शनिबार, जेठ ७, २०७९   ०१:३१:४१

कहाँ छन् माओवादीले बुझाएका हतियार ?


सेतोखरी   2078-10-22

File Photo

नेपालगन्ज २२ माघ : नेपालमा १० वर्षसम्म सशस्त्र विद्रोहमा रहेको तत्कालिन माओवादी पार्टीले शान्ति प्रक्रियामा सहभागी भएसँगै आफूले प्रयोग गरेका हतियार राज्यलाई बुझाएको एक दशक पुगेको छ । माओवादी लडाकुले प्रयोग गरेका चार हजार हतियार कहाँ छन् र के गरियो भन्नेबारे माओवादीले पनि चासो राखेको छैन ।

कहाँ छन् माओवादीले बुझाएका हतियार ?

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सेनाले जिम्मा लिएका माओवादीले प्रयोग गरेका मध्ये केही हतियार सुरक्षा निकायहरूले प्रयोगमा ल्याएको बताएका छन् ।

‘माओवादीबाट प्राप्त भएको हतियारहरू मध्ये नेपाल प्रहरीबाट पहिचान भएको हतियारहरू नेपाल सरकारको निर्देशन अनुसार नेपाल प्रहरीलाई बुझाइएको छ । बाँकी रहेका हतियारमध्ये प्रयोगमा ल्याउन सकिने हतियारहरू नेपाली सेनाले प्रयोगमा ल्याएको छ’ सिलवालले भने ।

‘प्रयोगमा ल्याउन नसकिने र प्रचलनमा नभएका हतियारहरू सुरक्षित साथ भण्डारण गरिएको छ ।’

यसअघि माओवादी नेताहरूले सशस्त्र युद्धमा प्रयोग भएका हतियारहरू सङ्ग्रहालयमा राखिने भनेपछि प्रवक्ता सिलवालले त्यसबारे सेनालाई कुनै आधिकारिक निर्णय वा जानकारी नआएको बताए ।

विसं २०६४ को संविधानसभा निर्वाचन अघि नेपालमा शान्ति प्रक्रियाको मध्यस्थताका लागि आएको राष्ट्रसङ्घीय शान्ति नियोग (अन्मिन)को अनुगमनमा राखिएका हतियार २०६८ मा नेपाली सेनालाई जिम्मा लगाइएको थियो ।

चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा भएको विशेष कार्यक्रममा विसं २०६७ माघ ८ गते माओवादी लडाकुका शिविर र हतियार तत्कालीन सेना समायोजन विशेष समितिको मातहतमा आएको घोषणा गरिएको थियो ।

त्यसको एक वर्षपछि २०६८ चैत २८ गते माओवादी लडाकुहरूको अवकाश र सेनामा समायोजनसँगै माओवादी विद्रोहीसँग रहेका भनिएका सबै हतियार नेपाली सेनालाई जिम्मा लगाइएको बताइएको थियो ।

लडाकु तथा हतियार अनुगमनको जिम्मेवारी लिएको निकाय अन्मिन २०६७ पुष मसान्तबाट फिर्ता भएपछि केही समय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र माओवादी लडाकू सम्मिलित टोलीले हतियार अनुगमन गरेका थिए ।

कस्ता हतियार थिए ?

अन्मिनको तत्कालीन विवरण अनुसार माओवादी विद्रोहीले अत्याधुनिक मानिने एके–४७ देखि मोर्टार, मसिन गन, राइफल, अटोमेटिक हतियार, शटगन र भरुवा बन्दुकहरू बुझाएको थियो ।

माओवादीले ९१ वटा मोर्टार, ६१ मसिन गन, २,४०३ राइफल, ६१ अटोमेटिक हतियार, ११४ साइड आर्म्स, २१२ शटगन, २३३ घरेलु बन्दुक र २५३ विभिन्न हतियार बुझाएको अन्मिनले जनाएको थियो ।

