होल्डिङ सेन्टर सञ्चालनमा ल्याउनुको साटो निरीक्षण र अनुगमनमै ९ महिना वित्यो

पुष मसान्तमा सञ्चालनमा ल्याउने वाचा पुरा भएन


होल्डिङ सेन्टर सञ्चालनमा ल्याउनुको साटो निरीक्षण र अनुगमनमै ९ महिना वित्यो

नेपालगन्ज १६ माघ : सरकारले सम्भावित संक्रमितलाई राख्न भनी होल्डिङ सेन्टर वा आइसोलेसन कक्ष बनाउने योजना अघि बढाएपनि हाल संक्रमित देखिएका कसैलाई यस्ता सेन्टरमा राख्न सकिएको छैन । यसको मुख्य कारण हो होल्डिङ सेन्टर निर्माणले पूर्णता नपाउनु । यस्तोमा संक्रमितहरुलाई स्थानीय तहसँग समन्वय गरेर घर पठाउने गरिएको छ ।

जमुनाह नाका भएर आउनेहरुमा धमाधम संक्रमण पुष्टि भइरहेकोछ । ती संक्रमितलाई ठाउँ अभावको कारण नेपालगन्जको बालमन्दिर आइसोलेसनमा राखेर सम्बन्धित जिल्लामा पठाउने गरिएको छ ।

सरकारले गतको वैशाख ५ गते नेपाल–भारत सीमा नजिक एक–एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । वैशाख १३ मा होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर, अहिलेसम्म कुनै पनि होल्डिङ सेन्टर बनेर प्रयोग गर्न मिल्ने अवस्थामा छैन् । अधिकांश स्थानमा होल्डिङ सेन्टर निर्माणकै चरणमा छ ।

कोरोना भाइरस संक्रमणले गाँजिरहँदा निर्माणाधिन होल्डिङ सेन्टर सञ्चालनमा ल्याउनुको साटो सम्बन्धित निकायले अनुगमन र निरीक्षणमै ९ महिना विताए । तर, पटकपटक गरिएको वाचा पुरा भएन ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवामा नेपाली सेनाले होल्डिङ सेन्टर निर्माणलाई तीब्र पारेको भन्दै गत पुष मसान्त भित्र सञ्चालनमा ल्याउने गरिर कार्यलाई तीव्रता दिइएको बताइएको थियो तर, माघ १५ गते मात्र पुनः बाँकेमा निर्माणाधिन होल्डिङ सेन्टरको आईतबार निरीक्षण गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१५ पिप्रहवा स्थित ४ विघा ८ धुर क्षेत्रफलमा होल्डिङ सेन्टर निर्माण गर्न नेपाली सेनाले ‘श्री हनुमान कन्स्ट्रक्सन’ कम्पनीलाई जिम्मा दिएको छ ।

उक्त कम्पनीसँग २०७८ साउन २४ गते २९ करोड ३८ लाख २० हजार ८९ रुपैयाँमा ठेक्का स्वीकृत भएर काम अगाडी बढाएको हो । निर्माणाधिन उक्त होल्डिङ सेन्टरको नेपाली सेनाका उपरथी निरञ्जन कुमार श्रेष्ठसहितको टोलीले निरीक्षण गरेको हो ।

सो क्रममा श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति एवम् सहायक रथी हरेन्द्र पाठक, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, श्री भैरव प्रसाद गणका गणपति (प्रमुख सेनानी) जनमतबहादुर कार्की, बाँकेका प्रहरी प्रमुख (एसपी) श्यामकृष्ण अधिकारी, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. बीरेन्द्र चन्द, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मी, जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका पदाधिकारी, वडाका जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

स्थलगत निरीक्षणका क्रममा उपरथी श्रेष्ठले नेपाली सेनाले निर्माण कार्यको नेतृत्व गरेपनि सबैको समन्वय र सहकार्यबाट होल्डिङ सेन्टर निर्माणको काम छिटै सम्पन्न हुने बताए । सबै पक्षसँग आवश्यक समन्वय र सहकार्य गरी समयमा नै निर्माण सम्पन्न गर्न उनले निर्देशन पनि दिए । होल्डिङ सेन्टरको अलवा निर्माण ईलाकासम्म स्थानीय निकायबाट बाटो तथा अन्य भौतिक निर्माण र मर्मत गरेमा उचित हुने उनको सुझाव छ ।

भारतबाट आउने कोरोना संक्रमितलाई राख्ने र त्यहाँबाट गन्तब्यमा पठाउने उद्देश्यले सरकारले होल्डिङ सेन्टर बनाउन लागेको हो । श्री नम्बर ४ बाहिनी अड्डा नेपालगन्जका बाहिनीपति (सहायक रथी) हरेन्द्र पाठकले नेपाल–भारत जमुनाहा नाकाबाट प्रवेश गर्ने यात्रुलाई गन्तब्यमा पुर्याउने, स्थानीय स्तरमा भइरहेको संक्रमणलाई रोक्ने, आइसोलेशन र अस्थायी अस्पतालको रुपमा प्रयोग गर्ने उद्देश्यले होल्डिङ सेन्टर निर्माण गरिएको बताए ।

‘बाढी, पहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोपका समयमा पनि भविष्यमा यो भवनलाई प्रयोग गर्न सकिन्छ,’ उनले बताए । उपरथी श्रेष्ठ सहितको टोली आईतबार नै नेपाली सेनाको जहाजमार्फत धनगढी प्रस्थान गरेको नेपाली सेनाको भैरव प्रसाद गणले जनाएको छ ।

यसअघि पनि पुष २८ गते नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगर, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकर, स्वास्थ्य कार्यालयका प्रतिनिधि जागेश्वर बस्नेत र डिसीएमसी बाँकेको कार्यदलका प्रतिनिधि तेज ओली, रुपन ज्ञवाली लगायतको टोलीले स्थलगत अनुगमन र कार्य प्रगतिको विस्तृत विवरण लिएको थियो । सोक्रममा होल्डिङ सेन्टरको कार्य अन्तिम चरणमा पुगेको र यही साता सञ्चालनमा आउने गरि कार्य भइरहेको बताइएको थियो ।

थप समाचार

जमुनाह नाकाबाट दिनहुँ संक्रमित थपेकेको थपै, ८ महिना वित्यो पनि बनेन होल्डिङ सेन्टर

नेपालगन्ज नाकाबाट दिनहुँ ‘कोरोना संक्रमित’ नेपाल आउँछन्