शनिबार, जेठ ७, २०७९   ०३:२१:२१

कोभिडकाबीच माघी : न उत्साह न उमङ्ग


सेतोखरी   2078-10-01

नेपालगन्ज १ माघ : आज माघ १ गते । अर्थात माघे संक्रान्ति । केही वर्षपहिले माघी आउनुभन्दा एक महिना अगाडीदेखी नै थारु समुदायमा मादल बज्न शुरु हुन्थ्यो । केटाकेटीदेखि बुढापाकासम्म माघीको उमङ्ग र रौनक छाउँथ्यो । तर, पिछिल्लो केही समययता माघीको अघिल्लो दिनसम्म पनि गाउँमा कतै मादल बजेको सुनिदैन ।

यसवर्ष पनि कोरोना महामारीका कारण सिर्जित असहज परिस्थितीका कारण माघीको रौनक छाएन । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले चाडबाड, मेलामहोत्सव लागायतका काम गर्न गराउन बन्देज लगाएकोछ ।

कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनका कारण सिर्जित असहज परिस्थितले थारु समुदायको मुख्य चाड माघीको हर्षोउल्लास देखिएकोछैन । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहिरहँदा माघी पर्वको खासै हर्ष छैन । अझ पछिल्लो समय आधुनिकताको लहडमा मानिसमा आएको विलासीतापनले आजभोली माघीको स्वरुपमा समेत परिर्वतन भएको छ । माघीको अवसर पारेर सहरबजार र गाँउघरमा आयोजना हुने मेला, महोत्सबमै सबैको ध्यान केन्द्रित हुन थालेकोछ । जसका कारण थारु समुदायको संस्कृती र परम्परा विस्तारै हराउँदै गएको थारु अगुवाहरुको चिन्ता छ ।

यस्तै चिन्तामा छन्, बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुर निवासी ६० वर्षीय जीतबहादुर थारु । बैजापुरमा थारुहरुको बाक्लो उपस्थितीछ । थारु समुदायको झण्डै ८० प्रतिशत जनसंख्या रहेको राप्तीसोनारीको बैजापुरका कतिपय थारु बस्तीमा यसवर्ष माघीको अघिल्लो दिनसम्म पनि खासै रौनकता देखिएन् ।

‘युवाहरु जति सबैको ध्यान महोत्सबतिर गयो, हामी पनि उमेरका हिसाबले बुढो भईसकिम, कस्ले गीत गाउने, को नाचिदिने ?’ जीतबहादुर प्रश्न गर्छन् । पछिल्ला वर्ष विस्तारै माघीको रौनकता घट्दै गएको उनी स्वीकार गर्छन् । माघी पर्वलाई हिन्दु धर्ममा आस्था राख्ने सबैले मनाउँछन् ।

अझ कोरोनाका कारण सबै अस्तब्यस्त भएकोछ । थारु समुदायले नयाँ वर्षका रुपमा माघी पर्व मनाउनेगर्छन् । विशेषगरी थारु समुदायले महत्वपूर्णताका साथ मनाउने यो पर्व सबैलाई जोड्ने पर्व पनि हो । नेपाली समुदायले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाएझै थारुसमुदायको यो दिनबाट नयाँ वर्षको सुरुवात हुन्छ । उनीहरुले वर्षभरीका नयाँ योजना माघी पर्वमै बनाउने गर्छन् ।

बढ्दो आधुनिकताले गर्दा साँस्कृतिक, परम्परागत मूल्यमान्यता बोकेको ऐतिहासिक पर्व माघीको महत्व र रौनकता घट्दै जानुले पनि अबको भविष्य कस्तो होला भन्नेमा जानकार चिन्तित छन् ।

‘यसवर्ष महोत्सव लागेन, कोरोनाका कारण गाँउघरमा नाँचगान र रमाईलो समेत हुन सकेन । माघिको रौनक छैन ।’ पत्रकार विश्वराज पछ्लडङ्ग्या बताउँछन् । उनका अनुसार माघीका दिनदेखि थारु सम्वत् २६४७ को सुरुवात भएकोछ । आजबाट थारु समुदायका लागि नयाँ वर्ष, नयाँ दिन र नयाँ योजना शुरु हुन्छ । पत्रकार पछ्लडङ्ग्या भन्छन् –‘आधुनिकता र महोत्सव केन्द्रित पर्व मनाउँदा यसले माघी पर्वको महत्व घट्दै जाने त होईन, भन्ने चिन्ता हामीलाई छ, यसतर्फ बेलैमा सचेत हुन आवश्यक छ ।’

