मधेस प्रदेशमा परिवार सदस्य संख्या सबैभन्दा बढी
Photo Source: cupofjo.com
नेपालगन्ज १२ माघ : राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवारहरू जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेका देखिएको छ । अर्थात्, १० वटा घरमा औसतमा १२ परिवार बसोबास गरेको देखिएको छ ।
हालको परिवार संख्या १० वर्षअघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ परिवार थप भएको देखिएको विभागले जनाएको छ ।
परिवारको आकार
राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखिन्छ, त्यो ०६८ मा ४.८८ जना थियो । सहरी क्षेत्रको परिवारमा सालाखाला ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिएको छ । १० वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिएको छ ।
प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेस प्रदेशमा सबैभन्दा बढी (५.६६ जना) रहेको छ । ०६८ सालमा क्रमशः ४.१६ जना र ५.८० जना थियो ।
जिल्लाअनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा (३.४१ जना) देखिएको छ भने परिवारको आकार सबैभन्दा ठूलो रौतहट जिल्लामा ५.९२ जना देखिएको छ ।
भौगोलिक क्षेत्रअनुसार जनसंख्या, लैंगिक अनुपात र वृद्धिदर
भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश ०६८ सालको तुलनामा ०७८ मा वृद्धि भएको देखिएको छ । ०६८ को जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा ०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा ०७८ मा केही कम भई ६.०९ प्रतिशत देखिएको छ ।
त्यसैगरी, पहाडी क्षेत्रमा ०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल ४०.२५ प्रतिशतमा झरेको छ ।
१० वर्षको अवधिमा लैंगिक अनुपात तराईमा १ प्रतिशत विन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमशः ३ प्रतिशत र ४ प्रतिशत विन्दुले बढेको देखिन्छ । यो ०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ रहेकोमा ०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार क्रमशः ९७, ९५ र ९६ देखिएको छ ।
वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक देखिएको छ । हिमाली क्षेत्रमा ०.०२ प्रतिशतले ऋणात्मक देखिएको छ । पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक ०.२९ प्रतिशत र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक १.५६% प्रतिशत वृद्धि देखिएको छ ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे