अन्तरकथा

‘एनिमल’ प्रेमी रेखा


‘एनिमल’ प्रेमी रेखा

मानिसका ईच्छा, चाहना अनेक हुन्छन् । आफुले चाहेर पनि कतिपयले ईच्छा चाहना पुरा गर्न सकिरहेका हुँदैनन् । तर, यही समाजमा कोही ब्यक्ति यस्ता पनि छन्, जसले आफ्नो ईच्छा पुरा गर्न सफल भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ निवासी रेखा श्रेष्ठको जीवन पनि यस्तै छ । स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नम्बर–१ घुम्ती गाउँ जन्मेपनि उनको बाल्यकाल बाग्लुङ र स्याङ्जामा बित्यो । ‘बुवा सरकारी जागिर खानुहुन्थ्यो, बुवा जता सरुवा भएर जानुहुन्थ्यो, सानोमा म पनि बुवासँगै जान्थे,’ उनले स्मरण गरिन् ।

स्याङ्जास्थित हिमालयन इंगलिस मिडियम बोर्डिङ स्कुलमा एसएलसीसम्मको अध्ययन पुरा गरेपछि महाकवि देवकोटा उच्च माध्यामिक विद्यालय सुनवल नवलपरासीमा रेखाले प्लसटु सम्मको अध्ययन गरिन् । बुटवल बहुमुखी क्याम्पसबाट स्नातक तह र पद्म कन्या क्याम्पस काठमाडौंबाट स्नातकोत्तर तह अध्ययन गरेकी उनी अहिले नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा एलएलबी गरिन् । बिबाह भएपछि रेखाको कर्मभूमी नेपालगन्ज बन्यो । नेपालगन्जका सामाजिक अभियन्ता सुरेन्द्रदीप कार्कीसँग रेखाको विवाह हुनुमा रोचक प्रसंग जोडिएको छ । दुबै जना ‘ओशो’ को सन्यासी हुन् ।

‘भोजन, भजन र विचार मिलेपछि दाम्पत्य जीवन दीर्घकालिन हुन्छ भन्ने मान्यता अनुरुप हाम्रो विवाह भएको हो, अर्को कुरा हामी दुबै जना पशु प्रेमी पनि हौं,’ उनले भनिन् । नेपालगन्जमा पशुको अधिकारको बारेमा पहिलो पटक आवाज उठाउने ब्यक्ति नै सुरेन्द्र थिए । पशुसँग नजिक हुने सानैदेखीको रुची, त्यसमा पनि सुरेन्द्रसँगको बैबाहिक सम्बन्धले रेखालाई पनि पशुको अधिकारको विषयमा वकालत गर्न सहज भयो । ‘म सानो छँदा घरमा कुकुर र बिरालोलाई असाध्यै माया गर्थे, घरमा पालेका कुकुर र बिरालोलाई कस्ले सुताउने भन्ने विषयमा हामी दिदी बहिनी र दाजु भाईबीच तानातान हुन्थ्यो,’ रेखाले भनिन् ‘आखिरमा सानो छँदा मैले जुन ईच्छा राखेकी थिए, मैले अहिले त्यही काम गर्न पाएकी छु ।’ उनी अहिले एनिमल नेपालको फिल्ड अफिसरको रुपमा नेपालगन्जमा कार्यरत छिन् ।

Kanti Aarogya Hospital Nepalgunj

रेखा कुकुर र बिरालोको मायाले हुरुक्कै हुन्छिन् । उनी कुकुर र विरालोसँग लुरिबुरी खेल्छिन् । त्यतिमात्र होइन जसरी आफ्ना छोराछोरीलाई गरिन्छ त्यसरीनै रेखाले कुकुर र विरालोलाई अंगालो हाल्छिन्, सुम्सुम्याउँछिन् । छोरा आसुतोस दीप कार्की पनि कुकुर बिरालोसँगै खेल्छन् । रेखाले अहिले पशुको कल्याण सम्बन्धी काम गर्छिन् । ‘मैले आफ्नो ह्याविट अनुसार काम गरिरहेकी छु, बाटोमा कुनै कुकुरले दुःख पाएको देखेपछि मन थामेर टुलुटुलु हेरेर म बस्न सक्दिन, त्यस्ता दुःखी कुकुरको सेवा गर्न मन लाग्छ ।’

पशुले पाएको पीडाले आफुलाई दुःख्ने रेखा बताउँछिन् । सडकमा गाई, गोरुलाई चोट लागेको वा विरामी भएको देख्दा रेखा र पति सुरेन्द्र दुवैले पशु चिकित्सकलाई बोलाएर उपचार समेत गराउने गर्छन् । अहिले विषेशगरी गधा, घोडा र खच्चडको निःशुल्क उपचार गर्न तथा गधा, घोडा र खच्चड पाल्ने समुदायको आर्थिक उत्थानमा उनको सक्रियता छ । नेपालगन्जमा पहिलो पटक घोडाको बीमा गराउन रेखा सफल भएकी छन् । ‘अहिलेसम्म एक दर्जनबढी घोडाको बीमा बनाएका छौं,’ उनले भनिन् । केही वर्ष अघि नेपालगन्जमा कुकुरको बन्ध्याकरण शिविर गरेर चर्चा कमाएकी रेखाले कोरोना कहर सुरु हुनुअघिल्लो वर्ष पनि सोही कार्यक्रम गर्दैछिन् ।

उनका अनुसार, नेपालगन्जमा रेखाकै अगुवाईमा करिब ४ सय बढि कुकुरको बन्ध्याकरण गरिएको थियो । ‘कुकुरको संख्या मात्रै धेरै हुने, तर उनीहरुले स्याहार नपाउने हुँदा बन्ध्याकरण गर्न थालिएको हो,’ उनले भनिन् । कोरोना कहरका कारण परिस्थिती अनुकुल नबेपछि अहिले त्यो अभियान स्थगित बनेकोछ । यतिमात्र होइन नेपालगन्जमा कुकुरलाई उद्धार गरेर अमेरिकासम्म पु¥याउन रेखा सफल भएकी छन् ।

‘नेपालगन्जको सिग्नेट होटलको छेउमा नाजुक अवस्था देखेर एउटा कुकुरको उद्धार गरेकी थिए, त्यो कुकुर अहिले अमेरिकामा छ,’ रेखाले सुनाईन् । नेपालगन्जमा कुकुरको लागि सेल्टर बनाउने उनको सपना छ । ‘सेल्टर बनाएपछि कुकुरको ब्यवस्थापन गर्न सजिलो हुन्छ, कुकुरले पनि बाटोमा दुःख पाउँदैनन्,’ उनले भनिन् । पशुको कल्याणमै जीवन सर्मपित गर्ने उनको योजना छ ।