नेपालगन्ज नाकाबाट दिनहुँ ‘कोरोना संक्रमित’ नेपाल आउँछन्


नेपालगन्ज नाकाबाट दिनहुँ ‘कोरोना संक्रमित’ नेपाल आउँछन्

नेपालगन्ज २५ पुष : नेपालगन्जको जमुनाह नाकाबाट दिनहुँ कोरोना संक्रमित नेपाल आउने गरेकाछन् ।

छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन दिनहुँ बढेको बढै छ । यस्तोमा रोजगारी, अध्ययन लगायतका शिलसिलामा भारतका विभिन्न स्थानबाट नेपाल फर्किरहेका नेपालीहरुमा कोरोना पोजेटिभ केस पनि बढेको बढैछ ।

नेपालगन्ज स्थित नेपाल–भारत जमुनाह नाकाबाट नेपाल प्रवेश गरेकाहरुको पछिल्लो एक साताको तथ्याङ्क हेर्ने हो भने संक्रमितको संख्या करिव दोब्बरको अनुपातमा बढीरहेको छ ।

आईतबार भारतबाट जमुनाह नाका हुँदै नेपाल आएका ६ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको छ । शनिबारमात्रै भारतबाट आएका ४९ जनामा कोरोना देखिएको थियो । जुन् अहिलेसम्मकै धेरै हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

गत सोमबारदेखि आईतबारसम्म मात्रै करिव दुई सयको हाराहारीमा संक्रमित फेला परेका छन् । यही अवस्था रहे स्थिति भयाबह हुन सक्ने भन्दै आवश्यक व्यवस्थापन र सर्तकता अपनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेजबहादुर ओलीले बताए ।

उनका अनुसार केही महिनाअघि मात्र नाकामा संक्रमित शून्य हुन्थे तर, पछिल्लो साता संक्रमितको संख्या उकालो लाग्दै गइरहेको छ ।

जमुनाह नाकामा एक सातामामात्रै १ सय ५२ जनामा संक्रमण देखिएको छ । हालसम्म ५ सय ५५ जनामा कोभिड संक्रमण देखिएको उनले बताए । नाकामा दैनिक करिब आठ सयसम्म एन्टिजेन जाँच भइरहेकोछ ।
संक्रमण पुष्टि भएकाहरुलाई नेपालगन्जमा आइसोलेसनमा राखेर सम्बिन्धित जिल्लामा पठाउने गरिएको छ ।

भारतबाट फर्किनेको चाप बढेसँगै यसले सीमावर्ती जिल्लामा मात्र नभएर विकटका ठाउँहरुमा पनि भाइरस संक्रमण फैलिने जोखिम बढेको छ ।

नाकाबाट फर्किनेको चाप बढेपनि एन्टिजेन परीक्षण र कन्ट्याक्ट टे«सेङिको गति भने निकै सुस्त छ । हेल्थ डेक्सामा ८ जना जनशक्ति छन । उनीहरुले दुई सिफट्मा अहिले काम गरिरहेका छन् । भारतबाट फर्किरहेका शंकास्पद मानिसहरुलाई १०–१० जनाको समूह बनाएर एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्ने गरिएको छ ।

यसैबीच, जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले नेपालगन्ज उपमहानगरपालिकास्थित बालमन्दिरमा सञ्चालित आइसोलेसनलाई संस्थागत आइसोलेसनका रुपमा सञ्चालनमा ल्याउन नेपालगन्ज उपमहानगरपालिकालाई सिफारिस गरेको छ । भारतबाट आउनेमा कोरोना संक्रमण देखिनेक्रम बढ्दै जाँदा डिसिएमसीले यस्तो निर्णय गरेको हो ।

केन्द्रको बैठकले जमुनाह नाकामा एन्टिजेन परीक्षणका क्रममा कोभिड संक्रमण देखिएकालाई आइसोलेसन सेन्टरसम्म ल्याउनका लागि नाकामा एम्बुलेन्स व्यवस्थापनको जिम्मा आईएनएफ नेपाल, साइनिङ अस्पताल र भेरी अस्पताललाई दिएकोछ । दुवै एम्बुलेन्स चालकको प्रोत्साहन भत्ता आइएनएफले व्यहोर्ने भएको छ ।

त्यसैगरि केन्द्रको बैठकले जिल्ला प्रशासन कार्यालयका बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकार, स्वास्थ्य कार्यालय बाँकेका सुपरभाइजर नरेश श्रेष्ठ, जिल्ला आपत्तकालिन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी रुपन ज्ञवाली र केन्द्रका फोकल पर्सन तेज ओली सहितको कार्यदल बनाई जिम्मेवारी दिएकोछ ।