बेरोजगारी, आर्थिक अभाव तथा शिक्षाको पहुँच कम रहेको थारु समुदायका प्राय पुरुषहरु रोजगारीका लागि देश तथा विदेशमा छन् । पुरुषको उपस्थिती नहुँदा थारु महिलाहरु जम्मा भएर सामान्य रुपमा मनोरञ्जन गर्ने गरेको पत्रकार थारुको बुझाई छ ।

माघीको अवसरमा नाचगान गर्ने र माघी पर्वका दिन नजिकैको खोला र तालमा गएर नुहाउने चलनलाई अहिलेको पुस्ताले बिर्सदै गएका छन् ।

नेपालमै बाँके, बर्दिया, दाङ्ग, कैलाली, कञ्चनपुर, कपीलबस्तु र चितवन लगायतका क्षेत्रमा थारु समुदायको बाक्लो उपस्थिती छ । तर, माघीको रौनकता पहिलेको भन्दा अहिले हराउँदै गएको पत्रकार पत्रकार पछ्लडङ्ग्या सहमत छन् ।

यता राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारुले पहिले गाउँमा थारु नाँचगानमा आफू स्वयं सहभागी हुन्थ्ये । तर, पछिल्लो केही वर्षयता गाँउघरमा हुने नाँचगानको चलन हराउदै गएकोले त्यसतर्फ कसैको ध्यायन नपुगेको उनको भनाई छ ।

थारु समुदायको परम्परागत पहिचानको रुपमा समेत हेरिने यो माघी पर्वमा सँस्कृती हराउँदै गएकोमा गाउँपालिका अध्यक्ष थारुले चिन्ता व्यक्त गरे । पछिल्लो समयमा विकसित प्रविधी (मोबाईल, ईन्टरनेट) लगायतले गर्दा पनि थारु समुदायका नयाँ पुस्ताहरु नाँचगानमा त्यति रुची राख्दैनन् ।

नयाँ पुस्ताले स्थानीय नृत्यलाई चासो दिन छाडिसकेको राप्ती सोनारी गाँउपालिकाकी स्थानीय युवा बिमला चौधरी बताउँछिन् । ‘माघीको रौनकता हराउनुमा नयाँ प्रविधीको विकाससँगै थारु कला, सँस्कृती संरक्षणमा नयाँ पुस्ताको चासो नहुनु पनि प्रमुख कारण हो,’ युवा चौधरीले बताइन् । माघी पर्वमा थारु समुदायले सुँगुरको मासु, मुसा, सिद्रा माछा, ढिक्री, लगायत परिकार बनाएर खान्छन् । यसका साथसाथै थारु समुदायमा जाँडको झोल, मौहाबाट बनाइएका घरेलु मदिरा समेत खाने चलनछ ।

यस्तै माघेसंक्रान्तिका अवसरमा जातजातीअनुसार परिकार खाने चलनछ । पहाडी, हिमाली तथा तराई भेगमा बस्ने अन्य जातीहरु सख्खरखण्ड, गन्जी, तरुल, चाकु, तीलको लयु, खीर, खीचडी पकाएर खाने चलन छ । समयमा आएको परिर्वतनसगैं माघी हिन्दू समुदायमा मात्र सिमित भएको पाइदैन । यसले विस्तारै अन्य मुस्लिम धर्मावलम्बीहरुलाई पनि छोएको छ । यसदिन मुस्लिम समुदायले खीचडी समेत बनाएर खाने गर्दछन् । यसका साथै मघौटा र छोक्रा नाँच पनि नाच्ने चलन छ ।

भूभागअनुसार माघे संक्रान्तिका अवसरमा देउसी भैलो खेलेझै पाइयो–पाइयो खेल्ने गरिन्छ । माघीका दिन साना केटाकेटीहरु समुह बनाएर टोलछिमेकमा गई पाइयो पाइयो भन्दै खेल्ने गर्दछन् । यसरी आफ्नो घरआँगनमा आएका केटाकेटीलाई घरमुलीले गन्जी, तरुल, चाकु लगायतका खानेकुरा दिने गर्छन् ।

हरेक वर्षको माघ १ गतेको दिनलाई माघी पर्व अर्थात् मकर संक्रान्ति पर्वका रुपमा मनाईन्छ ।

आज शनिबार माघी पर्व धुमधामका साथ मनाईदैछ । माघी पर्वका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ३ स्थित भुवरभवानी मन्दिर, दाङको रिहार, बाह्रकुने दह, प्युठानको स्वर्गद्वारी, बर्दियाको ठाकुरबाबा मन्दिर लगायत धार्मिक स्थलमा ठुलो मेला लाग्ने गर्दछ । तर, यस वर्ष कोरोना भाइरसका कारण मेला प्रभावित बनेकोछ ।