मधेस प्रदेशमा परिवार सदस्य संख्या सबैभन्दा बढी
Photo Source: cupofjo.com
नेपालगन्ज १२ माघ : राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवारहरू जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेका देखिएको छ । अर्थात्, १० वटा घरमा औसतमा १२ परिवार बसोबास गरेको देखिएको छ ।
हालको परिवार संख्या १० वर्षअघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ परिवार थप भएको देखिएको विभागले जनाएको छ ।
परिवारको आकार
राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखिन्छ, त्यो ०६८ मा ४.८८ जना थियो । सहरी क्षेत्रको परिवारमा सालाखाला ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिएको छ । १० वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिएको छ ।
प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेस प्रदेशमा सबैभन्दा बढी (५.६६ जना) रहेको छ । ०६८ सालमा क्रमशः ४.१६ जना र ५.८० जना थियो ।
जिल्लाअनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा (३.४१ जना) देखिएको छ भने परिवारको आकार सबैभन्दा ठूलो रौतहट जिल्लामा ५.९२ जना देखिएको छ ।
भौगोलिक क्षेत्रअनुसार जनसंख्या, लैंगिक अनुपात र वृद्धिदर
भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश ०६८ सालको तुलनामा ०७८ मा वृद्धि भएको देखिएको छ । ०६८ को जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा ०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा ०७८ मा केही कम भई ६.०९ प्रतिशत देखिएको छ ।
त्यसैगरी, पहाडी क्षेत्रमा ०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल ४०.२५ प्रतिशतमा झरेको छ ।
१० वर्षको अवधिमा लैंगिक अनुपात तराईमा १ प्रतिशत विन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमशः ३ प्रतिशत र ४ प्रतिशत विन्दुले बढेको देखिन्छ । यो ०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ रहेकोमा ०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार क्रमशः ९७, ९५ र ९६ देखिएको छ ।
वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक देखिएको छ । हिमाली क्षेत्रमा ०.०२ प्रतिशतले ऋणात्मक देखिएको छ । पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक ०.२९ प्रतिशत र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक १.५६% प्रतिशत वृद्धि देखिएको छ ।