माओवादी ‘जनमुक्ति सेना’का पूर्व कमान्डर चन्द्रप्रकाश खनाल ‘बलदेव’ले माओवादी आफैँले बनाएका कतिपय हतियारहरू पनि त्यसमा रहेको बताए ।

‘हामीले आफैँले बनाएका चिजहरू सङ्ग्रहालयमा राख्न हामीलाई दिनुहोस् पनि भनेका थियौँ। त्यो पछि भएन’, उनले भने ।

माओवादीले बुझाएका मध्ये अधिकांश आधुनिक हतियार सुरक्षाकर्मीहरूबाट लुटिएका बताइएको थियो । केही हतियार माओवादीले भारतबाट समेत ल्याएको तत्कालीन माओवादी नेताहरूले आफ्नो प्रकाशित संस्मरणमा उल्लेख गरेका छन् ।

माओवादी लडाकुहरूसँग त्यसभन्दा धेरै हतियार भएको अनुमान गरिए पनि माओवादी विद्रोही नेताहरूले आफूहरूसँग भएका हतियार त्यति मात्रै भएको दावी गरेका थिए ।

विभिन्न दस्ताबेजहरूले माओवादीले द्वन्द्वकालमा छ हजार बढी हतियार सुरक्षाकर्मीबाट लुटपाट गरेको दाबी गरे पनि शान्ति प्रक्रियामा आएपछि माओवादीले त्यसको करिब आधा मात्रै हतियार बुझायो ।

माओवादीले हतियार लुकाएको प्रश्न उठेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘कैयौँ हतियार खोलाले बगाएको र आगलागीमा परी नष्ट भएको’ सार्वजनिक टिप्पणी पनि गरेका थिए ।

माओवादी विद्रोहीले अन्मिनमा करिब ३१,००० लडाकू दर्ता गरे पनि निकै कम सङ्ख्यामा हातहतियार दर्ता गरेपछि जारी आशङ्काकै बीच बागलुङमा भएको एउटा कार्यक्रममा प्रचण्डले आफ्ना लडाकु र हतियार अझै शिविर बाहिर रहेको अभिव्यक्ति दिएका समाचारहरू आएपछि राष्ट्रसङ्घले आपत्ति जनाएको थियो ।

तर, माओवादीले प्रचण्डलाई उद्धृत गर्दै आएका समाचार गलत भएको जानकारी अन्मिनलाई गराएको थियो । अन्मिनले १९ हजार ६०० माओवादी लडाकुलाई मात्रै प्रमाणित गरेको थियो ।

किन सेनालाई जिम्मा दिइयो ?

विद्रोही माओवादीले शान्ति सम्झौता बमोजिमका सर्तहरू पालना हुनेमा आशङ्का गर्दै सेना समायोजन सम्पन्न भएपछि मात्रै आफ्ना हतियार सरकारलाई बुझाउने जनाएको थियो ।

समायोजनअघि हतियार अन्मिनको निगरानीमा ताल्चा लगाएर राख्ने सहमति भएपछि सेना समायोजनपछि हतियार के गर्ने भन्नेबारे त्यस बेला कुनै निर्णय नभएको विशेष समिति सचिवालयका तत्कालीन संयोजक बालानन्द शर्मा बताउँछन् ।

‘माओवादीले समायोजन भएपछि मात्रै हतियार दिन्छौँ, समायोजन नरहुन्जेल दिन्नौँ भनेकाले हामीले नेपाली सेनामा समायोजन हुने दिनसम्म पनि उहाँहरूलाई राख्न दियौँ,’ शर्माले भने ।

‘माओवादीको भावनासँग जोडिएकाले तीनलाई के गर्ने भन्ने त्यस बेला कुनै निर्णय भएन। सरकारले हतियार बुझ्ने र बुझेपछि सरकारले सल्लाह गरेर व्यवस्थापन गर्छ भन्ने कुरा भएको हो ।’

