बाघ गणनामा प्रयोग गरिएका करिब ७ लाखका १७ वटा क्यामेरा चोरी


बाघ गणनामा प्रयोग गरिएका करिब ७ लाखका १७ वटा क्यामेरा चोरी

बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न राखिएको क्यामेरा । तस्विर सौजन्य : बाँके राष्ट्रिय निकुञ्ज

नेपालगन्ज २६ माघ : बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न राखिएको क्यामेरा चोरी भएकाछन् । निकुञ्ज क्षेत्रमा बिछ्याइएका १७ वटा क्यामेरा चोरी भएको बाँके राष्ट्रिय निकुञ्जले जनाएकोछ । घाँस काट्न गएका र चोरी शिकारीले क्यामेरा चोरी गर्ने गरेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत मंसिर २९ गतेबाट बाँके र बर्दियामा राखेर बाघ गणना कार्य शुरु गरेको थियो । विभागले बर्दियामा पहिलो र दोस्रो ब्लकको गणना सम्पन्न गरिसकेको छ, भने बाँकेमा तेस्रो र चौथो ब्लकको गणना कार्य अहिले चलिरहेको छ ।

एक र दुई नम्बर ब्लक पुरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ। तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चार नम्बर ब्लकमा पुरै बाँके राष्ट्रिय निकुञ्ज पर्छ ।

बाघ गणनामा प्रयोग गर्ने क्रममा पहिलो ब्लकबाट ९ वटा, दोस्रो र तेस्रो ब्लकबाट ४/४ वटा क्यामेरा चोरी भएको राष्ट्रिय प्रकृती संरक्षण कोष (एनटिएनसी) का डा. रविन कडरियाले जानकारी दिए ।
उनका अनुसार ६ वटा क्यामेरालाई हात्तीले कुल्चिएर क्षति पुरयाइदिएका छन् । ‘एउटा क्यामेराको मुल्य ४० हजार पर्छ, क्यामेरा चोरी हुँदा बाघ गणना कार्य केही दिनसम्म प्रभावित पनि हुन्छ,’ उनले भने । बाघ गणना गर्दा एक स्थानमा करिव १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

चोरी भएका १७ वटा क्यामेरा र हात्तीले क्षति गरेको ६ वटा क्यामेरा गरि कुल २३ वटा क्यामेरा क्षती भएकोछ । प्रति क्यामेरा ४० हजारका दरले २३ वटा क्यामेराको कुल ९ लाख २० हजार हुन्छ । भने चोरि भएका १७ वटा क्यामेराको ६ लाख ८० हजार रुपैयाँ हुन आउँछ ।

बाघको मुभमेन्ट हेर्दा संख्या बढ्ने अनुमान: वार्डेन साह

सन् २०१८ को रिपोर्टअनुसार बर्दियामा ८७ र बाँकेमा २१ वटा बाघ छन् । एक र दुई नम्बर ब्लकको काम सकिँदा र तीन नम्बर ब्लकको काम भइरहँदा बाँके र बर्दियामा बाघको संख्या बढेको आँकलन गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार साहले राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा देखिएको बाघको मुभमेन्टलाई हेर्दा बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्ने अनुमान गरिएको बताए ।

पछिल्लो समय बाघ र मानव द्वन्द्व बढेको छ । सन् २०१९ यता बाँकेमा बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यो अवधिमा बाँकेदेखि शुक्लाफाँटासम्ममा बाघको आक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख डा कडरियाले सबै आक्रमण जंगलभित्रै र दिउँसो भएको बताए । सन् २०१८ पछि दाङदेखि शुक्लाफाँटासम्ममा ८ वटा बाघ मारिएका छन् । बाँकेमा तीन, बर्दियामा २, कैलालीमा एक, शुक्लाफाटामा २ वटा बाघ मारिएको छ ।

नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २५० पु¥याउने प्रतिबद्धता गरेको छ । सन् २०१८ को रिपोर्टअनुसार नेपालमा २३५ वटा बाघ छन् ।

बाँकेमा निकुञ्जभित्र भन्दा पनि सामुदायिक वनमा आएर बाघले आक्रमण गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका वार्डेन साहले बाघले आक्रमण गरेका सामुदायिक वन क्षेत्रमा पनि क्यामेरा राखेर बाघको गणना गर्ने बताए । चौथो ब्लक एक सय ७५ ग्रिडमा रहेको छ ।