ्यहरु पनि पढ्न पाईन्छ ।

अत अब, एक ईतिहास, एक बिशिष्ट ब्यक्तित्व, नेपालीका राष्ट्रियविभुती, महामानव पृथ्वीनारायण शाहप्रति हार्दिक नमन गर्दै, पुष २७ गतेको यस पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना ब्यक्त गर्दछु।

ईति शुभम्।।

शरदचन्द्र ओझा,
नेपालगन्ज-१४,भवनीयापुर बाँके