तर, सेना समायोजन र लडाकु शिविरमा भएको खर्चको विषयमा माओवादीभित्र विवाद भएपछि पूर्व योजनाअघि नै माओवादी सेनाका शिविरहरू नेपाली सेनालाई दिइएको थियो ।

सेनाले जिम्मा लिएपछि त्यस विषयमा थप छलफल नभएको माओवादीका तर्फबाट सेना समायोजन विशेष समिति सदस्य रहेका खनालले बताए ।

‘त्यसलाई सङ्ग्रहालयमा राख्नुपर्छ भन्ने हाम्रो माग थियो । त्यसमै सहमति पनि भएजस्तो लाग्छ। तर त्यसपछि सेनामा कसरी राखिएको छ त्यति चासो लिइएन हतियारबारे,’ उनले भने ।

माओवादीले बुझाएका हतियार पुनः प्रयोग गर्न मिल्छ ?

माओवादीले बुझाएका अधिकांश हतियार नेपालका सुरक्षाकर्मीले समेत लामो समयदेखि प्रयोग गर्न छोडिसकेका भएपनि केही हतियारहरू अत्याधुनिक रहेको जानकारहरू बताउँछन् ।

नेपाली सेना र प्रहरीले माओवादीले बुझाएका हतियार प्रयोगमा ल्याएपनि नेपाली सेनाका पूर्व रथी समेत रहेका शर्मा माओवादीले प्रयोग गरेका हतियारहरू अब प्रयोगमा ल्याउन नहुने बताउँछन् ।

शर्मा हतियारको निश्चित आयु हुने र प्रयोगको अभिलेख अनुसार यस्तो आयु तय हुने भएकाले प्रयोगको यकिन अभिलेख नभएका ती हतियारहरू नेपालका सुरक्षा निकायले प्रयोग गर्न नहुने पूर्व रथी शर्माको भनाई छ ।

‘हतियारहरू हरेकको आयु हुन्छ । यसबाट जति गोली हानिन्छ हरेकको विवरण राखिन्छ। जति धेरै गोली पड्क्यो उत्ति यसको स्थिरतामा कमी आउँछ, ताकेको ठाउँमा लाग्दैन,’ शर्मा भन्छन् ।

हतियारहरू समय समयमा सरसफाइ गरिरहनुपर्ने र राम्रोसँग भण्डारण गरिनुपर्ने भएकाले लामो समय थन्क्याइएका हतियार प्रयोग गर्न नमिल्ने सुरक्षा जानकारहरू बताउँछन् ।

तर, सेनाका प्रवक्ता सिलवालले आफूहरूले हतियारको अवस्था परीक्षण गरेर मात्रै प्रयोगमा ल्याएको दाबी गरे ।

‘सुरक्षाको संवेदनशील विषय सरोकारको विषय हो। तर हतियारको अवस्था र त्यसको विज्ञहरूबाट प्राविधिक मूल्याङ्कन गरेर अवस्थाको आकलन गरी सुरक्षित तरिकाले प्रयोगमा ल्याउने व्यवस्था मिलाइएको छ,’ उनले भने ।

तर, माओवादीले प्रयोग गरेका हतियारहरूको यस्तो कुनै अभिलेख नहुने भएकाले यसलाई सङ्ग्रहालयमा राख्न वा घातक हतियारलाई नष्ट गर्न उपयुक्त हुने शर्मा बताउँछन् ।

‘यो सङ्ग्रहालयमै राख्ने हो । त्यस बेला भएको कुरा नयाँ पुस्ताले पनि थाहा पाउनुप¥यो नि । नभए त युद्ध पनि बिर्सिन्छ हतियार पनि बिर्सिन्छ। यो त तथ्य हो नि,’ उनले भने ।

‘तर त्यसमध्ये केही खतरनाक हतियार छन् भने तिनीहरूलाई नष्ट पनि गर्नुपर्छ ।’ -वीवीसी नेपालीबाट